सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

आईपीएलमा आज : अघिल्लो सिजनको फाइनलपछि अहमदाबादमा पहिलो पटक भिड्दै चेन्नई र गुजरात

शुक्रबार, २८ वैशाख २०८१, ११ : ४१
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७औँ संस्करणमा शुक्रबार गुजरात टाइटन्सले बलियो प्रतिद्वन्द्वी चेन्नई सुपर किङ्सको सामना गर्दैछ । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । 

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ५९औँ खेल हो । आईपीएलको १७औँ संस्करणमा चेन्नई र गुजरात दुबैले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् । चेन्नईले यसअघि खेलिएको ११ मध्ये ६ खेलमा जित पाँच खेलमा हारको नतिजा निकालेको छ । चेन्नई १२ अंकसहित चौथो स्थानमा छ । 

गुजरातले भने निराशाजनक प्रदर्शन गर्दै आएको छ । गुजरातले यसअघि खेलिएको ११ मध्ये चार खेलमा जित र सात खेलमा हारको नतिजा निकालेको छ । गुजरात आठ अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ ।

यद्दपि, गुजरात अझै प्राविधिक रुपमा उपाधि होडबाट भने बाहिरिएको छैन । अंक तालिकामा गुजरातभन्दा माथि रहेका मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । 

जारी सिजनको आईपीएलमा चेन्नई र गुजरातबिच भिडन्त हुन लागेको यो दोस्रो पटक हो । यसअघि खेलिएको पहिलो खेलमा चेन्नईले गुजरातलाई ६३ रनले हराएको थियो । उक्त खेल चेन्नईको घरेलु मैदानमा खेलिएको थियो । 

हेड टु हेडमा बराबर

इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच हालसम्म कुल ६ खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा चेन्नईले गुजरातलाई हराएको छ । बाँकी तीन खेलमा गुजरातले चेन्नईलाई पराजित गरेको छ । 

तर, आईपीएलको पछिल्ला तीन खेलमा भने चेन्नई सुपर किङ्सले गुजरात टाइटन्सलाई हराउँदै आएको छ । यी दुई टोलीबिच नरेन्द्र मोदी स्टेडियममा भने हालसम्म दुई खेल भएको छ । त्यसमध्ये एक खेलमा चेन्नई र एक खेलमा गुजरात विजयी भएका छन् । 

इन्डियन प्रिमियर लिगको अघिल्लो सिजनको फाइनल खेल पनि चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच नै खेलिएको थियो । त्यो खेल पनि नरेन्द्र मोदी स्टेडियममै खेलिएको थियो । त्यो खेलमा चेन्नईले गुजरातलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको थियो । 

गुजरातको सर्वाधिक रन साई सदुर्शनको नाममा

इन्डियन प्रिमियर लिगको जारी सिजनमा गुजरात टाइटन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साई सुदर्शन हुन् । उनले हालसम्म खेलिएको ११ खेलमा टोलीका लागि कुल चार सय २४ रन बनाइसकेका छन् । यस क्रममा उनले दुईवटा अर्धशतक प्रहार गरेका छन् । 

गुजरातका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा शुभमन गिल दोस्रो स्थानमा छन् । उनले ११ खेलमा कुल तीन सय २२ रन बनाएका छन् । गुजरातका लागि सर्वाधिक विकेट लिने बलर भने मोहित शर्मा हुन् । उनले हालसम्म १० विकेट लिएका छन् । 

चेन्नईको सर्वाधिक रन गायकवाडको नाममा

जारी सिजनको इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किङ्सका लागि सर्वाधिक रन बनाउने खेलाडी कप्तान ऋतुराज गायकवाड हुन् । गायकवाडले टोलीका लागि हालसम्म ११ खेलमा कुल पाँच सय ४१ रन बनाइसकेका छन् । 

कप्तान गायकवाडका लागि अलराउन्डर शिवम दुबेले पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले टोलीका लागि ११ खेलमा तीन सय ५० रन बनाएका छन् । चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर भने मुस्तफिजुर रहमान हुन् । उनले नौ खेलमा १४ विकेट लिएका छन् । माथिशा पाथिरानाले पनि ६ खेलमा १३ विकेट लिएका छन् । 

ब्याट्सम्यानलाई साथ दिने पिच

इन्डियन प्रिमियर लिग क्रिकेटमा शुक्रबार चेन्नई र गुजरातबिच खेल हुने नरेन्द्र मोदी स्टेडियम खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । यो स्टेडियममा हालसम्म आईपीएलको ३४ खेल खेलिएको छ । 

त्यसमध्ये १४ खेलमा पहिलो ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् । १८ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । बाँकी दुई खेल अनिर्णित रुपमा सकिएको छ । यो स्टेडियममा बनेको उच्च स्कोर तीन विकेट गुमाएर दुई सय ३३ रन हो । उक्त स्कोर अघिल्लो सिजनको आईपीएलमा गुजरातले मुम्बई इन्डियन्सविरुद्ध बनाएको थियो ।

छैन वर्षाको सम्भावना

जारी सिजनको इन्डियन प्रिमियर लिगमा शुक्रबार चेन्नई सुपर किङ्स र गुजरात टाइटन्सबिच खेल हुँदा अहमदाबादमा वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार अहमदाबादमा अत्यधिक गर्मी हुने बताइएको छ । अहमदाबादको तापक्रम २९ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने छ । 

सम्भावित टोली 

चेन्नई सुपर किङ्सः ऋतुराज गायकवाड (कप्तान), अजिनक्या रहाणे, ड्यारल मिचेल, मोइन अली, शिवम दुबे, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, मिचेल सान्टनर, शार्दुल ठाकुर, तुषार देशपाण्डे र रिचर्ड ग्लिसन । इम्प्याक्ट प्लेयर : समिर रिजवी ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह, साई सुदर्शन, डेभिड मिल्लर, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, मानव सुथार, नुर अहमद, मोहित शर्मा र जोसुआ लिटिल । इम्प्याक्ट प्लेयर : संदीप वारियर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप