आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन

बिहीबार, १३ वैशाख २०८१, २० : ४१
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चैत १५ सम्म भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको भन्दै कर्मचारीहरूसँग असन्तुष्टि व्यक्त गरेका छन् ।  

बिहीबार नेपाल निजामती कर्मचारी संगठनको क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालु आर्थिक वर्षको चैत १५ सम्ममा १९ प्रतिशत मात्रै भौतिक प्रगति हुनु दयनीय अवस्था भएको बताए । उनले आर्थिक समस्या भएको अवस्थामा वित्तीय प्रगति त्यति हुँदा चित्त बुझाउने ठाउँ भएपनि भौतिक प्रगतिमा त्यस्तो नहुने बताए । उनले आयोजनाहरूको आगामी असार १५ गतेसम्म सबै भुक्तानी गराउने तर कार्यतालिका अनुसार द्रुत गतिमा काम गर्न निर्देशन दिए ।

मन्त्री महासेठले आयोजनाहरूको एक चरणको भुक्तानी भएको भन्दै अर्को चरणको पनि चाँडै हुने विश्वास दिलाए । उनले आयोजना प्रमुख र आयोजनामा काम गर्ने कर्मचारीहरू असार मसान्तसम्म कार्यस्थल छोडेर कतै नजान पनि निर्देशन दिए । उनले कार्यतालिका अनुसार असार मसान्तसम्म परिणाम दिनेगरी काम गर्न निर्देशन दिए । 

मन्त्री महासेठले आयोजना छोडेर अनावश्यक रुपमा सरुवा गर्न वा अन्य कामको लागि काठमाडौँमा रहेका आयोजनाका प्रमुख वा कर्मचारीहरूलाई तत्काल कार्यस्थलका पठाउने सचिव तथा आयोजनाका विभागीय प्रमुखहरूलाई निर्देशन दिए । उनले आयोजनामा कार्यतालिका अनुसार काम गर्न काठमाडौँ नआउने निर्देशन गरेकाले तत्काल कुनैपनि कर्मचारीहरूलाई कतै सरुवा नगर्ने प्रतिबद्धता जनाए । उनले ९८ प्रतिशत कर्मचारी सरुवा नगर्ने उल्लेख गरे ।

मन्त्री महासेठले सरकारले निजामती कर्मचारी सम्बन्धी ऐन कर्मचारीहरूको हितमा ल्याउने बताए । उनले उक्त ऐनमा आवश्यक संशोधनको लागि संगठनले कानुनी विज्ञहरूसँग छलफल गरी प्रतिवेदन तयारी पारेर दिन आग्रह गरे । उनले तत्काल कर्मचारी ऐन ल्याउने पक्षमा सरकार रहेको बताए । उनले निजामती कर्मचारीहरूलाई प्रतिकुल हुनेगरी ऐन पास नहुने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप