सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

फोटोमा रेशम–रञ्जिताको मिलाप, राजनीतिमा विलाप

आइतबार, १६ वैशाख २०८१, १५ : ४८
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा पछिल्लो दुई महिनादेखि मच्चिएको रडाको रोकिएको छैन । संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले मिलाप गरेको तस्बिर सार्वजनिक गर्दै मन माझामाझको सन्देश दिन खोजे पनि पार्टीभित्रको विवाद भने कायम रहेको हो ।

फागुन २१ मा सत्ता समीकरण फेरिएपछि नाउपाका संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठबिच मतभेद पैदा भएको थियो । एमालेसहितको नयाँ समीकरणलाई रञ्जिताले साथ दिँदा रेशम विपक्षमा उभिए । रेशमको सल्लाह विपरीत रञ्जिताको जोडबलमा नाउपाले फागुन ३० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दियो ।

सुदूरपश्चिम प्रदेश सरकारबारे पनि रेशम र रञ्जिता आमने–सामने भए । पार्टीका बैठकमा पनि रेशम र रञ्जिता पक्षबिच धक्कामुक्का भयो । कांग्रेसका कमलबहादुर शाहको तत्कालीन सरकारबाट हट्न रञ्जिताले दिएको निर्देशनलाई रेशमको बलमा प्रदेश सांसदले अवज्ञा गरे । नयाँ सरकार बनाउने बेला पनि नाउपा दुई भागमा विभाजित भयो ।

रञ्जिता निकट कैलाश चौधरीले एमाले र माओवादीको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेस गर्दा रेशम पक्षीय लक्ष्मणकिशोर चौधरीले कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा दाबी पेस गरे । 

प्रदेश प्रमुख नजिर मियाँले एउटै दलबाट मुख्यमन्त्रीमा दुई जनाले पेस गरेको दाबीलाई बदर गरिदिए । योसँगै सुदूरपश्चिम प्रदेशको नेतृत्व नाउपाले गुमायो । अहिले नाउपाको रञ्जिता पक्ष, एमाले, माओवादीको समर्थनमा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका छन् ।

त्यसविरुद्ध रेशम पक्ष सर्वोच्च अदालत पुगेको छ । यता पार्टी नेतृत्वको विषयमा रेशम र रञ्जिता एक अर्काविरुद्ध सर्वोच्च पुगेका छन् ।

नाउपाको पहिलो महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनेका रेशमलाई निर्वाचन आयोगले अयोग्य ठहर गरेपछि रञ्जिताको हात माथि परेको छ । महाधिवेशनमा आफूले सह–अध्यक्ष बनाएकी रञ्जितालाई निर्वाचन आयोगले अध्यक्षमा फर्काइदिएपछि रेशम विक्षिप्त देखिन्छन् ।

योबिचमा सत्ता राजनीतिको खेलमा नाउपा यसरी दुई धारमा मात्र बाँडिएन, रेशम र रञ्जिताको दाम्पत्य जीवनमै आशङ्का जन्मायो । रेशमले श्रीमती रञ्जितालालाई सम्झाउन नसकेको बिलाप मिडिया र फेसबुकमा पोखे ।

वैशाख ८ मा लामो स्टाटस लेख्दै रेशमले ‘एक आपसमा मन माझौँ । मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ’ भनेर रञ्जितालाई आग्रह गरेका थिए ।

रञ्जिताले ‘मेरो राजा’ भन्दै रेशमको वैवाहिक सम्बन्धमा समस्या नरहेको सन्देश दिने प्रयास गरिरहेकी छन् ।

हिजो (शनिबार) रेशमले महासचिव ठाकुर सिङ थारुलाई साक्षी राखेर ‘पार्टी र सरकार दुवै तिमी चलाउ’ भन्ने रञ्जिताको आग्रहलाई स्वीकार गरेको भन्दै सामुहिक फोटो पोस्ट गरेका थिए । रेशमको उक्त पोस्टलाई रञ्जिताले पनि शेयर गरेकी छन् ।

शनिबार ११ बजेर २२ मिनेटमा ‘हामी छिटै लुम्बिनी र सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ’ भनेर रेशमले अर्को स्टाटस पोस्ट गरेको भेटिन्छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा नाउपाले साथ जोड्दा सरकार जोगिन कठिन छ । नाउपाका लुम्बिनीमा ४ र सुदूरपश्चिममा ७ सांसद छन् । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा र सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई नाउपाको साथविना बहुमत पुग्दैन । 

रञ्जिताले आइतबार बिहान ‘दृश्य एक वर्णन अनेक’ लेखेर शनिबार रेशमसँग भेटेको फोटो पोस्ट गरेकी छन् । उनले ‘श्रीमान संरक्षक, सल्लाहकार, सबै सबै तिमी’ भन्दै रेशमलाई मेन्सन पनि गरेकी छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट नाउपाले समर्थन फिर्ता लिने रेशमको घोषणामा रञ्जिताले अनभिज्ञता प्रकट गरिन् ।

रातोपाटीसँग उनले भनिन्, ‘यहाँले समर्थन फिर्ता लिन्छु भनेर लेख्नु भयो र ? मैले लेखेको छैन । आधिकारिक केही आएको छैन,’ उनले भनिन् । लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने ठाउँमा पार्टी नपुगेको उनको भनाइ छ ।

बरु नाउपा केन्द्रीय सरकारमा सहभागी हुने तयारीमा रहेको रञ्जिताले बताइन् । ‘छिटै केन्द्रीय सरकारमा जाँदैछौँ । मैले सरकारमा जादिनँ भनेको छु । के हुन्छ हेरौँ न ! म नगए अर्को साथी जानुहुन्छ,’ उनी भन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप