मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सत्ता समीकरणको एकतालाई समझदारीयुक्त बनाउन प्रचण्डलाई खनालको आग्रह

मङ्गलबार, ०४ वैशाख २०८१, १० : ११
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबिच सत्ता समीकरणमा देखिएको असमझदारी र सुदूरपश्चिममा कांग्रेस गठबन्धनमा एकीकृत समाजवादी सामेलबारे छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ समेत सहभागी थिइन् । तीन नेताबिच एक घण्टा बढी समय छलफल भएको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीले कांग्रेससँगको सहकार्यमा उभिने निर्णय गरेपछि सत्ता साझेदार दलमा हलचल पैदा भएको छ ।

‘हालका सत्ता साझेदार दलबिचको सहकार्य र सुदूरपश्चिम घटनाक्रमबारे छलफल भयो’, प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि नेता खनालले भने, ‘समीकरणमा जुन समस्याहरू देखा परेका छन् । समीकरणको एकतालाई समझदारीयुक्त बनाउनुपर्ने, सबैको सम्मान र समानतालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ, सवैका हितलाई प्रतिविम्ब गर्ने गरी अघि बढ्नुपर्छ । ’

बालुवाटारमा भएको छलफलबारे खनालले भने, ‘अन्यथा गठबन्धन भित्रैपनि दक्षिणपन्थीहरुले खेलेर यो गठबन्धन फुटाइदिन्छन् भन्ने कुरा भयो ।’ पछिल्लो समस्याले गठबन्धनभित्र पनि अनेक खालका स्वार्थ र प्रवृत्ति रहेकोमा नेताहरूबिच सचेत हुनुपर्नेबारे छलफल भएको खनालले बताए । 

‘यहाँभित्र दम्भ र घमन्डका प्रवृत्ति पनि छन् । ती समस्या समाधान गर्न सकिएन भने गठबन्धन टिक्न गाह्रो हुन्छ’, खनालको भनाइ छ । भेटमा नेता खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन पहल गर्न आग्रह गरेका थिए । उनले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने पहिलाको सहमति कार्यान्वयन गर्नु नै समस्याको समाधान हुने बताएका थिए । 

‘मेरो आग्रहमा प्रधानमन्त्री र नाउपा अध्यक्ष श्रेष्ठ सकारात्मक हुनुहुन्छ’, खनालले भने, ‘दिउँसो १ बजेअघि नै त्यसबारे निर्णय गर्नुस् भनेको छु ।’

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै रुष्ट छन् । 

सुदूरपश्चिममा बैशाख २ सम्म मुख्यमन्त्रीको दाबी पेस गर्न त्यहाँका प्रदेश प्रमुखले समय दिएका थिए । त्यसपछि नाउपाका दुई सांसदले फरक फरक समीकरणमार्फत मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सत्ता गठबन्धनबाट कैलाश चौधरी र कांग्रेसको समर्थनमा लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्री दाबी गरेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भइरहेको छ । एकीकृत समाजवादीले सत्ता गठबन्धनका कैलाशलाई समर्थन नगरेर लक्ष्मण किशोरलाई समर्थन गरेपछि गठबन्धनको भविष्यबारे प्रश्न उठ्नुका साथै मुख्यमन्त्री नियुक्त सकसको विषय भैहरहेको छ । आज बेलुकासम्म प्रदेश प्रमुखले उचित निर्णय लिने तयारी गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप