बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु

शुक्रबार, ०७ वैशाख २०८१, १८ : १५
शुक्रबार, ०७ वैशाख २०८१

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफू संविधानको जानकार भएको बताएका छन् । शुक्रबार संसद् परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानको व्यवस्थाभित्रै रहेर विश्वासको मत लिने बताए ।

उनले शुक्रबार विश्वासको मत लिने चर्चा थियो । तर कार्यसूचीमा उक्त प्रस्ताव आएन । विश्वासको मतबाट पछि हटेपछि पत्रकारहरूले विश्वासको मत कहिले लिनुहुन्छ भनेर सोधेका थिए । अधिकारीले जवाफमा भने, ‘चर्चा तपाईँहरूले गराइदिनुभयो धन्यवाद छ । विश्वासको मत त हामीले लिनुपर्छ । संविधानबारे जानकारै छु । संविधानको व्यवस्था अनुसार उपयुक्त समयमा विश्वासको मत लिन्छु । तपाईंहरुलाई थाहा हुन्छ ।’

अधिकारीले आफूसँग बहुमत भएको जिकिर गरे । प्रस्तावहरू पेस गर्न र विश्वासको मतका लागि समेत बहुमत जुटाउन सक्ने उनको दाबी थियो । ‘हामीसँग बहुमत छ, विधेयकको लागि पनि छ, अरू कामको लागि पनि छ । त्यति त बुझ्नुपर्‍यो नि ,’ उनले अघि भने । मुख्यमन्त्रीले आफूहरू लोकतन्त्रमा विश्वास गर्ने भएर नै शुक्रबारको संसद् स्थगित गरेको बताए । ‘हामी लोकतन्त्रमा विश्वास गर्छौं । लोकतन्त्र आफ्नो अनुकूल भए ठिक र प्रतिकुल भए बेठीक भन्ने हुँदैन । उहाँहरूको सम्मान गरेका हौँ हामीले,’ अधिकारीले भने । सभामुख कृष्ण धितालले प्रतिपक्षी सांसदको अनुपस्थितिका कारण बैठक स्थगित गरेका थिए ।

उनले निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूरै समय रहेर राजीनामा दिएकोमा व्यंग्य पनि गर्न भ्याए । ‘तपाईँहरूले जे सोच्नुभएको छ हेरौँ । मैले जब समर्थन फिर्ता भयो अनि विश्वासको मत लिएँ । पर्खेर राजीनामा दिइनँ,’ उनी भन्छन्, ‘म संविधानको पूर्ण कार्यान्वयन होस् भन्ने पक्षमा छु ।’ सर्वोच्चमा परेको मुद्दाबारे अधिकारीले कांग्रेसले अदालतलाई प्रभाव पार्नका लागि बैठक बहिष्कार गरेको आरोप लगाए । ‘मेरो नियुक्ति असंवैधानिक भनेर उहाँहरूले अदालतमा जिकिर गर्नुभएको छ । अदालतमा गइसकेपछि यहाँ सहिष्णुता देखाएको भए भइहाल्थ्यो । अदालतले नै निक्र्यौल गर्थ्यो,’ उनले भने, ‘अदालतलाई प्रभाव पार्न यस्तो गर्नुभएको जस्तो देखियो ।’

आफूले सरकारको जिम्मेवारी अनुसार नै नियमित अधिवेशन सञ्चालनको सिफारिस गरेको अधिकारीको तर्क छ । ‘सरकार छ, वर्षे अधिवेशन नियमित रूपमा गर्नुपर्छ । प्रि बजेट ल्याउनुपर्ने छ । सरकारमा जो हुँदा पनि निरन्तर गर्नुपर्ने काम हुन् यी,’ उनले अघि भने, ‘हामी जिम्मेवार भएर अधिवेशन चलाउन खोजेको हो । अदालतलाई प्रभाव पार्न पर्ने नै छैन ।’ संसद् बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप