यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
सारांश
- यस वर्ष पनि नाडा र नाइमाले छुट्टाछुट्टै अटो शो आयोजना गर्ने भएका छन्।
- नाइमाले साउन २६ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा 'नाइमा मोबिलिटी एक्स्पो–२०२६' आयोजना गर्नेछ, जसमा ५१ स्टल र ५५ भन्दा बढी ब्रान्ड रहनेछन्।
- नाडाको १८औँ अटो शो भदौ ९ देखि १४ गतेसम्म आयोजना हुनेछ, जसमा विभिन्न प्रकारका सवारीसाधन र कम्पोनेन्ट कम्पनीले स्टल लिनेछन्।
काठमाडौँ । अटो व्यवसायीका दुई छाता संस्था अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गत वर्षझैँ यस वर्ष पनि छुट्टाछुट्टै अटो शो आयोजना गर्ने भएका छन्।
गत वर्षदेखि सुरु भएको प्रतिस्पर्धा यस वर्ष पनि निरन्तर रहने देखिएको हो । नाडाले १५औँ संस्करणसम्म अटो शोमा एकछत्र उपस्थिति कायम गरे पनि गत वर्ष नाडाबाट अलग भएर गठन भएको नाइमाले छुट्टै अटो शो आयोजना गर्न थालेको हो।
जसअनुसार नाइमाले नाडाभन्दा अघि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आयोजना गर्ने भएको छ। अटो क्षेत्रका यी दुई संस्थाबिच कुन अटो शोलाई बढी प्रभावकारी बनाउने भन्ने प्रतिस्पर्धा यस वर्ष पनि हुने देखिएको छ।
दुवै संस्थाले अटो शोको मिति घोषणा गरेर तयारी तीव्र बनाएका छन्। व्यवसायीहरू नयाँ ब्रान्डका सवारीसाधन भित्र्याउने तथा सार्वजनिक गर्ने तयारीमा छन्।
गत वर्ष भएका दुई ठूला अटो शोले अटोमोबाइल क्षेत्रलाई चलायमान बनाएका थिए। यस वर्ष पनि त्यसले बजारलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
नाइमाले दोस्रो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ आगामी साउन २६ देखि ३१ गते (अगस्ट ११ देखि १६) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।
एक्स्पोमा ५१ वटा स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक गरिनेछन्। प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल सवारी, विद्युतीय तथा हाइब्रिड मोबिलिटी समाधान, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादन समेटिनेछन्।
यता नाडाको १८औँ नाडा अटो शो–२०२६ भने भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने भएको छ।
नाइमाको दाबी : दोस्रो संस्करण अझ भव्य

नाइमाले दोस्रो संस्करणको एक्स्पोलाई अहिलेसम्मकै ठुलो र भव्य मोबिलिटी प्रदर्शनी बनाउने दाबी गरेको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्स्पो संयोजक गौरव शारडाले यस वर्ष ५३ भन्दा बढी विश्वप्रसिद्ध ब्रान्ड सहभागी हुने तथा ४० भन्दा बढी नयाँ सवारीसाधन र उत्पादन पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिने जानकारी दिए।
यता नाडाले पनि १८औँ संस्करणको अटो शोका लागि स्टल बाँडफाँट गरिसकेको जनाएको छ। नाडाका अनुसार १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुईपाङ्ग्रे, १७ वटा लाइट कमर्सियल भेहिकल, ७६ वटा साना स्टल र ४५ वटा अटो कम्पोनेन्ट कम्पनीलाई स्टल उपलब्ध गराइएको छ।
एक्स्पोमा नयाँ प्रविधिदेखि लर्निङ सेसनसम्म
नाइमा एक्स्पोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल सवारीका साथै विद्युतीय, इन्टरनल कम्बसन इन्जिन (आईसीई) र हाइब्रिड सवारी प्रदर्शन गरिनेछ।
एक्स्पोमा सवारीसाधन मात्र नभई नयाँ प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी नवीनतम समाधान पनि प्रस्तुत गरिने संयोजक शारडाले बताए।
उनका अनुसार गत वर्षको सफलतापछि यस वर्ष प्रदर्शनीलाई अझ व्यवस्थित र प्रिमियम बनाइएको छ। प्रदर्शक, प्रायोजक, साझेदार र आगन्तुकको सुविधालाई ध्यानमा राख्दै विशेष भौतिक पूर्वाधार तयार पारिएको छ।
मनसुनलाई ध्यानमा राख्दै आगन्तुकहरू एक हलबाट अर्को हलमा जाँदा वर्षामा भिज्न नपर्ने गरी पाल र ट्रसको व्यवस्था गरिएको छ।
प्रदर्शनी स्थललाई अपाङ्गतामैत्री बनाइएको छ भने ह्विलचेयर प्रयोगकर्ताले सबै हलमा सहज रूपमा आवतजावत गर्न सक्ने व्यवस्था गरिएको छ।
गत वर्ष देखिएको पार्किङ समस्यालाई समाधान गर्न नेपाल पुलिस क्लबमा थप पार्किङको व्यवस्था गरिएको छ।

यातायात सहज बनाउन राइड सेयरिङ कम्पनी पठाओसँग सहकार्य गरिएको छ। भृकुटीमण्डप आउने–जाने यात्रुले विशेष छुट तथा प्रोमो कोडको सुविधा पाउनेछन्।
टिकट खरिदमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न युनियन पेसँग सहकार्य गरिएको छ। युनियन पेबाट टिकट खरिद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक पाइने व्यवस्था गरिएको छ।
एक्स्पोमा अटोमोबाइल क्षेत्रका विज्ञ, उद्योगी, व्यवसायी तथा इन्फ्लुएन्सरहरूको सहभागितामा विभिन्न लर्निङ सेसन पनि सञ्चालन गरिनेछ। सडक सुरक्षा, विद्युतीय सवारी, पूर्वाधार विकास, रोजगारी तथा मोबिलिटी क्षेत्रका अवसर र चुनौतीबारे छलफल हुने जनाइएको छ।
नाइमाले कसैसँग प्रतिस्पर्धा गर्न खोजेको होइन : अध्यक्ष वैद्य
नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि २१ सदस्यबाट सुरु भएको र अहिले ३६ सदस्य कम्पनीमा विस्तार भएको बताइन्। यसले अटोमोबाइल क्षेत्रमा नाइमाप्रति व्यवसायीहरूको विश्वास बढेको उनको दाबी छ।
‘नाइमा थप बलियो हुँदै गएको छ। अटो व्यवसायीहरूको विश्वास बढ्दै गएको महसुस भएको छ। आगामी दिनमा अटो क्षेत्रलाई थप बलियो बनाउन नाइमा मोबिलिटी एक्स्पो–२०२६ ले महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भनिन्।
उनले अटोमोबाइल क्षेत्रमा दुई संस्था हुनु आवश्यक नभए पनि विभिन्न कारणले दुई संस्था बनेको बताइन्।
‘तत्कालका लागि अटो शो छुट्टाछुट्टै हुन्छन्। तर भविष्यमा संवाद र छलफलबाट एउटै अटो शो आयोजना गर्ने सम्भावना पनि कायम छ,’ उनले भनिन्।
वैद्यले एक्स्पोबाट संकलित टिकट शुल्कको १० प्रतिशत रकम मोबिलिटी क्षेत्रको अनुसन्धानमा खर्च गरिने जानकारी दिइन्। अनुसन्धानबाट प्राप्त तथ्य र अध्ययनलाई नाइमा मोबिलिटी जर्नलमा प्रकाशित गरिने उनले बताइन्।
उनका अनुसार नाइमाले आगामी दिनमा नाइमा मोबिलिटी कन्क्लेभ आयोजना गर्ने तथा सरकारका विभिन्न निकायसँग सहकार्य गरेर सीप विकास, सडक सुरक्षा र पूर्वाधार सुधारमा काम गर्ने लक्ष्य राखेको छ। साथै पूर्वाधार तथा अर्थ मन्त्रालयसँग सहकार्य गर्दै अटोमोबाइल क्षेत्रलाई देशको आर्थिक मेरुदण्डका रूपमा विकास गर्न नाइमा प्रतिबद्ध रहेको उनले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेली सांसदको रङ्गभेदी टिप्पणीमाथि खनिए एम्बाप्पे, फ्रेन्च फुटबल महासङ्घ अदालत जाने
-
तीन दशक सत्ता चलाउनेहरू सय दिनको सरकारसँग हिसाब माग्दै छन् : पराजुली
-
जितको खुसीयाली मनाउँदा चोट, हेन्डरसनको नाडीको शल्यक्रिया गरिने
-
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा
-
चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न डा केसीको माग, नभए असार २५ देखि सत्याग्रह गर्ने चेतावनी
-
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण