शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप

मङ्गलबार, ११ वैशाख २०८१, १८ : ३५
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले एक सातादेखि गुणस्तर परीक्षणको नाउँमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएकोबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दक्षिण छिमेकी भारत नेपालको सबैभन्दा बढी वैदेशिक व्यापार हुने मुलुक पनि हो ।

नेपालको वैदेशिक व्यापारको करिब दुई तिहाइ हिस्सा ओगटेको भारतले हरेक वर्ष जस्तै नेपाली कृषि उत्पादनको निकासीमा विभिन्न बहानामा रोक लगाएकोप्रति महासंघ आश्चर्य चकित परेको जारी एक विज्ञप्तिमा लेखिएको छ । लामो इतिहास रहेको नेपालको चिया उद्योगले अन्तर्राष्ट्रिय स्तरको परीक्षण ल्याबको अभावमा निर्यातका लागि निकै धेरै चुनौतीहरू भोग्दै आएको छ ।

हरेक वर्ष चिया लगायतका नेपाली कृषि उत्पादनको निर्यातमा विभिन्न गैह्र भन्सार अवरोध खडा गरिदा नेपालले ठुलो मूल्य चुकाउनु परेको छ । विभिन्न समयमा भएका निर्णय तथा वाणिज्य सन्धिको प्रावधान समेतलाई बेवास्ता गर्दै गुणस्तर परीक्षणको बहानामा नेपाली चियाको भारत निकासीमा समस्या खडा गरिनु चिन्ताको विषय हो । भारतले विभिन्न २० वटा नेपाली कृषि वस्तुहरूको भारत निर्यात पूर्व गर्नुपर्ने परीक्षणका लागि नेपालको केन्द्रीय प्रयोगशालालाई नै मान्यता दिने सहमति पनि गरेको थियो ।

यस सम्बन्धमा अगष्ट सन् २०१९ मा सम्पन्न परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा पनि नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड सेफ्टी एण्ड स्टायण्डर्ड अथोरिटी अफ इण्डियाबिच सहमतीपत्रमा हस्ताक्षर समेत भएको थियो । पछिल्लो पटक एक हप्ता अगाडिदेखि भारतले चिया निर्यातमा अवरोध गरेलगत्तै पश्चिम बंगालको पानीट्यांकीमा सिटीसी र अर्थोडक्स चिया बोकेका नेपालका १६ मालवाहक सवारीसाधन बाटैमा अलपत्र अवस्थामा छन् ।

भारतले पहिले ५ प्रतिशत कन्साइमेन्ट परीक्षण गरेपछि चिया निर्यात गर्न पाइने प्रावधान थियो तर अहिले शतप्रतिशत चिया परीक्षण गर्नुपर्ने नियम अघि सारेको छ । यस सम्बन्धमा कुनै लिखित निर्णय समेत जारी नभएको चिया उद्योगीहरूले भनेका छन् । अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड सेफ्टी एण्ड स्टायण्डर्ड अथोरिटी अफ इण्डियाबिचको सहमतिलाई समेत बेवास्ता गरी गुणस्तरको बहानामा निर्यातका लागि पठाइएका नेपाली चिया बोकेका मालबाहक ट्रकहरु भारतीय नाकामा रोकिनु चिन्ताको विषय हो ।

भारतले अहिले लगाउन खोजेको नयाँ नियम पुरा गरेर चिया निर्यात असम्भव जस्तै छ । सम्भव नहुने व्यवस्था लागू गर्न खोज्नु भनेको नेपाली उत्पादनलाई प्रभावित पार्न खोज्नु, निरुत्साहित गर्न खोज्नु हो भन्ने हाम्रो बुझाई छ । नेपाल भारत वाणिज्य सन्धिमा नेपाली साना तथा मझौला उद्योगहरूबाट उत्पादित वस्तुहरूलाई भारतीय उत्पादन सरह व्यवहार गरिने कुरा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप