मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

२०८० मा कुन–कुन फिल्म भए ‘हिट’ ?

बुधबार, ०५ वैशाख २०८१, ०९ : ४१
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । २०८० सालमा जम्मा ५३ फिल्म प्रदर्शन भए । तीमध्ये व्यापारका हिसाबले जम्मा ६ फिल्म मात्र सफल भए ।

वर्षका ५३ फिल्ममध्ये ‘जारी’, ‘परदेशी २’, ‘नाङ्गो गाउँ’, ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘दिमाग खराब’, र ‘महाजात्रा’ तुलनात्मक रूपमा सफल भए । अन्य फिल्मले भने नेपाली चलचित्र उद्योगमा फिल्मको सङ्ख्या थप्नबाहेक खासै उपलब्धि हासिल गर्न सकेनन् ।

  • ‘जारी’ :

वर्ष २०८० को सबैभन्दा धेरै व्यवसाय गर्ने फिल्म हो ‘जारी’ । गत वैशाखमा रिलिज भएको फिल्मले १७ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

लिम्बु समुदायमा विद्यमान ‘जारी’ प्रथामाथि बनेको यो फिल्ममा लिम्बु परम्परा, संस्कृति, भेषभूषा र परिवेश समेटिएको थियो ।

फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर दाम्पतीको भूमिकामा देखिएका थिए । रामबाबु गुरुङ निर्माता रहेको फिल्म उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । सुब्बाको यो डेब्यु निर्देशन हो । लेखन समेत सुब्बाले गरेको फिल्ममा विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बा लगायतको समेत अभिनय थियो ।

फिल्म प्रदर्शनको समय पाइरेसीमा समेत परेको थियो । निर्माण युनिटले समयमै प्रहरीमा उजुरी गरेको कारण क्षति हुन पाएन । ‘जारी’ दर्शकले मात्र होइन, समीक्षकले पनि राम्रो प्रतिक्रिया दिएको फिल्म हो ।

  • ‘नाङ्गो गाउँ’ :

२०८० को व्यावसायिक सफल फिल्ममा ‘नाङ्गो गाउँ’ पनि पर्छ । यो फिल्म दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । लामा रङ्ग पत्रकारिताबाट निर्देशनमा होमिएका हुन् । गत भदौमा प्रदर्शनमा आएको फिल्मले कति कमायो भनेर अहिले सार्वजनिक गरिएको छैन । यद्यपि फिल्मले लगानीको तुलनामा राम्रो व्यवसाय गरेको चर्चा चलचित्र वृत्तमा चलेको छ ।

अभिनेतता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्मले विकृत राजनीति र रोजगारीको खोजीमा युवा सहर पसेपछि गाउँ खाली भएको कथा पेस गरेको थियो ।

फिल्ममा दयाहाङ र मिरुनाको अलावा कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका थियो । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । समीक्षकबाट राम्रो प्रतिक्रिया पाउन नसके पनि दयाहाङ र मिरुना भएको कारण यो फिल्म चलेको बताइन्छ । फिल्मले ४ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माता हिमाल शर्मा बताउँछन् ।

  • ‘परदेशी २’ :

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ प्रेमकथा र कामको खोजीमा बिदेसिनेको कथामा बनेको हो । गत असोजमा रिलिज भएको फिल्मलाई समीक्षकबाट राम्रो प्रतिक्रिया मिलेन । तर पनि बक्स अफिसमा फिल्म हिट भयो ।

व्यावसायिक रूपमा सफल ‘परदेशी’को सिक्वेलको रूपमा निर्माण भएको ‘परदेशी २’ पहिलो पार्टको तुलनामा धेरैले कमजोर महसुस गरे । तर सिक्वेल भएको कारण फिल्मले व्यवसाय ग¥यो । गायक प्रकाश सपुतले यो फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । केही गीत लगातार हिट दिएका सपुतको कारण पनि फिल्मले दर्शक पाएको अनुमान गरिएको छ ।

फिल्ममा सपुतको अलावा केकी अधिकारी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतले अभिनय गरेका छन् ।

नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश वंशल र निर्देशक नारायण रायमाझीले मिलेर फिल्म बनाएको फिल्मले ८ करोडको ग्रस कलेक्सन गरेको निर्माता राजेश वंशल बताउँछन् ।

  • ‘पशुपति प्रसाद २ : भष्मे डन’ :

गत कार्त्तिकमा प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ पनि व्यावसायिक रूपमा सफल फिल्म हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । निर्देशक खनालले आफ्नो हिट फिल्म ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’लाई केन्द्रीय पात्र बनाएर यो फिल्म तयार पारेका हुन् । फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय थियो ।

पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनलाई फिल्मको कथा बनाइएको थियो । खगेन्द्र लामिछाने निर्माता र लेखक रहेको फिल्ममा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटी विशेष भूमिका देखिएका थिए । टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मले समीक्षाबाट अपेक्षाकृत प्रतिक्रिया पाउन सकेन । फिल्म सफल हुनुको कारण धेरैले सिक्वेलसँग जोडे । फिल्मले ७ देखि ८ करोडको बिचमा ग्रस कलेक्सन गरेको वितरक अशोक शर्मा बताउँछन् ।

  • ‘दिमाग खराब’ :

हिट फिल्म ‘लुट’का निर्देशक निश्चल बस्नेत निर्देशित फिल्म हो ‘दिमाग खराब’ । गत कार्त्तिकमा प्रदर्शनमा आएको फिल्मले राजनीतिक विषयलाई कथाको रूपमा उठाएको थियो ।

फिल्मको सुरुवाती व्यवसाय राम्रो भएको थिएन । सोही कारण निर्माण युनिटले निर्माता र हलको सेयर बाँडफाँटको विषय उठाएर फिल्म रोक्यो । फिल्म रोकिएपछि चौतर्फी चर्चा भयो । निर्माता र हलको सेयर बाँडफाँटमा ५०–५० प्रतिशत लिने र दिने कुरो मिलेपछि फिल्म पुनः रिलिज भयो । फिल्मले दर्शक पनि पाएर लगानी सुरक्षित गर्दै नाफा कमाउन सफल भयो । फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्कीलगायत कलाकारको अभिनय छ । फिल्म सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा तयार भएको हो । फिल्मले १० करोड ६७ लाख ग्रस कलेक्सन गरेको निर्माता रोनक विक्रम कँडेलले बताए ।

  • ‘महाजात्रा’ :

२०८० मा व्यावसायिक सफलता हात पार्ने अन्तिम फिल्म हो ‘महाजात्रा’ । गत चैत्र ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्मले अहिले पनि राम्रो व्यवसाय गरिरहेको छ । फिल्मले अहिलेसम्म घरेलु बक्स अफिसमा १४ करोड ग्रस कलेक्सन गर्न सफल भइसकेको छ ।

तीन सातामा १४ करोड कमाउँदै अगाडि बढिरहेको फिल्म चौथो सातामा प्रदर्शनरत छ । षट्कोण आर्ट्सले निर्माण गरेको हो । विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको फिल्म हिट फिल्म ‘जात्रा’को तेस्रो सिक्वेल हो । कसैको कालो धन व्यवस्थापनका लागि तीन पात्रले गर्ने सङ्घर्षमा फिल्म निर्माण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप