शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशसँग पाँच वटा सम्झौता गरेको कतारले नेपालसँग पनि पाँच सम्झौता गर्दै

मङ्गलबार, ११ वैशाख २०८१, १६ : ५९
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बगंलादेशसँग दुई पक्षीय पाँच वटा सम्झौता गरेर मंगलबार नेपाल आइपुगेका छन् ।

बंगलादेश सरकारसँग लगानी, श्रम र बन्दरगाह व्यवस्थापनलगायतका विभिन्न विषयमा सहयोग विस्तार गर्ने गरी पाँच वटा सम्झौता र पाँच वटा समझदारी पत्रमा हस्ताक्षर गरेर उनी नेपाल आइपुगेका हुन् । 

बगांलका प्रधानमन्त्री शेख हसिना र कतारका अमिर शेखको उपस्थितिमा ढाकास्थित प्रधानमन्त्री कार्यालयमा दुई पक्ष बिच हस्ताक्षर भएको थियो ।

नेपालमा पनि पाँच वटा सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको छ । भ्रमणका क्रममा नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा नेपालको राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्यूज एजेन्सी’बिच समाचार आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने तय भएको छ ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ । कतारमा हाल झन्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका अमिर थानी बुधबार नै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप