फुटबलबाट भीएआरको ‘स्लो–मोशन’ र ‘फ्रिज फ्रेम’लाई बिदा गर्नुपर्ने समय आएकै हो ?
फुटबलमा भिडियो सहायक रेफ्री (भीएआर)ले स्थिर तस्बिर प्रस्तुत गर्नेबित्तिकै अपिल जारी गर्ने पक्षको तर्क स्पष्ट देखिन्छ ।
जारी विश्वकप फुटबल अन्तर्गत अमेरिकी फरवार्ड फोलारिन बालोगुनले बलका लागि सङ्घर्ष गर्ने क्रममा बोस्निया एन्ड हर्जेगोभिनाका डिफेन्डर तारिक मुहारेमोभिचको खुट्टाको एंकलमाथि जोडका साथ पाइला राखेजस्तो देखिन्छ ।
विपक्षी खेलाडीको खुट्टा अस्वाभाविक रूपमा बाङ्गिएको छ र शरीर हल्का दायाँतर्फ चिप्लिरहेको छ । यस्तो दृश्यले हेर्नेबित्तिकै दर्शक झस्किन्छन् र नजर अन्तै मोड्न खोज्छन् ।
डिफेन्डर कसरी भुइँमा खसेका छन् र सम्पर्क भएको स्थान हेर्दा त्यो ट्याकलले गम्भीर चोट निम्त्याउन सक्ने अनुमान गर्न धेरै सोचिरहनु पर्दैन । मुहारेमोभिच पीडाले छट्पटाउँदै मैदानमा ढलेका दृश्यले त्यस धारणालाई अझ बलियो बनाउँछ ।

मैदानमा रहेका रेफ्रीलाई देखाइएको दोस्रो रिप्लेमा बालोगुनले विपक्षी खेलाडीलाई छोएको क्षण स्लो–मोशनमा देखाइन्छ । तेस्रो रिप्लेमा सुरुमा सामान्य गतिमा दृश्य देखाइए पनि सम्पर्क भएको क्षणमा भिडियो रोकिन्छ र त्यसपछि पुनः स्लो–मोशनमा चलाइन्छ । यसले घटनालाई बालोगुनका लागि सम्भव भएसम्म सबैभन्दा प्रतिकूल ढङ्गले प्रस्तुत गर्छ ।
त्यसपछि सामान्य गतिमा टाढाबाट खिचिएका थप दुई रिप्ले पनि देखाइन्छन् । ती दृश्यले भने यो घटना डिफेन्डर र फरवार्डबिच लुज बलका लागि भएको सामान्य धकेलाधकेल र प्रतिस्पर्धाजस्तो देखाउँछ, तर त्यतिन्जेलसम्म ब्राजिली रेफ्री राफाएल क्लाउसले आफ्नो निर्णय लगभग पक्का गरिसकेकोजस्तो देखिन्थ्यो ।
रेफ्रीलाई उपलब्ध गराइएका दृश्यहरूका आधारमा अमेरिकाको राष्ट्रिय टोलीका प्रमुख स्ट्राइकरलाई रातो कार्ड देखाउने निर्णय बुझ्न सकिने खालको थियो । स्लो–मोशन र स्थिर तस्बिरबाट हेर्दा यो ट्याकल ‘गम्भीर फाउल’ को स्तरमा पुगेको जस्तो देखिन्थ्यो र विपक्षी खेलाडीलाई गम्भीर खतरा पु¥याएको निष्कर्ष निकाल्न सकिन्थ्यो ।
फिफाको निर्णायक रेफ्रीको तहमा बसेकाहरूले यसलाई स्पष्ट र अन्तिम निर्णयको विषय मान्न सक्छन्, तर अधिकांश दर्शक र कुनै पनि स्तरमा फुटबल खेलेकाहरूका लागि भने यो न्याय सम्पादनमा भएको गम्भीर त्रुटि थियो ।
किनभने फुटबल स्लो–मोशनमा वा स्थिर तस्बिरमा खेलिने खेल होइन । यो उच्च गतिमा निरन्तर चलिरहने खेल हो ।
फुटबलका अधिकांश नियम व्यक्तिपरक छन् र ती खेलको गतिलाई महसुस गर्न सक्ने, उचित स्थानमा रहेका मैदानका रेफ्रीले तत्कालीन अवस्थाको मूल्याङ्कन गरेर लागु गर्ने उद्देश्यले बनाइएका हुन् । ती नियम स्टुडियोमा बसेर कछुवाको गतिमा अनगिन्ती क्यामेरा एङ्गलबाट विश्लेषण गर्न बनाइएका होइनन् ।
रेफ्रीले मैदानमा वास्तविक गतिमा देखेको घटनालाई पछि फरक गतिमा देखाउनु भनेको निर्णय प्रक्रियालाई विकृत बनाउनु हो । यसले घटनाको सन्दर्भलाई लत्याइदिन्छ ।
स्लो–मोशनले आकस्मिक रुपमा ठोक्किनुलाई पनि योजनाबद्ध आक्रमणजस्तो देखाउन सक्छ । सामान्य फाउल पनि भयावह ट्याकलमा परिणत भएको आभास हुन सक्छ ।
यस्तै अर्को प्रश्न पनि उठ्छ– के मैदानका रेफ्रीलाई वास्तवमै आफ्नो निर्णय पुनरवलोकन गर्न मोनिटरमा पठाइन्छ वा भिडियो अधिकारीहरूले लगभग अन्तिम निर्णय गरिसकेपछि त्यसमा औपचारिक सहमति जनाउन मात्रै पठाइन्छ ?
यो शंका अझ बलियो हुन्छ जब रेफ्रीलाई सुरुमा देखाइने दृश्य नै सबैभन्दा दोषी देखिने स्थिर फ्रेम हुन्छ । निर्णय प्रक्रियामा पहिलो दृश्यले सबैभन्दा ठुलो प्रभाव पार्ने भएकाले यस्तो अभ्यास निष्पक्ष विश्लेषणका लागि उचित मान्न सकिँदैन ।
बालोगुनको घटनामा पनि फ्रिज फ्रेम र स्लो–मोशनले सबैभन्दा महत्त्वपूर्ण सन्दर्भ नै हटाइदियो ।
यो वास्तवमा एन्टोनी रोबिन्सनले अगाडि पठाएको साधारण पास थियो । दुई खेलाडी बलका लागि प्रतिस्पर्धा गरिरहेका थिए । बोस्नियाली डिफेन्डर बालोगुनको अगाडि पुगेपछि सन्तुलन गुमाएका बालोगुन दुर्भाग्यवश विपक्षीको एंकलमाथि खस्न पुगे । अनि त्यो स्पष्ट रूपमा नियतवश गरिएको थिएन ।
फुटबलका नियमहरूले खेलाडीको नियतलाई आधार मान्दैनन् । त्यसैले नियमको अक्षरशः व्याख्या गर्ने हो भने फिफाका रेफ्रीहरूले यसलाई गम्भीर फाउल मानेर रातो कार्ड उचित ठहर गर्न सक्छन् ।
तर त्यसो गर्दा खेलको वास्तविक भावना, खेलको प्रवाह र मैदानमा उपस्थित सबैले अनुभव गरेको सन्दर्भ हराउँछ ।
त्यस क्षणमा मैदानमा रहेका कसैलाई पनि (मुख्य रेफ्रीलाई समेत) यो घटना रातो कार्ड योग्य लागेन । अझ यसकै कारण बालोगुनले बेल्जियमविरुद्धको राउन्ड अफ १६ खेल गुमाउनुपर्ने अवस्था सिर्जना भयो । स्पष्ट रूपमा हेर्दा अपराधभन्दा सजाय धेरै ठुलो भयो ।
बोस्नियाका केही खेलाडीले घाइते साथीको चिन्ता व्यक्त गरे पनि बालोगुनलाई कडा कारबाही गर्नुपर्ने ठुलो दबाब कसैले दिएन । त्यो अवस्था त भिडियो अधिकारीहरूले हस्तक्षेप गरेपछि मात्रै सिर्जना भयो ।
धेरै हिसाबले यो फुटबलको स्वाभाविक शारीरिक प्रतिस्पर्धाको एउटा हिस्सा थियो । यस्तो खेलमा कहिलेकाहीँ कसैको पनि दोषबिना खेलाडी घाइते हुन सक्छन् ।
सामान्य रातो कार्डका घटनामा हामी स्पष्ट रूपमा भन्न सक्छौँ कि फलानो खेलाडीले यस्तो नगरेको भए हुन्थ्यो वा उसले गल्ती ग¥यो । तर यस घटनामा त्यो अवस्था थिएन । यसलाई धेरैमा असावधानीपूर्ण खेल भन्न सकिन्थ्यो र बढीमा पहेंलो कार्ड योग्य मान्न सकिन्थ्यो । त्यो पनि वास्तविक घटनाभन्दा दृश्य डरलाग्दो देखिएकाले ।
अर्को महत्त्वपूर्ण प्रश्न पनि उठ्छ– के भीएआरले स्लो–मोशन रिप्लेको प्रयोग अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) ले तोकेको मापदण्डअनुसार गरेको छ त ?
आईएफएबीको मार्गनिर्देशनमा भनिएको छ, ‘भीएआरले भिडियो सामान्य गति वा स्लो–मोशन दुवैमा हेर्न सक्छ, तर सामान्यतया स्लो–मोशन केवल तथ्य पुष्टि गर्न प्रयोग गर्नुपर्छ । जस्तैः अफसाइडको स्थान, खेलाडीको स्थिति, शारीरिक सम्पर्क भएको स्थान, ह्यान्डबल वा बल मैदानबाहिर गएको अवस्था । तर फाउलको तीव्रता वा ह्यान्डबलको प्रकृति मूल्याङ्कन गर्दा सामान्य गति प्रयोग गर्नुपर्छ ।’
यस घटनामा ‘सामान्यतया’ भन्ने शब्दले निकै ठुलो अर्थ बोकेको देखिन्छ । रेफ्रीहरूले स्लो–मोशन सम्पर्क भएको स्थान देखाउन प्रयोग गरिएको तर्क गर्न सक्छन् । तर पटक–पटक स्लो–मोशन प्रयोग गर्नु आईएफएबीको मार्गनिर्देशनको मूल भावना विपरीत देखिन्छ । यसले फाउलको गम्भीरतालाई वास्तविकताभन्दा बढी देखाउने काम गरेको जस्तो देखिन्छ ।
फुटबलको इतिहासमा ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा भएका विवादास्पद घटनाले नियम परिवर्तनको बाटो खोल्ने गरेका छन् ।
सन् १९९० को इटाली विश्वकपमा समय खेर फाल्ने प्रवृत्ति बढेपछि १९९२ मा ब्याकपास नियम लागु गरियो, जसले टोली साथीले खुट्टाले दिएको बल गोलरक्षकले हातले समात्न नपाउने व्यवस्था गर्यो ।
त्यसैगरी, २०१० विश्वकपमा जर्मनीविरुद्ध फ्रान्क ल्याम्पार्डको स्पष्ट गोल नमानिएपछि २०१२ मा गोललाइन प्रविधि लागु गरियो ।
अब फिफाले पनि बालोगुनको घटनालाई परिवर्तनको अर्को महत्त्वपूर्ण मोडका रूपमा लिनुपर्छ । स्लो–मोशन र फ्रिज फ्रेमको अन्यायपूर्ण तथा भ्रम सिर्जना गर्ने प्रयोगको अन्त्य गर्ने समय आइसकेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण