आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

बारा र पर्साका सीमा नाका आजदेखि ४८ घण्टासम्म बन्द

बिहीबार, १० जेठ २०८१, १३ : २७
बिहीबार, १० जेठ २०८१

वीरगन्ज । भारतको बिहार राज्यको पश्चिमी चम्पारणसँग जोडिएका मधेस प्रदेशका सीमा नाका आजदेखि २ दिनसम्म बन्द रहने भएका छन् ।  पश्चिमी चम्पारणमा हुन लागेको लोकसभाको चुनावलाई लक्षित गर्दै मधेस प्रदेशसँग जोडिएका सीमा नाका ४८ घण्टासम्म बन्द हुने भएका हुन् । 

जिल्ला प्रशासन कार्यालय पर्सा र बाराले बिहारसँग जोडिएका सीमा नाकाहरू बन्द रहने सूचना प्रकाशित गरेका छन् । ५ फागुनमा बसेको सुरक्षा समितिको बैठकले बिहारसँग सीमा जोडिएका नाकाहरू ४८ घण्टा बन्द गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय बमोजिम पर्सा र बाराका सीमा नाका बन्द गर्न लागिएको पर्साका सीडीओ दिनेशसागर भुसालले जानकारी दिए ।  उनले भने, ‘चुनावको ४८ घण्टा अघिदेखि वारिपारिका सीमामा सुरक्षाकर्मी तैनाथ रहन्छन्, सीमा नाका बन्द रहन्छ, त्यतिमात्रै नभई गोरेटो बाटोदेखि सानो नाकासमेत बन्द रहन्छ । यसको लागि पनि सार्वजनिक सूचना जारी गरिसकिएको छ ।’

बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बिहारको स्थानीय प्रशासनले गरेको पत्राचारअनुसार जेठ १० गते बिहान ६ बजेदेखि १२ गते बेलुका ६ बजेसम्म सीमा नाका बन्द रहने जानकारी दिए ।  नाका बन्द गरिए पनि अत्यावश्यक वस्तु वा सामान ल्याउन पाइने जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ । 

लोकसभा चुनावका लागि बाराको ६२ किमी खुला सीमा नाका ४८ घण्टाका लागि बन्द रहनेछ भने पर्साका १०७ किलोमिटर क्षेत्रफलमा रहेको नाका बन्द रहनेछ ।  पश्चिमी चम्पारणका जिल्लामा यही १२ जेठ (२५ मे) मा लोकसभा निर्वाचन हुँदैछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप