आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद

दशरथ रंगशाला प्रकरण : नेपाली खेलकुदको यो कस्तो ताल !

मङ्गलबार, २५ वैशाख २०८१, २१ : ०४
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको स्तर सुधार गर्न पत्राचार गरेपछि युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले रंगशालाको स्तरोन्नतीमा भएको कामको प्रगति विवरण पाँच दिनभित्र उपलब्ध गराउन सम्बद्ध खेल निकायका पदाधिकारीहरूलाई कडा निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठले सम्बद्ध खेल अधिकारीहरूसँग मंगलबार दुई चरणमा भएको छलफलपछि यस्तो निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले दोस्रो चरणमा मंगलबार साँझ दशरथ रंगशालामा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, सदस्य अञ्जन धमला, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजबिक्रम नेम्वाङ र राखेपका प्राविधिक कर्मचारीहरुसँगको छलफलपछि गरेका थिए ।

‘यो राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय हो । यसमा कुनै बहाना बनाउने प्रयास कसैले नगर्नु होला । फिफा र एएफसीको चित्त बुझाउने गरी रंगशालाको स्तरोन्नतीमा भएको कामको विवरण पाँच दिनभित्र मन्त्रालयमा बुझाउनु होला,’ मन्त्री श्रेष्ठले सम्बद्ध खेल अधिकारीहरूसँग छलफलपछि भने । 

यसअघि खेलकुदमन्त्री श्रेष्ठले मंगलबार बिहान मन्त्रालयमा छलफलका लागि राखेप र एन्फाका पदाधिकारीलाई बोलाएका थिए । उक्त छलफलमा एन्फाका अध्यक्ष नम्वाङ उपस्थित भए पनि राखेपका सदस्यसचिव भने अनुपस्थित रहेका थिए । राखेपका प्रतिनिधिले उक्त छलफलमा भाग लिएका थिए । पहिलो छलफल निश्कर्षविहीन रूपमा सकिएपछि साँझमा मन्त्री श्रेष्ठ आफै दशरथ रंगशाला पुगेका थिए । 

साँझको छलफलका क्रममा राखेपका प्राविधिकहरूले मन्त्री श्रेष्ठलाई फ्लड लाइट, मैदान र समग्र रंगशालाको अवस्थाको बारेमा जानकारी गराएका थिए । एन्फा अध्यक्ष नेम्वाङले पनि एएफसीबाट प्राप्त पत्रको विषयमा मन्त्रीलाई जानकारी गराएका थिए । 

dasharath-stadium

दशरथ रंगशालाको रेखदेख हाल राखेपले आफ्नै अधीनमा लिएको छ । फिफा र एएफसीले दशरथ रंगशालाको स्तर सुधार गर्न एन्फासँग पत्राचार गरेको थियो । खासगरी एएफसीले दशरथ रंगशाला निकै पुरानो भएकाले दर्शक र खेलाडीको सुरक्षा, मैदान र फ्लड लाइटको बारेमा चासो व्यक्त गरेर पत्र पठाएको हो ।

एक साताअघि एएफसीका प्राविधिकले दशरथ रंगशालाको निरीक्षण गरेका थिए । प्राविधिकले रंगशालाको विषयमा आफ्नो प्रतिवेदन बुझाएपछि एएफसीले एन्फालाई पत्राचार गरी तत्काल दशरथ रंगशालाको स्तर सुधार गर्न सुझाव दिएको थियो । एएफसीबाट यस्तो पत्र प्राप्त भएपछि एन्फाले त्यसको जानकारी मन्त्रालय र राखेपमा गराएको थियो ।

दशरथ रंगशाला नेपालको एक मात्र अन्तर्राष्ट्रिय रङ्गशाला हो । फुटबलका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता यही रंगशालामा आयोजना हुँदै आएका छन् । फिफा र एएफसीले लामो समयदेखि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाउँदै एन्फालाई पटक–पटक स्तर सुधार गर्न सुझाव दिँदै आएको छ । 

सन् १९९९ मा नेपालमा आयोजित आठौँ दक्षिण एसियाली खेलकुदका क्रममा चीन सरकारले दशरथ रंगशालामा डिजिटल स्कोर बोर्ड र ‘फ्लड लाइट’ जडान गरिदिएको हो । आठौँ दक्षिण एसियाली खेलकुदलाई नै ध्यानमा राखी चीन सरकारले सातदोबाटोस्थित खेलकुद परिसरमा पौडी पोखरी र सुटिङ रेन्जलगायतका पूर्वाधार पनि निर्माण गरिदिएको थियो ।

‘यूएईविरुद्धको खेल नेपालमै हुनुपर्छ’

Biraj Bhakta Shrestha

मन्त्री श्रेष्ठले निकट भविष्यमा हुने विश्वकप छनोटको नेपाल र यूएईबिचको खेल घरेलु मैदानमै खेलाउने वातावरण बनाउन पनि निर्देशन दिएका छन् । नेपालले अर्को महिना घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग विश्वकप छनोट खेल्ने कार्यक्रम रहेको छ । 

तर, एएफसीले भने अनुसार, दशरथ रंगशालाको स्तरोन्नती नगरिए उक्त खेल नेपालमा हुने सम्भावना कम देखिन्छ । यसअघि विश्वकप छनोटअन्तर्गत नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्नु पर्ने खेल पनि नेपालमा हुन सकेको थिएन । नेपालले बहराइनविरुद्धको ‘होम’ र ‘अवे’ दुबै खेल बहराइनकै घरेलु मैदानमा खेलेको थियो ।

‘राखेपमा यति धेरै कर्मचारी हुनुहुन्छ । मन्त्रालयलाई प्राप्त हुने बजेटको सबैभन्दा ठुलो हिस्सा पनि राखेपमै आउँछ । दशरथ रंगशालाको रेखदेखको जिम्मेवारी पनि राखेपकै हो । संघहरुको नियमन गर्ने कार्य पनि राखेपकै हो । मन्त्रालयले त समन्वयकारी भूमिका खेल्नेमात्र हो । अब एकअर्काको टाउकोमा दोष थोपरेर हुँदैन । अझै पनि समय छ । विश्वकप छनोटको यूएईविरुद्धको खेल नेपालमै हुनुपर्छ । द्रुत गतिमा काम अगाडि बढाउनहोस्,’ मन्त्री श्रेष्ठले भने ।

एन्फाका अध्यक्ष नेम्वाङले पनि नेपाल र यूएईबिचको विश्वकप छनोट खेल घरेलु मैदानमा खेलाउन सक्ने सम्भावना बाँकी नै रहेको बताए । ‘अझै पनि अवस्था बिग्रिएको छैन । समय पनि बाँकी छ । हामी पनि एएफसीसँग छलफल गरिरहेका छौँ । द्रुत गतिमा काम अघि बढ्यो भने त्यो खेल नेपालमै खेलाउन सकिन्छ,’ अध्यक्ष नेम्वाङले भने ।

सदस्यसचिव भन्छन्, ‘रंगशाला निरीक्षण गरेकै थाहा छैन’

राखेपका सदस्यसचिव घिसिङ भने छलफलका क्रममा एएफसीका प्राविधिकले दशरथ रंगशालाको निरीक्षण गरेको विषयमा आफूहरुलाई कुनै जानकारी नरहेको बताए । उनले एन्फा अध्यक्षलाई पनि यस विषयमा प्रश्न गरे ।

‘एएफसीका प्राविधिकले रंगशालाको निरीक्षण गरेको विषयमा तपाइँहरुले राखेपलाई जानकारी गराउनु भएको थियो ?’ सदस्यसचिव घिसिङले एन्फा अध्यक्ष नेम्वाङलाई प्रश्न गरे । त्यसको जवाफमा एन्फा अध्यक्ष नेम्वाङले राखेपलाई यस विषयमा पहिले नै जानकारी गराएको जवाफ  फर्काए ।

‘हामीले राखेपलाई जानकारी गराएका थियौँ । राखेपले दिएको समयमा नै हामीले एएफसीका प्राविधिकलाई रंगशालामा ल्याएका हौँ । निरीक्षणका क्रममा राखेपका प्रतिनिधिहरु पनि हुनुहुन्थ्यो,’ सदस्यसचिव घिसिङको प्रश्नको जवाफ दिँदै एन्फा अध्यक्ष घिसिङले भने । 

एएफसीका प्रतिनिधिले रंगशालाको निरीक्षण गर्दा उपस्थित केही कर्मचारी मंगलबारको छलफलमा पनि उपस्थित थिए । त्यसपछि सदस्यसचिव घिसिङले एन्फा अध्यक्ष नेम्वाङसँग अर्को प्रश्न गरे, ‘एएफसीका प्रतिनिधिसँग मन्त्रालय र राखेपका पदाधिकारीहरूसँग किन भेट गराउनु भएन त ?’

त्यसको जवाफमा एन्फा अध्यक्ष नेम्वाङले यस्तो निरीक्षणमा आउने एएफसीका प्राविधिकहरूले सम्बन्धित राष्ट्रका सरकारी पदाधिकारीहरूसँग भेट्ने प्रचलन नै नरहेको जवाफ फर्काए । ‘प्रलोभनमा परेको आरोप लाग्ने डरले एएफसीका प्राविधिकहरूले अरू कसैसँग भेट गर्दैनन् । उनीहरुले पनि भेट गर्न चाहेनन् । उनीहरुले स्वतन्त्र रूपमा आफ्नो प्रतिवेदन एएफसीमा बुझाउँछन् । त्यसैले भेट गराउन सकिएन,’ एन्फा अध्यक्ष नेम्वाङले भने ।

त्यसपछि खेलकुदमन्त्री श्रेष्ठले यसको समाधान निकाल्दै आगामी दिनमा एन्फा वा अन्य खेल संघले गम्भीर विषयमा राखेपमा पत्राचार गर्दा त्यसको बोधार्थ मन्त्रालयको खेलकुद महाशाखामा पनि पठाउन निर्देशन दिए । 

समन्वयको अभावले समस्या

sss

युवा तथा खेलकुदमन्त्री श्रेष्ठले खेल निकायहरूबिच समन्वयको अभावका कारण यस्तो गम्भीर समस्या आएको प्रतिक्रिया दिए । उनले छलफलमा उपस्थित पदाधिकारीहरूलाई एकअर्कासँग समन्वय गरेर अगाडि बढ्न निर्देशन पनि दिए ।  

‘खेलकुद निकायका पदाधिकारीबिच समन्वयको अभावका कारण यो समस्या गम्भीर बनेको देखियो । त्यसैले तपाईँहरू तत्काल आपसमा समन्वय गरेर यो समस्याको समाधान खोज्नुस् । पाँच दिनभित्र मलाई यस विषयमा भएको प्रगतिको विवरण चाहिन्छ,’ उनले भने ।

मन्त्री श्रेष्ठले पाँच दिनभित्र आफूले सकारात्मक जवाफ नपाए मन्त्रालय गम्भीर रूपमा प्रस्तुत हुने चेतावनी पनि दिए । उनले आगामी दिनमा यस्तो समस्या नआओस् भनेर ‘रंगशाला प्रयोग तथा सञ्चालन कार्यविधि’ बनाउने तयारी भइरहेको जानकारी पनि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप