मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

सत्ता गठबन्धनमा खटपट भएपछि नेकपा एकीकृत समाजवादीले के गर्छ मधेस प्रदेशमा ?

मङ्गलबार, ०४ वैशाख २०८१, १३ : ५८
मङ्गलबार, ०४ वैशाख २०८१

 काठमाडौँ । मधेस सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । सत्ता गठबन्धनमा सम्बन्ध बिग्रिएपछि मधेस प्रदेश सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा नेकपा एकीकृत समाजवादी अन्योलमै छ ।

यद्यपि नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश सभा संसदीय दलका नेता गोविन्द न्यौपानेले हालसम्म विश्वासको मत दिने नै कुरा रहेको बताए । यद्यपि यसबारे संसदीय दलको बैठकले औपचारिक निर्णय लिने उनको भनाइ छ ।

सोही पार्टीका प्रदेश सभा सदस्य रत्नेश्वर गोइतले विश्वासको मत दिनुभन्दा पहिले संसदीय दलको बैठक बस्ने र सो बैठकमा वश्वासको मतबारे छलफल हुने उनले बताए । ‘सञ्चारमाध्यमबाट केन्द्रमा सत्ता गठबन्धनको बारेमा पनि गाइँगुइँ सुनिएको हो, तर पार्टीबाट हालसम्म त्यस्तो कुनै निर्देशन आएको छैन,’ उनले भने ।

विश्वासको मत दिने बेलासम्म कुनै निर्देशन आए छुट्टै कुरा हो, नत्र हालसम्म सरकारप्रति नेकपा एकीकृत समाजवादी सकारात्मक रहेको उनले बताए ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले मधेस प्रदेशको हकमा हालसम्म नयाँ निर्णय नभएको बताए । उनले भने, ‘विश्वासको मत दिने कुरा नै हो तर अन्तिम समयमा के हुन्छ, त्यो थाहा छैन ।’

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (रेशम चौधरी पक्ष)लाई समर्थन जनाएपछि सत्ता गठबन्धनमा तरङ्ग उत्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिममा जस्तै मधेस प्रदेश र लुम्बिनी प्रदेशमा पनि हुन सक्ने भनेपछि मधेस प्रदेशमा पनि त्यसको प्रभाव पुगेको छ ।

नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश सभाका एक सदस्यले भने, ‘हाम्रो पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिनुभएको अभिव्यक्तिको मधेस प्रदेशमा तरङ्ग  देखिएको छ, नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिँदैन कि भन्ने आशङ्का भइरहेको छ ।’

जसपाका मधेस प्रदेश सभा सदस्य रामअषिश यादवले कांग्रेस र जनमत पार्टीबाहेक सबै दलले विश्वासको मत दिने दाबी गरे । उनले भने, ‘मधेस प्रदेशमा कुनै समस्या छैन । सबै दलसँग कुराकानी भइसकेको छ । विश्वासको मत पाउने निश्चित छ ।’

नेकपा एकीकृत समाजवादीमा पनि कुनै प्रकारको विवाद नरहेको बताउँदै उनले सो दलका नेताहरूसँग पनि यसबारे कुराकानी भइसकेको बताए ।

मधेस प्रदेश सभामा नेकपा एकीकृत समाजवादीका सात जना सांसद छन् । १०७ सांसदमध्ये सत्ता गठबन्धनमा एमालेको २५, जसपाको १९, माओवादीको ९, नेकपा एकीकृत समाजवादीको ७, सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको १–१ जना सांसद छन् । गठबन्धन बाहिरबाट लोसपाले पनि सरकारलाई साथ दिइरहेको छ । लोसपाका ९ जना सांसद छन् । विपक्षमा कांग्रेसको २२, जनमतको १३ सांसद छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप