मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

कांग्रेस दलको बैठकमा चर्काचर्की

सङ्कल्प प्रस्ताव फेस गर्ने निर्णय
बुधबार, ०५ वैशाख २०८१, १८ : ५३
बुधबार, ०५ वैशाख २०८१

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा चर्काचर्की परेको छ । बैठकमा मुख्यमन्त्री केदार कार्की र निवर्तमान दलका प्रमुख सचेतक भूपेन्द्र राईबिच हात हालाहालको अवस्था आएको हो । 

बिहान १० बजे बोलाएको बैठकमा मुख्यमन्त्री कार्की ढिलो गरी १२ बजे पुगेका थिए । कार्की कुम्भ मेलामा गएको कारण बैठक लम्बिएको हो । मुख्यमन्त्री नआएपछि बैठक सुरु भएको थियो । मुख्यमन्त्री कार्की भने दिउँसो साढे तीन बजे तिर दलको बैठकमा सहभागी भए । ‘मुख्यमन्त्री आउनु भन्दा अगाडिदेखि नै सरकारको बचाउ गर्न नहुने भनेर बहुमत सांसदले भनिरहेका थिए,’ एक सांसदले भने, ‘उहाँ आएपछि बैठकको माहोल नै परिवर्तन भयो ।’

मुख्यमन्त्री कार्कीले सरकारलाई पार्टीले असहयोग गरेको भनेर चर्किएका थिए भने उनको भनाइमा राईले प्रतिवाद गरेका थिए । उनले सरकारले समन्वय कसरी गरेको छ ? बजेटमा पार्टीसँग कसरी छलफल गरेको छ ? भनेपछि मुख्यमन्त्री र राईबिच हात हालाहालको अवस्था आएको कांग्रेसका सांसदहरू नै बताउँछन् । ‘झण्डै ५ मिनेट जति चर्काचर्की भएपछि उहाँहरूको अवस्था हेर्दा हात हालाहालको अवस्था बनेको थियो,’ एक सांसदले भने, ‘हामीले उठेर दुवैलाई छेक्यौँ ।’

सांसद राईले भने बैठकमा छलफल मात्रै भएको बताएका छन् । ‘छलफलको विषयमा चर्को स्वर निस्कियो होला बैठकमा यस्तो हुन्छ,’ उनले भने, ‘बैठक भित्र भएका कुरालाई तितो मिठो गर्न हुँदैन ।’

वर्तमान सरकाले पाटीसँग समन्वय नगरेको भन्ने विषयमा चर्काचर्की परेको प्रमुख सचेतक गोपाल तामाङले स्वीकार गरे ।

बैठकले विपक्षीले संसदमा दर्ता गराएको सङ्कल्प प्रस्तावको फेस गरेर जाने निर्णय गरेको छ । यस्तै कांग्रेस नेतृत्वको सरकार बचाउनका लागि पर्ने निर्णय समेत गरेको छ । वर्तमान सरकारलाई बर्खास्त गरे कानुनी सहायता खोज्ने निर्णयसमेत उक्त बैठकले गरेको छ । मुख्यमन्त्रीले अदालत जान्छु भनेपछि कानुनी बाटो रोज्ने निर्णय गरिएको सांसदले बताएका छन् । ‘बहुमत सांसदले मध्यावधिमा नजाने भनेर बैठकमै भनेका छन्,’ कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने, ‘कांग्रेस मध्यावधिमा जाने पक्षमा छैन ।’ उनले अर्को बैठकमा मध्यावधिमा नजाने निर्णय गर्ने समेत बताए । मध्यावधिमा जान हुँदैन भनेपछि मुख्यमन्त्री बैठकमा आक्रोशित बनेको नेताहरूले बताएका छन् ।  

यस्तै विपक्षी दलहरुले संसद् सचिवालयमा दर्ता गराएको सङ्कल्प प्रस्ताव परिमार्जन गरेर मात्रै सदनमा पेस गर्ने सहमति भएको छ । बुधबार बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी र एमालेले संसद् सचिवालयमा दर्ता गराएको सङ्कल्प प्रस्तावलाई परिमार्जन गर्ने सहमति भएको हो । बिहीबार पेस गर्ने र शुक्रबार सभामुखले निर्णयार्थ पेस गर्ने दलहरूबिच सहमति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप