मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख ११ गतेदेखि बालाजु बाइसधारा मेला

बुधबार, ०५ वैशाख २०८१, १३ : १०
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी वैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा मेला व्यवस्थापन समितिका संयोगक गौतम प्रजापतिले यसअघि बालाजु उद्यान कार्यालयले मेला व्यवस्थापन गर्दै आएपनि यसवर्षदेखि मेला व्यवस्थापन समिति निर्माण गरी तयारी गरिरहेको बताए । “मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले काम गरिरहेको छ”, उनले भने ।

बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । मेलालाई गत वर्षभन्दा भव्य रुपमा सम्पन्न गर्नका लागि सबै ठाउँमा पत्राचार गरिएको उनको भनाइ थियो । प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायव उपरीक्षक रामकुमार दानीले मेलाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरिसकिएको बताए ।

“मेलाका समयमा कुनैपनि घटना नघटोस् भन्ने उद्देश्यले सादा पोशाकमा समेत प्रहरी परिचालन गर्न लागेका छौँ”, उनले भने । ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले विगतका अनुभवलाई हेरेर ट्राफिक व्यवस्थापन चुस्त तथा दुरुस्त पारिएको बताए ।

बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जन बस्नेतले बालाजु बाइसधारा मेलाको समयमा बालाजुका २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको बताए । उक्त समयमा बालाजु बाइसधारामा जात्रासमेत लाग्ने गर्दछ । तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिकाका र काठमाडौँ महानगरपालिका वडा नं १६ को पाँचवटा खट बालाजु बाइसधारामा आउने व्यवस्थापन समितिका सचिव विजयकुमार झाले जानकारी दिए ।

पाँच दिनसम्म चल्ने मेलामा देशभरबाट दुई लाख ३० हजार अवलोकनकर्ताको सहभागीता रहने आयोजकको अपेक्षा छ । मेलाको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका वडा नं १६ ले आर्थिक सहयोग गर्ने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप