सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रहरीमा बढुवा

डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल

बुधबार, १२ वैशाख २०८१, १५ : २१
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त भएको छ । वैशाख ३ मा बढुवा समितिले उमेशराज जोशी र भीम प्रसाद ढकाललाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । डीआईजी विकाशराज खनाल ५६ वर्षीय उमेर हदका कारण अवकाशमा गएका छन् । खनालको अवकाश सँगै ३ जना डीआईजीको दरबन्दी रिक्त भएको छ   ।

डीआईजीको रिक्त दरबन्दीमा बढुवा हुन आईजीपीसँगै प्रहरीमा प्रवेश गरेका एसएसपीहरू प्रतिस्पर्धामा छन् । बढुवा हुनुपर्ने सुचिमा भोला बहादुर रावल, ध्रुवराज राउत, गणेश चन्द र कृष्णहरि शर्मा पोखरेल छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक रावल, राउत र चन्द २०५१ चैत ५ मा प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै प्रहरीमा प्रवेश गरेका हुन् । बढुवा सूचीको १ नम्बरमा कृष्णहरि शर्मा पोखरेल छन् । उनी आईजीपी कुँवर भन्दा पछिल्लो ब्याचका हुन् । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार पोखरेल २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेका थिए । पोखरेल २०७७ माघ ९ मा एसएसपी भएका हुन् ।

मेरिट लिस्टको पाँचौँ नम्बरमा सिद्धी विक्रम शाह, छैटौँमा सुशील सिंह राठौर र सातौँ नम्बरमा उमा प्रसाद चतुर्वेदी छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका उनीहरू २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । 

भोला बहादुर रावल र ध्रुब राज राउत २०७८ मङ्सिर १२ मा एसएसपी भएका हुन् ।

जुनियरलाई बढुवा गर्न चलखेल

आईजीपीकै ब्याचका एसएसपीहरू डीआईजी हुने प्रतिस्पर्धामा छन् । तर, रिक्त ३ सिटमा पछिल्लो ब्याचका अधिकृतहरूलाई बढुवा गर्न चलखेल थालिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘नेतृत्व विकाश गर्नुपर्छ’ भन्दै एसएसपी द्वय दान बहादुर कार्की र डा. मनोज केसीलाई बढुवा गर्ने सङ्केत गरेपछि उच्च प्रहरी अधिकृतहरू असन्तुष्ट बनेका छन् ।

एसएसपी द्वय कार्की र केसी २०५४ चैत १८ मा निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् । डा. केसीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा बस्दा भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका थिए । डा. केसी नेतृत्वको टिमले नक्कली भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाउने मुख्य अभियुक्त सानु भण्डारी र केशव दुलालाई पक्राउ गरेर मुद्दा अघि बढाए ।

त्यसबेला काठमाडौँ प्रहरी प्रमुख रहेका कार्कीले मुद्दाको विस्तृत अनुसन्धान गरेर थप आरोपीलाई पक्राउ गर्ने कामको नेतृत्व गरेका हुन् ।

तर, बढुवा सूचीमा माथिल्लो नम्बरमा भएका भन्दा करिब ३ वर्ष पछि सेवा प्रवेश गरेकालाई बढुवा दिँदा ‘फौजी मनोबल कमजोर हुने’ उच्च प्रहरी अधिकृतहरु बताउँछन् । प्रहरी प्रधान कार्यालयका एक जना अधिकृत प्रश्न गर्छन्–‘३ वर्ष जुनियर बढुवा भएर आएपछि फौजमा बस्ने कि छाडेर हिँड्ने ?’ उनीहरू दुवै जना २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप