मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा रौतहटमा १ वर्षमा २ करोड ८० लाख बढीको सामान बरामद

बुधबार, ०५ वैशाख २०८१, ०९ : ३३
बुधबार, ०५ वैशाख २०८१

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीले १ वर्षको अवधिमा तस्करीको माध्यम बाट भित्र्याइएको दुई करोड ८० लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ। गत साउन एकदेखि चैत्र मसान्तसम्म  भारतबाट विभिन्न नाका हुँदै अवैध रूपमा भित्र्याइएको दुई करोड ८० लाख ४३ हजार ५६४ रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए । 

गत चैत महिनामा मात्रै ३६ लाख, ४५ हजार ९८४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको थियो । बरामद सम्पूर्ण सामान आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको एसपी हुमागाईँले जानकारी दिए । 

अवैध सामान ओसारपसारमा संलग्न १३ जना, लागू औषध कारोबारमा संलग्न २ जना, हात हतियार सहित पक्राउ परेका ३ जना  र वन पैदावार ओसारपसारमा संलग्न ६ जना गरी जम्मा २४ जना मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उनले बताए । 

गत आर्थिक वर्षमा भारत बाट चोरी लुकी तस्करहरूले भित्र्याएको कुल पाँच लाख ३५ हजार ५८० रुपैयाँ बराबरको १६ क्विन्टल ६१ किलो प्रतिबन्धित अवैध कुखुरा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरीले जारी गरेको सूचनामा उल्लेख  छ।

त्यस्तै सशस्त्र प्रहरीले २०८० मङ्सिर ३ गते यमुनामाई -३ मल्हिनिया टोलमा शेख बैतुल्लाहको कच्ची घरबाट पेस्तोल–३, सोमा प्रयोग हुने म्यागजिन–६ थान ,७.६५ एमएमको १३ राउन्ड गोली, एयर गण १ नाल गरी जम्मा ४ नाल हतियार बरामद गरेको थियो।

त्यस्तै गत चैत २ गते  परोहा नगरपालिका ९  घिउरा गाउँमा मनि ट्रान्सफर्मरमा गोली फायर गरी फरार ३ जना भारतीय नागरिकहरूको साथबाट २ थान पेस्तोल र ५ राउन्ड गोली, सहित भारतीय नम्बरको एउटा मोटरसाइकल बरामद गरेको थियो।

सोही अवधिमा भारतीय समकक्षी एसएसबीसँग मिलेर सशस्त्र प्रहरीले १२५ पटक संयुक्त बोर्डर गस्ती गरेको थियो। प्रादेशिक अस्पताल गौर लगायत जिल्लाको विभिन्न अस्पतालमा उपचारको क्रममा बिरामीलाई रगत अभाव हुँदा सशस्त्र प्रहरीले  गत साउन देखी चैत्र मसान्त सम्म ५१ पटक रक्तदान गरेको छ।

परोहा ९ खाप स्थित रहेको शिबम मनिट्रान्फरका संचालक वर्ष २५ का नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिएको चेकप्वाईन्ट टोलीले ३ जना भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिएको थियो ।  गौरका प्रमुख एसपी विक्रम हुमागाईँ र जिल्ला प्रहरी कार्यालय गौरबाट तत्कालीन एसपी महेन्द्र कुमार श्रेष्ठको संयुक्त टोली सर्च गर्ने क्रममा १ नाल कटुवा पेस्तोल, १ नाल अटोमेटिक पेस्तोल र ६ राउन्ड गोली सहित तीनजना भारतीय अपराधीलाई पक्राउ गरेको थियो।

त्यस्तै ईशनाथ नगरपालिका ७ ठुलो घिउरा गाउँमा सरस्वतीको मूर्ति विसर्जनको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायका हजारौँ जना स्थानीयहरू बिच झडप हुँदा सशस्त्र प्रहरी बल, नेपालको ३५० जना र नेपाल प्रहरीको ४५० जनाको टोली परिचालन भई स्थितिलाई नियन्त्रणमा लिई ठुलो धनजनको क्षति हुन नदिएको सूचनामा उल्लेख गरिएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप