आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ

सोमबार, २४ वैशाख २०८१, १२ : ३९
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका-३  बाट पक्राउ गरेको हो । 

श्याम बाबु समेतले पीडितलाई नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा कुवेत पठाइदिने भनी झुक्याई २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पुर्‍याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एअरपोर्टमा देखाउने कागजातहरू समेत फरक-फरक बनाई पठाएको, कुवेतको एअरपोर्टमा पुगे पश्चात् जाहेरवालाको सक्कल नेपाली राहदानी लगायतका कागजातहरू नियन्त्रणमा लिई श्रीलंकन मूलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पुर्‍याई बेचबिखन गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनी आग्रह गर्दा ५ लाख रकम माग गरेको  र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी श्याम बाबु समेतले उपलब्ध गराएको खातामा ३ लाख रकम जम्मा गरे पश्चात् पीडित कुवेतबाट २०७९ फागुन २१ गते नेपाल फर्कन सफल भएका थिए । 

उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप