शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

अन्तर्राष्ट्रिय व्यापारमा २९ भन्सार नाका प्रयोगमा, कुनबाट कति हुन्छ आयात–निर्यात ?

आइतबार, २३ वैशाख २०८१, ०७ : ४२
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय व्यापारमा प्रयोगमा रहेका २९ वटा भन्सार नाकामध्ये अधिकांश आयातका लागि मात्रै प्रयोगमा छन् । चालू आर्थिक वर्ष २०८०-८१ को ९ महिनाको अवधिको तथ्याङ्क केलाउँदा २९ वटै नाकाबाट आयात हुने र निर्यात भने १७ वटा नाकाबाट मात्रै हुने गरेको पाइएको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय व्यापारका लागि सञ्चालनमा रहेका सबै नाकाबाट आयात हुन्छ । तर १२ वटा भन्सार नाकाबाट निर्यात शून्यमा छ । अर्थात १७ वटा नाकाबाट मात्रै निर्यात हुने गरेको छ । यो तथ्याङ्कले अन्तर्राष्ट्रिय व्यापारमा नेपालको उपस्थिति राम्ररी झल्काउँछ ।

चालू वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा भद्रपुर, चोभार, गौतमबुद्ध विमानस्थल, जनकपुर, महेशपउर, पोखरा, राजविराज, सिराहा, सुनसरी, सुथौली, टाँडी र त्रिवेणी नाकाबाट शून्य निर्यात छ । जबकी यी नाकाबाट आयात भने उल्लेख्य छ । शून्य निर्यात भएका नाकामध्ये भद्रपुरबाट ७० करोड रुपैयाँको आयात भएको छ । 

यस्तै चोभार भन्सारबाट ८० करोड ४१ लाख रुपैयाँको वस्तु आयात हुँदा गौतमबुद्ध विमानस्थलबाट ९१ करोड ४१ लाख रुपैयाँको वस्तु आयात भएको छ । यसबाहेक जनकपुरबाट १ अर्ब १० करोड रुपैयाँको आयात भएको छ भने महेशपौर नाकाबाट ३१ करोड ४९ लाख रुपैयाँको आयात हुँदा पोखराबाट २७ करोड रुपैयाँको आयात भएको छ भने राजविराजबाट २७ करोड रुपैयाँको नै आयात भएको छ । सिराहाबाट २२ करोड २८ लाख, सुनसरीबाट १ करोड ४१ लाख, सुथौलीबाट १ अर्ब ७८ करोड, टाढीबाट २ करोड र त्रिवेणी भन्सार कार्यालयबाट २ लाख रुपैयाँभन्दा बढीको आयात भएको छ ।

1

वीरगन्जबाट हुन्छ सबैभन्दा धेरै आयात

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले आयात गर्ने खर्बौ रुपैयाँको वस्तु सबैभन्दा धेरै वीरगन्ज नाकाबाट आउँछ । चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) सम्ममा ११ खर्ब ६७ अर्बको आयात भएको छ । यसमध्ये ४ खर्ब २ अर्ब १० करोड रुपैयाँको वस्तु सोही नाकाबाट आयात भएको छ । यसपछि भैरहवा नाकाबाट १ खर्ब ७७ अर्ब ६५ करोड रुपैयाँको र विराटनगरबाट १ खर्ब २६ अर्ब ६७ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

यस्तै सुख्खा बन्दरगाहबाट १ खर्ब ५६ अर्ब १६ करोड रुपैयाँको वस्तु आयात हुँदा कैलालीबाट १६ अर्ब ८९ करोड, कृष्णनगरबाट १५ अर्ब ९१ करोड र मेची भन्सारबाट ३२ अर्ब २० करोड, नेपालगन्जबाट ५३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब २ अर्ब ६२ करोड रुपैयाँको वस्तु आयात हुँदा तातोपानी भन्सारबाट २६ अर्ब ६३ करोड रुपैयाँको वस्तु भित्रिएको छ ।

निर्याततर्फ टीआईएको हिस्सा सबैभन्दा धेरै

आयाततर्फ वीरगन्ज नाकाबाट सबैभन्दा धेरै वस्तु भित्रिने गरेपनि निर्याततर्फ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाका (टीआईए) विराटनगरबाट धेरै वस्तु जाने गरेको छ । तथ्याङ्कअनुसार यो ९ महिनाको अवधिमा टीआईएबाट २५ अर्ब ६० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । विराटनगरबाट २३ अर्ब १५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यसपछि वीरगन्जबाट २२ अर्ब ६३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

यता भैरहवाबाट १० अर्ब २२ करोड रुपैयाँको निर्यात हुँदा मेची भन्सारबाट १८ अर्ब ५९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यसपछि सुख्खाबन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, नेपालगन्ज, रसुवा र सर्लाही लगायतका नाकाबाट समेत अर्ब रुपैयाँभन्दा बढीको निर्यात हुने गरेको तथ्याङ्क छ ।

निर्यात हुने नाकाको सूचीमा परेपनि केही नाकाको निर्यात लाखमा छ । तातोपानीबाट ७१ लाख रुपैयाँको वस्तु निर्यात हुँदा साटी भन्सारबाट ३ लाख ६० हजारको निर्यात भएको छ भने यो अवधिमा गौर नाकाबाट २५ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप