बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
ऐतिहासिक संरचना

अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र

१० करोड भए सम्पूर्ण काम सम्पन्न हुन्छ : प्रमुख सेनानी श्रेष्ठ
शुक्रबार, ०७ वैशाख २०८१, ०८ : २४
शुक्रबार, ०७ वैशाख २०८१

बारा । नेपाल एकीकरणको क्रममा मधेसी समुदायको भूमिका के थियो होला ? अङ्ग्रेजसँगको युद्धमा तराइवासी समुदायको योगदान झल्काउने उद्देश्यले नेपाली सेनाले बाराको जीतपुरमा ‘एकीकरण स्मृति उद्यान’ निर्माण गरिरहेको छ । नेपाल एकीकरण स्मृति उद्यानमा नेपाल एकीकरणमा तराईका किसान, थारु मुस्लिम, मधेसी, महिला, दलित समुदायले अङ्ग्रेजहरूलाई नेपाल प्रवेश गर्न कसरी रोकेका थिए भन्ने दृश्यहरू उद्यानमा राखिएको छ । 

‘त्यतिबेला अहिलेजस्तो आधुनिक हतियार हुँदैनथ्यो, खेतमा काम गर्दा गर्दा, खाना खादा खादै शत्रु आयो भनेपछि लड्न जानुपर्थ्यो’ नेपाली सेनाको श्री नं २८ बाहिनीका प्रमुख सेनानी अमित श्रेष्ठले भने ‘त्यत्तिखेर यहाँका स्थानीयहरूले लडेका गढीहरूको इतिहासलाई जर्गेना गर्न, मधेस प्रदेशका जनताहरूको योगदान  अहिलेका युवावर्गहरुले पनि जानकारी लिन भन्नका लागि यो उद्यान बनाइएको हो’ 

उद्यान निर्माणमा हालसम्म ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको सेनाले जनाएको छ ।

२ बिगाहा २ कट्ठा ३ धुर क्षेत्रफलमा निर्माण भएको एकीकरण स्मृति पार्क पछिल्लो समय बजेट अभावले काम अलपत्र अवस्थामा छ । करिब २२ करोड बजेट मध्ये हालसम्म ५० प्रतिशत मात्रै निकासा भएको जनाइएको छ । 

‘हामीलाई अझै ५० प्रतिशत बजेट आवश्यक पर्छ,  बाँकी काम सम्पन्न गर्न बजेट सुनिश्चित भएको छैन, सरोकारवाला निकायमा पत्राचार गरेर बजेटको लागि पहल गरिरहेका छौँ’ उनले भने ‘अहिले खासमा बजेट अभावले नै काम रोकिएको हो, गत वर्ष मधेस प्रदेश सरकारकाबाट २ करोड बजेट विनियोजन भएको थियो,यो वर्ष १ रुपैयाँ पनि विनियोजन भएन ।’ १० करोड बजेट भए बाँकी काम सम्पन्न हुने सेनाले जनाएको छ । 

m9

यहाँ राख्नका लागि गौतम बुद्ध, पृथ्वीनारायण शाह, नेपाल आमा, चौधरी लडाकु, मथली लडाकु, भोजपुरी लडाकु, मुस्लिम लडाकु र गोर्खाली सिपाहीको प्रतिमा तयार भइसकेको छ ।

तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले सो उद्यानको ४ वर्षअघि शिलान्यास गरेका हुन् । २ बिघा २ कट्ठा ३ धुर क्षेत्रफलमा प्रदर्शनी भवन, तलेजु  भवानी मन्दिर, मूल प्रवेशद्वार, गढी प्रवेशद्वार, एम्पिथिएटर, शौचालय, फ्ल्याग स्ट्याण्डलगायतका संरचना निर्माणको काम बजेट अभावले अधुरै अवस्था छ  । 

सबै संरचनाहरूलाई कलात्मक ढङ्गले निर्माण गर्ने काम बाँकी रहेको प्रमुख सेनानी श्रेष्ठले जनाएका छन् । उद्यानमा राखिएको प्रदर्शनी भवन झट्ट हेर्दा जनकपुरको जानकी मन्दिर जस्तो देखिन्छ । यसको अघिल्लो भागमा मिथिला चित्रकला राखिएको छ । 

खासगरी नेपाल अङ्ग्रेज युद्धताका अंग्रेजहरूको कतिपय फौज मधेसका इलाकाबाट आएको र उनीहरूलाई रोक्न गोर्खाली फौजलाई तराई मधेसका जनताले योगदान र बलिदान दिएको इतिहास उल्लेख छ । 

मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले तत्कालीन समयमा अङ्ग्रेजविरुद्धको युद्धमा तराईवासी र पहाडवासीले संयुक्त रुपमा लडेर अङ्ग्रेज सेनाहरूलाई परास्त गरेको स्मरणमा यो पार्क निर्माण गरिएको  बताएका छन् । 

उनले अङ्ग्रेजसँगको युद्धमा मधेसका मुस्लिमहरूले घरेलु हतियार बनाएर सप्लार्यर गर्ने काम गरेको बत्ताउँछन् । 

‘अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले बेलायतीहरूलाई खानेपानीको कुवाहरू थुनेर बन्द गरिदिने, गाउँमा बस्न नदिएको कारण  विदेशीहरू पानी खान नपाएर, भोक भोकै भएर मधेसबाट पहाडतर्फ उक्किन सकेनन् ।, जसले गर्दा अङ्ग्रेजसँग युद्ध लड्न सहज भयो’ पूर्व प्रदेश प्रमुख डा. अहिराजले भने ‘ युद्धमा मधेसका मानिसले गाँईगोरु जम्मा गरेर उनिहरुको सिंङ्गमा कपडामा मोविल राखेर आगो लगाएर अङ्ग्रेजहरूलाई धपाउन प्रयोग गर्थे’  

m2

नेपाल एकीकरणको क्रममा मधेसका जनताले शत्रुहरूलाई गाउँमा बस्न नदिएको, पानी खान नदिएको,खाना पकाएर खान नदिएर थुप्रै  पंङ्गत्तीहरु इतिहासमा भएको डा. अहिरको भनाई छ ।

गोर्खा तनहुँ, कास्की, म्याग्दीमा अहिले पनि मधेसी समुदाय र मुस्लिम समुदायहरू गाउँ गाउँमा भेटिन्छ, नेपाल एकीकरणपछि तराईका मधेसी समुदायहरू विभिन्न पेसा व्यवसायमा आबद्ध भएका थिए । 

मधेसको इतिहास बोकेको पार्क प्रदेशकै गौरवको योजना भएको पूर्व प्रदेश प्रमुख अहिराजको भनाई छ ।  

m7

खासगरी नेपाल अङ्ग्रेज युद्धताका अंग्रेजहरूको कतिपय फौज मधेसका इलाकाबाट आएको र उनीहरूलाई रोक्न गोर्खाली फौजलाई तराई मधेसका जनताले योगदान र बलिदान दिएको इतिहास उल्लेख छ । 

नेपाली सेना २८ नं बाहिनी जीतपुरका प्रमुख सेनानी अमित श्रेष्ठले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट बजेट निकासा भएर टेन्डर फाइनल भए बाँकी काम ३ महिनामा सम्पन्न हुने बताएका छन् । 

‘अव १० करोड भए काम सम्पन्न हुन्छ तर, सरकारले सुनको अण्डा पार्ने कुखुरालाई दाना नै नखुवाई कसरी अण्डा पार्छ ?’ प्रमुख सेनानी श्रेष्ठले भने ‘यो उद्यानमा मधेस प्रदेशका सम्पूर्ण ऐतिहासिक संरचनाहरू निर्माण हुने भएकोले उद्यानको काम सम्पन्न भए मधेस प्रदेशको पर्यटन प्रवर्धनमा यसले ठुलो टेवा पुर्याउछ ।’ 

m1m3m4m8m9

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप