शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

शिशु जन्मिएको डेढ घण्टापछि आमाको मृत्यु

सोमबार, १० वैशाख २०८१, २१ : ०३
सोमबार, १० वैशाख २०८१

हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ ।

स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो । देवकोटाले बच्चालाई जन्म दिएको १ः३० घण्टा पछि मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला आइतबार बिहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकीका इञ्चार्ज टिका बोहराले बताइन् । 

इञ्चार्ज बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताइन् । उनले भनिन्, “बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो । बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो ।” 

मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ । गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उनको भनाई छ । यता जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहरासँग परामर्श लिएर बच्चा सकुशल जन्माएको उनले बताइन् । तर दुर्भाग्यबस आमाको मृत्यु भयो । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको उनको भनाइ छ ।

देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् । दुर्गम हुम्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप