सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुलका स्ट्राइकर मोहम्मद सलाह भन्छन्- ‘मैले बोलेँ भने आगो लाग्नसक्छ’

आइतबार, १६ वैशाख २०८१, १७ : ४७
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप र स्ट्राइकर मोहम्मद सलाहबिचको विवाद सतहमा आएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार खेलिएको लिभरपुल र वेस्ट हामबिचको खेलका क्रममा प्रशिक्षक क्लोप र स्ट्राइकर सलाहबिच बहस भएको थियो ।

उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो । सलाह निर्धारित समयको ७९ औँ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका थिए । सोही क्रममा प्रशिक्षक क्लोप र सलाहबिच बहस भएको थियो ।

प्रशिक्षक क्लोपले सलाहसँग भएको बहसको विषयमा केही बताउन चाहेका छैनन् । लिभरपुलका पूर्वस्ट्राइकर पिटर क्राउचले भने प्रशिक्षक क्लोप र स्ट्राइकर सलाहबिच देखिएको विवादले कुनै पनि हालतमा क्लबको भलो नगर्ने प्रतिक्रिया दिएका छन् ।

‘सलाह टोलीका प्रभावशाली खेलाडी हुन् । उनले क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यस्तो स्थितिमा उनलाई बेञ्चमा राख्दा चित्त दुखाउनु स्वभाविक हो,’ पिटर क्राउचले भनेका छन्, ‘तर, कसैले पनि प्रशिक्षक र खेलाडीबिच यस्तो स्थिति आओस् भन्ने चाहँदैन ।’

परिवर्तित खेलाडीका रुपमा सलाहलाई मैदानभित्र प्रवेश गराउँदा प्रशिक्षक क्लोपले केही कुरा भनेका थिए । सोही विषयलाई लिएर सलाह रिसाएको अनुमान गरिएको छ । तर, यो विषयमा कसैले केही बताउन चाहेको छैन ।

प्रशिक्षक क्लोप र सलाहबिच बहस भएपछि टोलीका अन्य दुई खेलाडी डोर्बिन नुनेज र जो गोमेजले सलाहलाई तानेर लगेका थिए । नुनेज र गोमेजले हस्तक्षेप नगरेको भए क्लोप र सलाहबिचको बहस अझ बढ्दै जाने थियो । नुनेज र गोमेजलाई पनि प्रशिक्षक क्लोपले सलाहसँग परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गराएका थिए । वेस्ट हामविरुद्धको आफ्नो पछिल्लो खेलमा अंक बाँड्नु परेपछि उपाधि होडमा लिभरपुल पछाडि परेको छ ।

हालसम्म ३५ खेल खेलेको लिभरपुल ७५ अंकसहित तेस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा आसिन आर्सनलले ३४ खेलबाट ७७ र दोस्रो स्थानमा आसिन म्यानचेस्टर सिटीले ३३ खेलबाट ७६ अंक जोडेका छन् ।

प्रशिक्षक क्लोपसँगको विवादको विषयलाई लिएर सञ्चारकर्मीहरुले सलाहसँग प्रश्न गरेका थिए । त्यसको जवाफमा सलाहले भनेका छन्, ‘यदि मैले केही बोलेँ भने आगो लाग्न सक्छ ।’ प्रशिक्षक क्लोपले पनि यो विषयमा आफूले ड्रेसिङ रुममा सलाहसँग कुरा गरिसकेको बताएका छन् ।

प्रशिक्षक क्लोपले यो सिजनको समाप्तिसँगै लिभरपुल छाड्ने भएका छन् । ५६ वर्षीय क्लोप सन् २०१५ मा लिभरपुलको प्रशिक्षक बनेका थिए । लिभरपुलमा सलाहको भविष्यको विषयलाई लिएर पनि विभिन्न चर्चा हुँदै आएको छ ।

लिभरपुलका लागि सलाहले तीन सय ४६ खेल खेल्दै दुई सय १० गोल गरिसकेका छन् । लिभरपुलसँग उनको सम्झौता अर्को सिजनमा सकिँदै छ । सलाह लिभरपुल छाडेर साउदी अरेबियाको क्लबमा आबद्ध हुने चर्चा छ । इजिप्टका स्ट्राइकर सलाह सन् २०१७ मा लिभरपुलमा आबद्ध भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप