गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफू संविधानको जानकार भएको बताएका छन् । शुक्रबार संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानको व्यवस्थाभित्रै रहेर विश्वासको मत लिने बताए ।
उनले शुक्रबार विश्वासको मत लिने चर्चा थियो । तर कार्यसूचीमा उक्त प्रस्ताव आएन । विश्वासको मतबाट पछि हटेपछि पत्रकारहरूले विश्वासको मत कहिले लिनुहुन्छ भनेर सोधेका थिए । अधिकारीले जवाफमा भने, ‘चर्चा तपाईँहरूले गराइदिनुभयो धन्यवाद छ । विश्वासको मत त हामीले लिनुपर्छ । संविधानबारे जानकारै छु । संविधानको व्यवस्था अनुसार उपयुक्त समयमा विश्वासको मत लिन्छु । तपाईंहरुलाई थाहा हुन्छ ।’
अधिकारीले आफूसँग बहुमत भएको जिकिर गरे । प्रस्तावहरू पेस गर्न र विश्वासको मतका लागि समेत बहुमत जुटाउन सक्ने उनको दाबी थियो । ‘हामीसँग बहुमत छ, विधेयकको लागि पनि छ, अरू कामको लागि पनि छ । त्यति त बुझ्नुपर्यो नि ,’ उनले अघि भने । मुख्यमन्त्रीले आफूहरू लोकतन्त्रमा विश्वास गर्ने भएर नै शुक्रबारको संसद् स्थगित गरेको बताए । ‘हामी लोकतन्त्रमा विश्वास गर्छौं । लोकतन्त्र आफ्नो अनुकूल भए ठिक र प्रतिकुल भए बेठीक भन्ने हुँदैन । उहाँहरूको सम्मान गरेका हौँ हामीले,’ अधिकारीले भने । सभामुख कृष्ण धितालले प्रतिपक्षी सांसदको अनुपस्थितिका कारण बैठक स्थगित गरेका थिए ।
उनले निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूरै समय रहेर राजीनामा दिएकोमा व्यंग्य पनि गर्न भ्याए । ‘तपाईँहरूले जे सोच्नुभएको छ हेरौँ । मैले जब समर्थन फिर्ता भयो अनि विश्वासको मत लिएँ । पर्खेर राजीनामा दिइनँ,’ उनी भन्छन्, ‘म संविधानको पूर्ण कार्यान्वयन होस् भन्ने पक्षमा छु ।’ सर्वोच्चमा परेको मुद्दाबारे अधिकारीले कांग्रेसले अदालतलाई प्रभाव पार्नका लागि बैठक बहिष्कार गरेको आरोप लगाए । ‘मेरो नियुक्ति असंवैधानिक भनेर उहाँहरूले अदालतमा जिकिर गर्नुभएको छ । अदालतमा गइसकेपछि यहाँ सहिष्णुता देखाएको भए भइहाल्थ्यो । अदालतले नै निक्र्यौल गर्थ्यो,’ उनले भने, ‘अदालतलाई प्रभाव पार्न यस्तो गर्नुभएको जस्तो देखियो ।’
आफूले सरकारको जिम्मेवारी अनुसार नै नियमित अधिवेशन सञ्चालनको सिफारिस गरेको अधिकारीको तर्क छ । ‘सरकार छ, वर्षे अधिवेशन नियमित रूपमा गर्नुपर्छ । प्रि बजेट ल्याउनुपर्ने छ । सरकारमा जो हुँदा पनि निरन्तर गर्नुपर्ने काम हुन् यी,’ उनले अघि भने, ‘हामी जिम्मेवार भएर अधिवेशन चलाउन खोजेको हो । अदालतलाई प्रभाव पार्न पर्ने नै छैन ।’ संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण