बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले ओखलढुङ्गा जिल्ला अधिवेशनको सन्देश

शुक्रबार, ०७ वैशाख २०८१, ११ : ४६
शुक्रबार, ०७ वैशाख २०८१

नेकपा एमालेका लागि २०८० साल अधिवेशनको वर्षजस्तै रह्यो । सातवटै प्रदेशहरूको अधिवेशन सम्पन्न गरी धमाधम जिल्ला अधिवेशन सम्पन्न गर्ने चरणमा छ यतिबेला एमाले । 

जीवन्त राजनीतिक संस्थाको जीवनमा अधिवेशनले महत्त्व राख्छ, जसले सङ्गठनलाई चलायमान गर्नुको साथै गति प्रदान गर्छ । अधिवेशन अगाडि धादिङ एमालेमा धेरै विवाद सुनियो, अधिवेशन सकिएपछि ओखलढुङ्गा एमालेमा विवाद सुनियो । इतिहास प्रेरणाको स्रोत हो । अधिवेशन मूलतः विगतको समीक्षा, वर्तमानको यथार्थ विश्लेषण र भावी कार्ययोजना निर्माणमा केन्द्रित हुने गर्छ । अहिलेलाई ओखलढुङ्गा एमालेको विगतलाई हेरौँ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा देशव्यापी रूपमा नेकपा एमाले पराजयको सिकार हुनुपरेको थियो । भर्खरै विद्यार्थी राजनीति छाडेर चुनाव लड्न आएका नेकपा एमालेका नेता यज्ञराज सुनुवार २०६४ मा चुनाव लड्दा उनले क्षेत्र १ बाट आठ हजार ९२० मत पाए भने क्षेत्र २ बाट किशोर अधिकारीले आठ हजार ७३३ मत प्राप्त गरेका थिए । समानुपातिकमा क्रमशः आठ हजार ५३८ र आठ हजार ४७६ मत नेकपा एमालेले प्राप्त गरेको थियो ।

२०७० सालमा यज्ञराज सुनुवारले १२ हजार ९४३ मत प्राप्त गरी क्षेत्र १ बाट विजयी भए । क्षेत्र २ मा नानीबाबु बुढाथोकीले आठ हजार ५१० मत प्राप्त गरी पराजित हुनुपरेको थियो । समानुपातिकतर्फ क्रमशः १२ हजार ९७ र आठ हजार २७७ मत नेकपा एमालेले प्राप्त गरेको थियो ।

राज्य पुनर्संरचनापछि जिल्लामा तीन वटा निर्वाचन क्षेत्र (एक प्रतिनिधिसभा र दुई प्रदेशसभा) रहने व्यवस्था भयो । २०७४ सालमा वाम गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार (एमाले) ३२ हजार ५८० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी रामहरि खतिवडाले २७ हजार ४२७ मत प्राप्त गरेका थिए । 

२०७९ मा ओखलढुङ्गा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट यज्ञराज सुनुवारले २६ हजार ७३८ मत ल्याउँदा रामहरि खतिवडाले ३३ हजार ५५६ सहित निर्वाचित भए । प्रदेशसभा १ (१)तर्फ अम्बिर बाबु गुरुङले १४ हजार ५५६ मत प्राप्त गर्दा कांग्रेसका प्रदीपकुमार सुनुवार १४ हजार ९१६ मतसहित चुनिए । प्रदेश सभा १(२) तर्फ ज्ञानबहादुर खड्का जीबीले १४ हजार ६४२ मत प्राप्त गर्दा माओवादी केन्द्रका बाबुराम गौतमले १५ हजार ७३८ मतसहित निर्वाचित भए । समानुपातिकमा जिल्लामा नेकपा एमालेले कुल २५ हजार २४५ मत प्राप्त गरी जनताको रोजाइको पहिलो पार्टी बनेको थियो ।

यी तथ्य र तथ्याङ्कले नेकपा एमालेप्रति ओखलढुङ्गा जनताको अगाध माया र विश्वासलाई दर्साउँछ । विडम्बना, नेकपा एमालेको १०औँ जिल्ला अधिवेशनमा जनताको त्यो माया र विश्वासको धरहरा गर्ल्याङगुर्लुङ ढल्न पुगेको छ । 

प्रचार–प्रसारमा कमी 

नेकपा एमाले जिल्ला कमिटीको पूर्ण बैठकले निर्णय गरेर एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा १०औँ अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । यद्यपि उनी नआई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथिका रूपमा आए । 

ओखलढुङ्गाको माम्खामा जन्मिई देशको महत्त्वपूर्ण राजनीतिक नेतृत्वमा पुगेका शीर्ष नेतृत्व जिल्ला आउने कुरा असाध्यै गौरवको विषय हो । विडम्बना, नेकपा एमालेको अधिवेशन स्थल सुनसान थियो । प्रचारप्रसारका सामग्री तुल, झन्डा, ब्यानर सदरमुकाममा बिरलै मात्र देख्न सकिन्थ्यो । बजारका व्यापारीले एमालेको अधिवेशन पहिलोपटक सुनसान देखियो भनेको पनि सुनियो ।

राजीनामा पत्रमा उनले लेखेका छन्, ‘दसौँ जिल्ला अधिवेशनमा जे–जस्ता रबैया र गतिविधिहरू देखियो, जुन खालको आरोप–प्रत्यारोपको होडबाजी चल्यो, नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो, मेरो ३४ वर्षको राजनीतिक जीवनमा यस्तो अनुभूति गरेको थिइनँ ।’

लामो र पट्यारलाग्दो उद्घाटन सत्रमा अधिकांश वक्ताले निराशावादी मन्तव्य दिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले मञ्चबाटै सङ्कटमा पार्टी थेगेको बताए । ओखलढुङ्गा अगुवा नेताहरूबिच सौहार्दपूर्ण संवाद हुन र समझदारी बन्न सकेन । सबैको साझा प्रयासले एमाले ओखलढुङ्गाको १०औँ अधिवेशन एकताको अधिवेशन बन्नबाट नराम्रोसँग चुकेको छ ।

प्रतिनिधि व्यवस्थापन ढिलाइ

कम्युनिस्ट पार्टीका अधिवेशनमा महत्त्वपूर्ण व्यक्ति क्याडर्सबाट छानिएका प्रतिनिधि हुन् । सो छनोटमा खराब नियत र गडबडी गरिन खोज्दाको असर अधिवेशनका विभिन्न प्रक्रियामा पर्छ ।

ढड्डाहरूमा फोटोसहितको विवरण सूची बनाउँदै प्रतिनिधि व्यवस्थापन उपसमितिले तयारी गरे पनि प्रतिनिधिको विवरण ढिला आउनु, सङ्गठन विभागबाट प्रमाणित भई आएको संगठित सदस्यतालाई कायम गर्ने वा नगर्ने भन्ने सन्दर्भमा ढिला निर्णयमा पुग्नु र समयमा निर्वाचन मण्डलसँग प्रतिनिधिको नामवली पु¥याउन नसक्नु अधिवेशनको अर्को कमजोरी रह्यो । 

प्रतिस्पर्धाबाट श्रेष्ठता लोकतान्त्रिक अभ्यास

जिल्ला अधिवेशनकै सन्दर्भमा कुरा गर्नुपर्दा नेकपा एमाले ओखलढुङ्गाले कस्तो नेतृत्व चयन गर्ला आम चासो र चिन्ता हुनु स्वाभाविक हो । सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नभएपछि लोकतान्त्रिक विधिका माध्यमबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्यो । जिल्लाको नेतृत्व यही र यस्तै हुनुपर्छ भन्ने निर्धारित थिएन । 

अध्यक्ष पदका दाबेदार ज्ञानबहादुर खड्का जीबी र संविधानसभा सदस्य हर्कबोल राई दुवै नेतृत्व गर्न योग्य थिए । जीबी खड्का कानुन विषयमा स्नातक उत्तीर्ण अधिवक्ता हुन् । पार्टीले उनलाईइ सङ्कटका बेला २०७४ सालमा गाउँपालिका अध्यक्षको टिकटसहित गाउँ बोलायो । पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक ग्रहण गर्दै चुनावमा होमिए तर झिनो मतान्तरले पराजित भए । तैपनि अविचलित भई पार्टी काममा क्रियाशील भए । २०७९ मा उनलाई पार्टीले प्रदेश निर्वाचन क्षेत्र (ख) मा टिकट दियो, तर उनका लागि महागठबन्धन भारी प¥यो, पुनः पराजित भए । 

उनी पार्टी प्रदेश कमिटीको निर्वाचनमा समेत झिनो मतान्तरले पराजित भए । सङ्कटका बेला पार्टीले तोकेको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने व्यक्तिलाई जिम्मेवारीविहीन बनाउन हँुदैनथ्यो । पार्टी प्रदेश कमिटी सदस्यको जिम्मेवारी पूरा गरिसकेकाले उनको जिल्ला पार्टी नेतृत्वको दाबी स्वाभाविक पनि थियो । जस्तासुकै हारबाट पनि अविचलित नहुने एउटा जुझारु युवालाई एमाले ओखलढुङ्गाको १०औँ महाधिवेशनको हलले न्याय ग¥यो । उनी अध्यक्ष पदमा निर्वाचित हुन सफल भए । उनलाई १०औँ अधिवेशनले ओखलढुङ्गाको एमालेको बागडोर सुम्पियो । 

सरल, सादगी अनि सहज पहुँच भएका नेता तथा संविधानसभा सदस्य माननीय हर्कबोल राई पराजित भए, जीबी खड्कासँग । राई २०५४ सालमा कान्छो गाविस अध्यक्ष हुन् । २०६२÷६३ को जनआन्दोलनमा अग्रणी भूमिका खेलेका उनले संविधानसभाको सदस्य भई संविधान निर्माण गर्नमा योगदान गरे । पार्टीको कुनै जिम्मेवारी नहँुदा पनि सक्रिय भएर खट्ने सक्ने, २४ वर्ष जिल्ला कमिटीमा काम गरेका अनुभवी जुझारु व्यक्तित्व हुन् राई । अघिल्लो कार्यकालको जिल्ला कमिटीको उपाध्यक्ष राई यतिबेला अध्यक्ष पदको प्रत्याशी हुनु स्वाभाविक थियो । सर्वसम्मति हुन नसकेपछि उनी निर्वाचन प्रक्रियामा सरिक भएका थिए । थोरै मतले उनी पछाडि परे । निर्वाचितलाई बधाई दिँदै उनले एमालेलाई एक ढिक्का र एकताबद्ध गर्दै अगाडि बढ्नुपर्नेमा प्रतिबद्धता व्यक्त गरेका छन् । 

पूर्वअध्यक्षद्वारा पार्टी परित्याग 

लोकतान्त्रिक प्रक्रियालाई आत्मसात् गर्दै कुनै पनि उम्मेदवार वा प्रतिनिधिहरू खुसी र एकताको सन्देश बोकेर गाउँबस्ती फर्किने विश्वासमा तुषारापात भयो । एकाबिहानै पार्टी अध्यक्ष शङ्कर कटवालको एउटा स्टाटस सामाजिक सञ्जालमा भाइरल भयो । 

जिल्ला इन्चार्जमार्फत प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गरिएको, मिति २०८० चैत २७ को राजीनामा पत्रमा उनले लेखेका छन्— ‘दसौँ जिल्ला अधिवेशनमा जे–जस्ता रबैया र गतिविधिहरू देखियो, जुन खालको आरोप–प्रत्यारोपको होडबाजी चल्यो, नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो, मैले मेरो ३४ वर्षको राजनीतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभूति गरेको थिइनँ । ...आजबाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु ।’

एमाले, ओखलढुङ्गाको १०औँ अधिवेशन कुनै न कुनै कोणबाट गडबडी होस् र जनतामा निराशा छाओस् भन्ने दक्षिणपन्थी अवसरवादी र साङ्गठनिक अराजकताका हिमायतीहरूको सपना साकार हुन पुगेको छ । 

अधिवेशन स्थलबाट नेतृत्व छनोट गरेर ओखलढुङ्गा एमाले बाहिर निस्कँदा चिराचिरा परेर गाउँ पस्छ भन्नेहरूको अनुमान पूर्णतः सही साबित बन्न पुगेको छ ।

३४ वर्षको लामो राजनीतिक जीवन पार गरेका एउटा व्यक्ति मात्र नभई अध्यक्ष पदसहितको संस्थालाई के त्यस्तो दबाब आइप¥यो ? सम्मानित हलमा उनले त्यो दबाबका विषयमा समयमै प्रस्ट पारिदिएका भए उनको राजनीतिक उचाइ थप चुलिने थियो । सम्मानित हलसमक्ष उनले विधिपूर्वक प्रस्तुत गरेको राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनउपर घनीभूत छलफल भई सर्वसम्मतिले पारित भएको थियो । 

शङ्कर कटवाललाई आर्थिक अपचलनको प्रश्न तेर्साइएको पनि देखिन्छ । लामो साङ््गठनिक जीवन पार गरेको एउटा योद्धाको दुःखद बहिर्गमन ओखलढुङ्गा एमालेका लागि समीक्षाको विषय बन्न आवश्यक छ । 

जिल्लावासीको विकासप्रतिको चाहनालाई सम्बोधन गर्दै, जिल्लावासीलाई गरिबी तथा पछौटेपनबाट छुटकारा दिलाउँदै ‘समृद्ध ओखलढुङ्गा’ बनाउन हृदयदेखि नै इमानदार पहल गर्न हाम्रो अर्को महत्त्वपूर्ण कार्यभार रहेको छ । फाटेका मनहरूलाई सिउँदै, बिग्रेका मनहरूलाई सम्हाल्दै, विगतमा पार्टी निर्माण तथा निर्वाचनहरूमा देखिएका समस्यालाई हटाउँदै सुदृढ, सबल र सक्षम पार्टी निर्माण गर्ने कार्यभार नवनिर्वाचित अध्यक्ष जीबी खड्काको काँधमा आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गोपाल नेपाल
गोपाल नेपाल
लेखकबाट थप