सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गर्मीले जनजीवन प्रभावित

धनगढीमा अहिलेसम्मको उच्च तापमान, गर्मीले एक जनाको मृत्यु

बिहीबार, १७ जेठ २०८१, १६ : ३०
बिहीबार, १७ जेठ २०८१

धनगढी । पछिल्लो केही दिनदेखि बढेको अत्यधिक गर्मीले यहाँको जनजीवन कष्टकर बनेको छ । गर्मीसँगै तातो हावा (लु) चलेपछि जनजीवन कष्टकर बनेको हो ।

बिहीबार सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी (कैलाली)मा हालसम्मकै उच्च तापमान मापन गरिएको छ । महाकाली वेसिन फिल्ड कार्यालय अत्तरियाले पौने ३ बजे गरेको मापन अनुसार अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस र न्यूनतम ३०.२ डिग्री सेल्सियस रहेको छ ।

यो तापमान अहिलेसम्मकै उच्च तापक्रम भएको कार्यालयका मौसम विज्ञान सहायक सिंगल चौधरीले जानकारी दिए । चौधरीले सन् १९९६ पछि पहिलोपटक सबैभन्दा धेरै तापक्रम रेकर्ड भएको पनि बताए । तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गर्मीले ज्यान गयो

कैलालीमा गर्मीका कारण एक जनाको मृत्यु भएको  छ । बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए । 

उच्च गर्मीकै बीच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको चन्दले बताए । मसुरिया र हसुलियाको दुरी १७ किलोमिटर मात्रै छ । उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको प्रहरीको भनाइ छ । 

विद्यालय बन्द

गमीले जनजीवन कष्टकर बनेपछि कैलाली र कञ्चनपुर जिल्लाका विद्यालयहरु केही समयको लागि बन्द गराइएको छ ।

विहीबार मात्रै धनगढी उपमहानगरभित्र रहेका विद्यालयहरुलाई एक हप्ता बन्द गर्न निर्देशन दिइएको छ । अत्याधिक गर्मी बढेपछि उपमहानगरभित्र रहेका सबै विद्यालयहरु १८ गतेदेखि बन्द गर्न पत्र पठाइएको हो ।

धनगढी उपमहानगरपालिकाको पत्रमा भनिएको छ, ‘गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्येनजर गदै मिति १८ गतेदेखि २४ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तरगत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन सूचना प्रकाशित गरिएको छ ।’ 

सुदूरपश्चिम विश्वविूद्यालय अन्तरगतको कैलाली कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिने निर्णय गरेको छ । क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले जेठ २० गतेदेखि असार १० गतेसम्म गर्मी बिदा रहने जानकारी दिए । 

काकाकुल धनगढी

यस्तै लामो खडेरीका कारण धनगढीमा बैशाख महिनादेखि खानेपानीको समस्या समेत देखिन थालेको छ । जमिनमुनीको सतहको पानी तान्न प्रयोग गरिने नल्का, बोरिङमै पानी आउन थालेपछि समस्या देखिन थालेको हो ।

धनगढी उपमहानगरपालिका ७ देवहरिया बस्ने दिनेश महतो केही सातादेखि नल्कामा अरु समयको भन्दा कम पानी आउन थालेको बताए । जसले गर्दा समस्या सिर्जना हुन थालेको चिन्ता व्यक्त गरे । धनगढीमा अझै ७० प्रतिशत घरधुरी नल्काबाट निकालेको खानेपानी प्रयोग गरिरहेका छन् ।

गर्मीसँगै पशुपन्छीमा पनि समस्या सिर्जना भएको छ । पोल्ट्री व्यवसाय गर्दै आएका कैलालीको लम्कीका हंश रोकायाले गर्मीले एकै दिनमा ६० वटा ब्रोइलर कुखुरा मरेको जानकारी दिए । गर्मीले कुखुरा मर्न थालेपछि पोल्ट्री व्यवसाय गर्दै आएका किसानहरु समस्यामा परेको बताउँछन् कैलाली हसुलियाका हेमन्त खरेल । एक हजारमा ६ सयको संख्यामा कुखुरा मर्न थालेको समेत उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप