तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
सारांश
- विगत तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प भएको छ, जसले गर्दा अत्यावश्यक औषधिको अभाव सिर्जना भएको छ ।
- औषधि व्यवस्था विभागले वार्षिक निरीक्षण कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमा फाइल पठाए पनि ठोस निर्णय हुन सकेको छैन ।
- औषधि आयातकर्ता संघले नागरिकलाई भ्याक्सिन र जीवनरक्षक औषधिको अभाव झेलिरहेको अवस्थामा तत्काल निरीक्षण प्रक्रिया सुचारु गर्न माग गरेको छ ।
काठमाडौँ । विगत तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण हुन सकेको छैन । औषधि व्यवस्था विभागका झन्डै तीन सय ५० विदेशी औषधि कम्पनी दर्ता छन् ।
विदेशबाट आयात हुने औषधिको गुणस्तर यकिनका लागि निरीक्षण अनिवार्य मानिन्छ । विभागले हरेक वर्ष विदेशी औषधि उद्योगको स्थलगत निरीक्षण गरेर अत्यावश्यकीय औषधि जस्तै एचपीभी भ्याक्सिन, एन्टी स्नेक भेनम, यलो फिभर, क्रिटिकल केयरका जीवनरक्षक औषधि आयात गर्ने गरेको छ ।
ती र त्यस्ता आवश्यक अन्य औषधि उत्पादन हुने कम्पनीको निरीक्षण विगत तीन वर्षदेखि ठप्प छ ।
विभागले प्रत्येक वर्ष विदेशी औषधि उद्योगहरूको डब्लुएचओ जीएपमी सम्बन्धी स्थलगत निरीक्षण गर्ने प्रचलनलाई पुनः सञ्चालन गर्ने भने पनि सुरु हुन सकेको छैन ।
औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले औषधि निरीक्षण वार्षिक कार्यक्रम भए पनि अनुगमन हुन नसकेको बताइन् । पत्रकारसँगको कुराकानीमा उनले भनिन्, ‘तीन वर्ष भयो होला निरीक्षण हुन सकेको छैन । पहिले पनि अर्थ मन्त्रालयमा फाइल लग्दा त्यहाँबाट फिर्ता नआएको अवस्था थियो । जीएमपी कमिटीले सिफारिस गरेका फाइल थिए । औषधि निरीक्षण वार्षिक कार्यक्रम हो । हामीले निरीक्षणका लागि मन्त्रालयमा फाइल त पठाएका हौँ । फिर्ता आएको छैन ।’
यस्तै, विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले विगत ३ वर्षदेखि विदेशी औषधि कम्पनीको अडिट नभएको बताए ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा गत जेठ तेस्रो साता औषधि निरीक्षणका लागि औषधि व्यवस्था विभागले फाइल पठाए पनि यसबारे ठोस निर्णय हुन सकेको छैन । विश्व स्वास्थ्य संगठन जीएमपी अडिट गर्न गएर नयाँ औषधिको आयात दिने अभ्यास छ । विदेशबाट आयात हुने एलोफिभर भ्याक्सिन, नेपालमा उत्पादन नहुने जीवनरक्षक औषधिहरू, दुर्लभ रोगका औषधिहरू, प्लाज्मासँग सम्बन्धित, ह्यूमन अल्वोमिन औषधिको अभाव बेला–बेला सिर्जना हुने गर्छ ।
अहिले पनि रेविजविरुद्धको भ्याक्सिन, क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटीन र कार्बोप्लाटीन जस्ता औषधिको अभाव छ । यी औषधि अधिकांश भारतबाट आयात हुने गर्छन् । तर, औषधि व्यवस्था विभागबाट लामो समयदेखि विदेशी औषधि कम्पनीको निरीक्षण हुन नसकेको विभाग स्विकार्छ । ती औषधि उत्पादन गर्ने उद्योगको विश्व स्वास्थ्य संगठन जीएमपी निरीक्षण गरेर कम्प्लाइन्स भएको खण्डमा आयात अनुमतिपत्र दिने गरिएको छ । केही समय यता पटके सिफारिसको आधारमा नेपालमा औषधि भित्रिने गरेको छ । स्वयं बिरामीहरूले भारत गएर अभाव भएका औषधिहरू पटके सिफारिस मार्फत् ल्याउनुपर्ने बाध्यता छ ।
औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले औषधिको सहज आपूर्तिको सूनिश्चितताका लागि तत्काल विदेश औषधि कम्पनीको स्थलगत निरीक्षण अपरिहार्य रहेको बताए । उनले भने, ‘विगत चार वर्षदेखि रोकिएको यो प्रक्रियाले नागरिकले भ्याक्सिन, जीवनरक्षक औषधिको अभाव झेलिरहेको अवस्था छ । मन्त्रालयले यसबारे आवश्यक निर्णय गर्नेमा आशावादी छौँ ।’
आधुनिक औषधि र आयुर्वेदिक प्रणालीका औषधिहरू पैठारी गर्न विश्व स्वास्थ्य संगठन जीएमपी अनुसरण गर्नुपर्ने र सोका लागि विभागको प्राविधिक टोलीबाट निरीक्षण गरेपश्चात उपयुक्त ठहरिएमा मात्र त्यस्ता विदेशी उद्योग र सोका उत्पादन दर्ता गर्न सकिने प्रावधान छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले औषधिको गुणस्तर सुनिश्चितताका लागि नियमित रूपमा अनुगमन र निरीक्षण हुन आवश्यक रहेको बताए । उनले भने, ‘औषधिको गुणस्तर सुनिश्चितता सम्बन्धमा राष्ट्रिय औषधि प्रयोगशालाको गुणस्तर सुदृढीकरण गर्ने काम भइरहेको छ । अन्तर्राष्ट्रिय विज्ञहरूको समन्वयमा यस विषयमा काम गरिरहेका छौँ ।’
कानुनले दिएको अधिकार प्रयोग गरेर नियमित रूपमा विभागबाट हुने अनुगमन भइरहेको जनाउँदै उनले निरीक्षण लगायतका विषयलाई सरकारले प्राथमिकता दिएको प्रस्ट पारे ।
विदेशी औषधि कम्पनीको निरीक्षणबारे स्वास्थ्य मन्त्रालयमा फाइल प्राप्त भए/नभएकोबारे आफूले बुझ्ने अधिकारीले बताए ।
पछिल्लो पटक वि.सं. २०७९ मा वैदेशिक उद्योग/ कम्पनी निरीक्षण (अडिट) भएको थियो । नेपालमा औषधि पैठारी इच्छुक विदेशी औषधि उत्पादन कम्पनीहरूको हकमा २०७१ देखि लागु रहेको पैठारी सम्बन्धी प्रावधान बमोजिम विदेशी उद्योग निरीक्षण कार्य गर्ने र विश्व स्वास्थ्य संगठन जीएमपी निर्देशिका अनुसार वार्षिक स्वीकृत कार्यक्रम बमोजिम निरीक्षण/अडिट हुने कार्य हुँदै आएको थियो ।
आधुनिक औषधि र आयुर्वेदिक प्रणालीका औषधिहरू पैठारी गर्न विश्व स्वास्थ्य संगठन जीएमपी अनुसरण गर्नुपर्ने र सोका लागि विभागको प्राविधिक टोलीबाट निरीक्षण गरेपश्चात उपयुक्त ठहरिएमा मात्र त्यस्ता विदेशी उद्योग र सोका उत्पादन दर्ता गर्न सकिने प्रावधान छ ।
विभागको २०७९ असार ६ मा वैदेशिक उद्योग/कम्पनी निरीक्षण (अडिट) सम्बन्धमा तयार भएको टिप्पणी आदेशमा होमियोप्याथिक प्रणालीमा उत्पादन दर्ता गर्न चाहेमा सम्बन्धित देशको कुशल उत्पादन अभ्यास अनुशरण प्रमाणपत्र भएमा निरीक्षण गरी उपयुक्त ठहरिएमा दर्ता गर्ने प्रावधान रहेको विषय समेटिएको छ । आदेशमा स्ट्रिङेन्ट रेगुलाटरी अथोरीटी मानिएका मुलुकहरू र त्यहाँ दर्ता भएका औषधि बाहेकका मुलुकमा उत्पादित औषधि दर्ता नगरिने र दर्ता गर्न आवेदन दिएमा सालवसाली निरीक्षण कार्यक्रम तय गरी प्राथमिकता निर्धारण गरी निरीक्षण गर्न प्राविधिक टोली खटाई कार्य सम्पादन गर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण