बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत

बुधबार, ०६ साउन २०८३, १६ : ०२
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र सामूहिक नेतृत्व र बृहत्तर एकताको आवश्यकतामा जोड दिएका छन् ।
  • उनले सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको 'आत्मा' सहित अगाडि बढ्ने चेतावनी दिएका छन् ।
  • डा. महतले १५ औँ महाधिवेशनलाई निष्पक्ष र सबैको सम्मानजनक सहभागिता सुनिश्चित गर्नका लागि निर्वाचित समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई समायोजन गर्नुपर्ने वा दुवै पक्षलाई समेटेर एउटा राजनीतिक संयन्त्र बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र सामूहिक नेतृत्व र बृहत्तर एकताको आवश्यकता औँल्याएका छन् ।

बिपीकाे ४४ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. महतले सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले एकलौटी ढङ्गले अघि बढ्न खोजिए आफूहरू कांग्रेसको ‘आत्मा’ सहित अगाडि बढ्ने चेतावनी दिए। 

नेता महतले कांग्रेसको परम्परा सामूहिक निर्णय प्रक्रिया र सबैको विचारको सम्मान गर्ने रहेको स्मरण गराए । ‘प्राविधिक रूपमा विशेष अधिवेशनबाट नेतृत्वमा आएका गगन थापाले नेपाली कांग्रेस एक्लै चलाउनुभएको छ, जुन कांग्रेसको संस्कार होइन,’ उनले भने, ‘पार्टी सबैको विचारलाई जोडेर र मन्थन गरेर मात्र अगाडि बढ्न सक्छ ।’

१५ औँ महाधिवेशनलाई निष्पक्ष र सबैको सम्मानजनक सहभागिता सुनिश्चित गर्नका लागि उनले ठोस प्रस्ताव अघि सारे । डा. महतले १४ औँ महाधिवेशनबाट निर्वाचित समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई समायोजन गर्नुपर्ने, वा दुवै पक्षलाई समेटेर एउटा राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गरे । ‘सबैलाई समेटौँ भन्नु कसरी नाजायज हुन्छ ? बरु सबैलाई बाहिर राखेर एक्लै गर्छौँ भन्नु कत्तिको जायज हो ?’ महतले भने। 

आफ्नो प्रस्तावलाई नेतृत्वले नजरअन्दाज गरे गम्भीर परिस्थिति सिर्जना हुने सङ्केत गरे । ‘नेतृत्वले केही दिनमा यो वास्तविकता बुझोस् भन्ने हाम्रो चाहना छ । यदि त्यसो भएन भने कांग्रेसको भौतिक शरीर त्यहाँ रहला, तर आत्मा यहाँ रहनेछ र हामी आत्मासहित अघि बढ्नेछौँ,’ उनले भने । 

राजनीतिक एवं सांस्कृतिक सन्दर्भ जोड्दै नेता महतले जननायक बीपी कोइरालाको विचारको चर्चा गरे । ‘ बीपीले राजालाई राख्नुपर्छ भन्नुभएको थियो। अहिले राजा नभए पनि नेपालको मौलिक धर्म, संस्कृति र संस्कारलाई हामीले बचाएर लैजानुपर्छ,’ डा. महतले भने। 

अहिले देशको धर्म(संस्कृतिलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले सबै धर्मावलम्बीहरूबिचचको एकता सुदृढ गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप