आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

सहकारी ठगीको आरोप लागेको व्यक्ति गृहमन्त्री बनेर बसिरहन मिल्दैन : डम्बर खतिवडा

‘जीवी राईको बारेमा रविजीलाई जति कसलाई थाहा होला र ?’
शुक्रबार, ११ जेठ २०८१

लेखक तथा स्तम्भकार डम्बर खतिवडा अहिलेको सत्ता गठबन्धनलाई नवफासिष्ट पपुलिष्टहरू र कम्युनिस्टहरूको अनैतिक र अराजनीतिक गठजोड मान्दछन् । नयाँ र पुराना सबै खालका दलबाट देश र जनताको भलो नहुने उनको ठहर छ । त्यसैले आफू अहिलेका कुनै पनि दलसँग निकट नरहेको उनले प्रस्ट पारे ।

सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नताबारे प्रश्न उठिरहेको अवस्थामा उनी पदमा बसिरहन उचित नहुने खतिवडा बताउँछन् । कांग्रेसले यो मुद्दालाई उठाएकोमा आफ्नो खुला सहमति रहेको पनि उनले बताए ।

यिनै पछिल्ला राजनीतिक अवस्थाका बारेमा लेखक तथा विश्लेषक भण्डारीसँग रातोपाटीका लागि रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • लामो समय राजनीति गर्नुभएको तपाईंलाई दलविहीन डम्बर खतिवडा भन्नुपर्ने अवस्था कसरी आयो ? किन यति धेरै अस्थिरजस्तो देखिनुभयो ?

म जुनखालको विचारधारामा विश्वास गर्छु त्यो विचारधाराको दल नेपालमा छैन । म कांग्रेस, कम्युनिस्ट, राजावादी, मधेशवादी, क्षेत्रीयतावादी, पपुलिष्ट होइन । अनि म कुन दलमा लागौँ त ? म यस्तो कुकर्म किन गरौँ, आफूलाई विश्वास नभएका मान्छे र संस्थालाई समर्थन गरौँ ? भोट हालौँ ? अनि भोलिपल्टदेखि तिनीहरूलाई गाली गरौँ ? अब त्यस्तो गल्ती म गर्दिनँ । एक पटक पार्टी बनाउने प्रयास गरियो, त्यो दल नै बन्न सकेन । असफल भइयो ।

  • लोकतन्त्रमा एउटा नागरिक कहीँ अटाउन नसक्ने पनि हुन्छ ?

जसलाई त्यो विचारमा विश्वास छ, लाग्नुस् न ! त्यसमा मलाई भन्नु केही छैन । म त यतिसम्म भन्छु कि हामीले भनेकोजस्तो पार्टी बनाउन सकिएन भने बाँकी जिन्दगीमा म त भोट पनि हाल्दिनँ ।

  • यसको मतलब अहिलेका दलहरूबाट मुलुक चल्दैन भन्ने तपाईंको भनाइ हो ?

शत प्रतिशत त्यही हो । संसारमा अहिले जति पनि देश विकसित बने, ती देश बनाउने दल कस्ता थिए र छन् ? हाम्रैजस्ता अनि यस्तै दलहरू भएका भए ती देश बन्थे ?

  • अब रातारात को आएर कहाँबाट आएर यो देश सम्हालिदिन्छ त ? विकल्प के त ?

नेपालमा एक पटक सम्पूर्ण राजनीति, लोकतन्त्रप्रति हाम्रो सोच, राज्ययन्त्र, निर्वाचन प्रणाली, शासकीय स्वरुप, अर्थतन्त्रको ढाँचा, समावेशीको ढाँचा, समावेशी प्रतिनिधित्वको ढाँचा, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका विषयमा अद्यावधिक गर्नुपर्छ । बिसौँ शताब्दीका विचारधारा बोक्ने कोहीबाट यो सम्भव छैन ।

  • यो सब गरिदिन आउँछ को ? कहाँबाट आउँछ ? कसले गरिदिन्छ त ?

हामी ‘पिपुल फस्ट मुभमेन्ट’ चलाउँदैछौँ । लोकतन्त्रमा नागरिकको पहिलो स्थान नदिइ यो सम्भव छैन । उदाहरणको लागि ‘नो नट अगेन’ भनेर चुनाव जितेर आएको रवि लामिछाने गृहमन्त्री माग्दै ओली, प्रचण्ड, देउवाको घरघरमा पुगे । अब त्यहाँ ‘जनता फस्ट’ भन्ने भयो त ? उनले त्यही भनेर भोट मागेका हुन् त ? प्रचण्डले त्यही गरे । तपाईं जे भनेर चुनाव लड्नुहुन्छ, पाँच वर्ष त्यही कुरामा अडिनुपर्छ । अनिमात्र ‘जनता फस्ट’ हुन्छ । तर अहिले त्यो भएन । अब हामी त्यो गर्ने प्रयास गर्दैछौँ ।

  • सहकारी ठगीको आरोपमा गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग कांग्रेसको छ, तर समिति बनाउन गृहमन्त्री र एमालेले मानेका छैनन् । माग पूरा नभए संसद चल्न नदिने कांग्रेसको अडानमा तपाईंको भनाइ के हो ?

सहकारी ठगीको मुद्दा उठाएकोप्रति कांग्रेसलाई खुला सहमति छ । र, सहकारी ठगीको आरोप लागेको व्यक्ति गृहमन्त्री बनेर बसिरहन मिल्दैन । बरु कांग्रेसले संसदीय छानबिन समिति नभइ उच्चस्तरीय न्यायिक आयोग माग्नुपर्थ्यो, कि गृहमन्त्रीलाई पदबाट हटाएर राज्यका नियामक निकायलाई नै काम गर्न सहजता दिनुपर्ने माग गनुपर्थ्यो । कि त नागरिक आयोगको माग गर्नुपर्छ ।

  • प्रचण्ड र ओली छानबिन समिति बनाउन किन मानिरहेका छैनन् ?

उनीहरूको स्वार्थ त प्रष्टै छ नि । उनीहरूले संसदको अङ्कगणितमात्र हेरिरहेका छन् । बाँकी न्याय, अन्याय, ठगी, जनतालाई परेको पीर, दुःख पीडासँग केही मतलब छैन । छानबिन भयो भने गरिबन्धु टी स्टेट पनि उठ्ला । तर भोलि सहकारी पीडितले हाम्रो पैसा खानेलाई जोगाउने केपी ओली र प्रचण्ड हुन् भनेर भन्ने छन् ।   

Capture

  • छानबिन भयो भने रविजी दोषी नै देखिनुहुन्छ भन्ने छ र ?

राष्ट्रिय अन्तर्राष्ट्रिय ऐन, कानुन हेर्दा उनी दोषी ठहर हुनेमा कुनै शङ्का छ र ? उनलाई पनि म फस्छु भन्ने छ । उनी राजीनामा पनि गर्दैनन् अनि छानबिन समिति पनि बनाउन दिँदैनन् । के उनी गृहमन्त्री आजीवन रहलान् त ?  अर्को कुरा, सहकारीमा सबैभन्दा बढी ठगी गर्ने समूह जीवी राई समूहको कम्पनी हो, जसमा रवि लामिछाने पनि संलग्न छन्, जसले उन्मुक्ति पाइरहेको छ । बरु अरुमाथि फाट्टफुट्ट कारबाही भइरहेको छ ।

  • दोषी भनिएका जीवी राईलाई समात्यो भने त सारा कुरा क्लियर भइहाल्थ्यो । उनी किन पक्राउ परिरहेका छैनन् ? सरकारले नसकेर नै हो कि ?

जीवी राईको बारेमा रविजीलाई जति कसलाई थाहा होला र ? उनले चाहे भने जीवीलाई दुई दिनमा पक्रन सक्छन् । उनीहरू त पार्टनर हुन् नि ? सबै सूचना हुन्छ नि ।

  • नागरिकताको विषयमा एक जना सञ्चार उद्यमीलाई पक्राउ गरिएको छ । नागरिकताका विषयमा पक्राउ परेका व्यक्तिलाई लिएर प्रेस स्वतन्त्रता हनन भयो भनिँदैछ । नागरिकताको विषयसँग प्रेस स्वतन्त्रता जोडिने विषय हो र ?

जोडिन्छ । रविले प्रतिशोध लिए । जब कान्तिपुरले सहकारी ठगीका घटनालाई एकपछि अर्को गरी उजागर गर्दै गयो– कति तथ्यपरक छन्, त्यसको छानबिन गर्ने अनेक बाटा छन् । तर विषयलाई अन्यत्रै लग्न खोजियो ।

  • यी सबै काम रविले प्रचण्ड र ओलीको आदेशमा गर्दै छन् भन्ने पनि देखिन्छन् । यसमा कति सत्यता होला ?

यो नवफासिष्ट पपुलिष्टहरू र कम्युनिस्टहरूको अनैतिक र अराजनीतिक गठजोड हो । यसको अन्तिम मूल्य ओली र प्रचण्डले चुकाउनुपर्छ ।

  • संसद चल्नै नदिने कांग्रेसको हठलाई के भन्नुहुन्छ ?

संसदबाट राजनीतिक र नैतिक दबाब भइसक्यो । संसदमा आफ्ना कुरा पनि भनिरहने र बृहत् नागरिक आन्दोलनमा जानुपर्छ । अर्को कुरा, कस्तो मुद्दामा छानबिन समिति बनाउने र कस्तोमा नबनाउने भन्ने दलहरूबिच सहमति गरेर संसदको नियमावलीमै थप्ने बाटोतिर लाग्नुस् तर लामो समय संसद अवरुद्ध गर्ने एमालेको रेकर्ड तोडनेतर्फ नलाग्नुस् भन्ने मेरो सुझाव छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया