आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा

नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार

बिहीबार, १३ वैशाख २०८१, १८ : १५
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । कक्षा १२ को परीक्षाका लागि नक्कली परीक्षार्थी खडा गरेको विषयमा अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरिएको छ । काठमाडौँ महानगरपालिकाको शिक्षा महाशाखाले नक्कली परीक्षार्थी खडा गरेको विषय अनुसन्धान गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको हो ।

धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलले नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउने तयारी गरेको थियो । स्कुलका प्रिन्सिपल गोपाल बहादुर महतले नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिलाउने तयारी गरेका थिए । उनले आफ्ना भाइसहित विभिन्न व्यक्तिहरूको परीक्षा फाराममा अर्कै व्यक्तिको फोटो टाँसेर परीक्षा दिलाउन लागेका थिए ।

एक व्यक्तिको परीक्षाको फारममा अर्को व्यक्तिको फोटो टाँसेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएको पाइएको हो । बोर्डका कर्मचारीहरूले समेत रूजु नगरी बोर्डका छाप तथा परीक्षा नियन्त्रकको हस्ताक्षर गरेर सदर गरेको देखिन्छ ।

उक्त स्कुलबाट १२ जनाले कक्षा १२ को वार्षिक परीक्षा दिन परीक्षा फारम भरेका थिए । तीमध्ये ५ जना विद्यार्थीको परीक्षा फारम नक्कली भरेको पाइएको हो ।

प्रिन्सिपल महतले आफ्ना भाइहरू दीपक महत तथा तिलबहादुर महत, प्रशान्त विष्ट, मुकेश चन्द, विवेक न्यौपानेको नाममा नक्कली परीक्षार्थी खडा गरेको पाइएको छ । दीपकको परीक्षा फाराममा विवरण उनको राखेर फोटो भने यसअघि नै २०७९ सालमा पासआउट भएका विद्यार्थी लोकबहादुर भण्डारीको राखेको पाइएको थियो ।

त्यस्तै प्रशान्त विष्टको नाममा २०७८ सालमा पासआउट भएका विद्यार्थी प्रस्ताव केसीको फोटो राखेका थिए । प्रिन्सिपल गोपालका अर्का भाइ तिलबहादुर महतको नाममा कृष्ण भुसालको फोटो टाँसेर परीक्षा बोर्डमा पठाएको पाइएको हो ।

मुकेश चन्द र विवेक न्यौपानेको नाममा समेत अर्कै व्यक्तिको फोटो टाँसेर परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाएको पाइएको थियो ।

काठमाडौँ महानगरको प्रमुख बालेन शाहका स्वकीय सचिव भुपदेप शाहले महानगरमा परेको उजुरीको आधारमा कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको बताए । त्यस्तै आवश्यक अनुसन्धानका लागि राष्ट्रिय परीक्षा बोर्डलाई समेत परिपत्र गरिएको उनको भनाइ छ ।

परीक्षा बोर्डले उक्त विद्यालयका ५ जना बाहेकका विद्यार्थीको हकमा छुट्टै व्यवस्था गरेर परीक्षा दिने व्यवस्था मिलाएको छ । उक्त विद्यालयमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै बोर्डले परीक्षाबाट वञ्चित नहुन भन्ने मनसायबाट छुट्टै व्यवस्था मिलाएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्यालले उक्त विद्यालयमाथि नै अनुसन्धान गर्नुपर्ने देखिएको बताइन् । कक्षा १२ को वार्षिक परीक्षा भोलिदेखि सुरू हुँदैछ । तत्कालको अवस्थामा ५ जना नक्कली विद्यार्थी बाहेक ६ जनाको हकमा परीक्षा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

‘५ जनाको हकमा रजिस्ट्रेसन फाराम र परीक्षा फाराममा फोटो नै फरक परेको देखियो । त्यो बाहेककाहरूमाथि पनि अनुसन्धान गर्नुपर्ने हुनसक्छ । त्यसैले विशेष निगरानी परीक्षा हुन्छ । आवश्यक कारबाहीका लागि काठमाडौँ महानगरले पनि अनुसन्धान गरिरहेको छ,’ सत्यालले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप