तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
सारांश
- मानिसका नजिकका नातेदार चिम्पान्जी र बोनोबोले तनावपूर्ण अवस्थाअघि एकअर्कालाई अँगालो हाल्ने, छुनु, चुम्बन गर्ने र सान्त्वना दिने व्यवहार अपनाउने गरेको नयाँ अध्ययनले देखाएको छ ।
- यस्तो व्यवहारले आपसी विश्वास बढाउनुका साथै सम्भावित द्वन्द्व कम गर्न मद्दत गर्छ र शान्तिपूर्ण सहकार्यलाई बलियो बनाउँछ ।
- यो व्यवहार लाखौं वर्ष पुरानो सामाजिक विकासक्रमको निरन्तरता हुन सक्ने र यसले 'म' भन्दा 'हामी' भन्ने भावना विकास गर्न सहयोग गर्ने अनुसन्धानकर्ताहरूको भनाइ छ ।
काठमाडौँ । मानिसका सबैभन्दा नजिकका जीवित नातेदार मानिने चिम्पान्जी र बोनोबोले तनावपूर्ण अवस्थाअघि एक अर्कालाई अँगालो हाल्ने, छुनु, चुम्बन गर्ने र सान्त्वना दिने व्यवहार अपनाउने गरेको नयाँ अध्ययनले देखाएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार यस्तो व्यवहारले आपसी विश्वास बढाउनुका साथै सम्भावित द्वन्द्व कम गर्न मद्दत गर्छ । बेलायतको डरहम विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गो र जाम्बियास्थित दुई ठुला एप संरक्षण केन्द्रमा रहेका चिम्पान्जी र बोनोबोमाथि अध्ययन गरेका हुन् । अनुसन्धानका क्रममा उनीहरूले वन्य वातावरणमा हुने खानाको प्रतिस्पर्धाजस्तै अवस्था सिर्जना गर्न बदाम (पिनट) प्रयोग गरेका थिए ।
अनुसन्धानका अनुसार खाना आउने संकेत पाएपछि पाँच मिनेटको अवधिमा चिम्पान्जी र बोनोबोले एक अर्कालाई छुनु, अँगालो हाल्नु, चुम्बन गर्नु र अन्य शारीरिक सम्पर्कमार्फत आश्वस्त पार्ने व्यवहार देखाएका थिए । यस्तो व्यवहार गर्ने समूहका सदस्यहरूले पछि शान्तिपूर्ण रूपमा सँगै बसेर खाना खाने सम्भावना बढी रहेको पनि अध्ययनले देखाएको छ ।
अनुसन्धान टोलीकी प्राध्यापक जान्ना क्लेले तनावपूर्ण अवस्थाअघि एपहरू एक अर्कासँग नजिकिने, अँगालो हाल्ने र सान्त्वना दिने व्यवहारलाई फुटबल खेलअघि टोलीका खेलाडीहरूले बनाउने ‘हडल’सँग तुलना गरेकी छन् । उनका अनुसार यो व्यवहारले ‘म’ भन्दा ‘हामी’ भन्ने भावना विकास गर्न सहयोग गर्छ ।
अध्ययनको अर्को रोचक पक्ष के थियो भने, आक्रामक स्वभावका रूपमा चिनिने चिम्पान्जीहरूले पनि एकअर्काप्रति अत्यन्त घनिष्ठ व्यवहार प्रदर्शन गरेका थिए । केही अवस्थामा उनीहरूले एकअर्काको मुखमा औँला राख्ने जस्ता विश्वास र आत्मीयता झल्काउने व्यवहारसमेत देखाएका थिए । अनुसन्धानकर्ताहरूले बढी सहिष्णु समूहहरूमा यस्तो आश्वस्त पार्ने शारीरिक सम्पर्क अझ धेरै देखिएको बताएका छन् । केही समूहमा एकपछि अर्कोले अँगालो हाल्ने ‘रिअस्योरेन्स ट्रेन’ समेत देखिएको थियो, जसले समूहभित्रको एकता र सहकार्यलाई बलियो बनाएको संकेत गर्छ ।
अनुसन्धानमा संलग्न डा. जेक ब्रुकरका अनुसार सामाजिक शारीरिक सम्पर्क भाषा विकास हुनुभन्दा धेरै अघिदेखिको सञ्चारको माध्यम हुन सक्छ ।
चिम्पान्जी, बोनोबो र मानवको साझा पुर्खाबाट करिब ७० लाख वर्षअघि यी प्रजातिहरू छुट्टिए पनि विश्वास र सहकार्य निर्माणका लागि प्रयोग हुने यस्तो व्यवहार अझै कायम रहेको अध्ययनले संकेत गरेको छ । आज मानिसहरूले खेलअघि टोलीसँग अँगालो हाल्ने, साथीको काँधमा हात राख्ने वा तनावपूर्ण अवस्थाअघि एक अर्कालाई सान्त्वना दिने व्यवहार पनि लाखौं वर्ष पुरानो यही सामाजिक विकासक्रमको निरन्तरता हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण