खोटाङको बाक्सिलामा हरेक शनिबार श्रमदान
खोटाङ । केपिलासगढी गाउँपालिका(४ बाक्सिलाका स्थानीयबासी आफ्नो गाउँको सडक आफैँ मर्मत गर्न जुटेका छन् । प्रत्येक टोलमा निर्माण गरिएका सडकमा बाह्रै महिना एम्बुलेन्स तथा यातायातका सवारी साधन सञ्चालन गर्न स्थानीयबासीले प्रत्येक हप्ताको शनिबार श्रमदान अभियान सुरु गरेका हुन् ।
गत चैतको अन्तिम शनिबारदेखि सुरु गरिएको श्रमदान अभियानमा जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयबासी स्वतःस्फूर्तरुपमा सहभागी हुने गरेका छन् । अभियानअन्तर्गत सडक मर्मत, विद्यालय भवन परिसर सरसफाइ तथा मर्मत, वृक्षरोपणलगायतका गतिविधि सञ्चालन हुने गरेको छ ।
श्रमदान अभियानको दशौँ हप्ता सम्पन्न हुँदा करिब चार सय स्थानीयबासी सहभागी भइसकेको श्रमदान अभियानका संयोजक कोशीकुमार राईले जानकारी दिए । “गाउँटोलमा निर्माण गरिएका ग्रामीण सडक वर्षेनी भलबाढीले क्षति गर्छ । सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान/ल्याउन र दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या हुन्छ”, उनले भने, “गाउँको सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन श्रमदान अभियान सञ्चालन गरेका हौँ । वडा कार्यालयको संयोजनमा सुरु गरिएको यो अभियान निरन्तर चलिरहेको छ ।”
श्रमदान अभियानका लागि देश तथा विदेशमा रहेका स्थानीयले आर्थिक सहयोग गरिरहेका छन् । बाक्सिलामा जन्मिएर अध्ययन तथा रोजगारीका सिलसिलामा विभिन्न ठाउँमा पुगेका स्थानीयबासीले रु एक लाख १२ हजार सहयोग गरेको संयोजक राईले जानकारी दिए ।
सङ्कलित सहयोग रकम श्रमदान अभियानमा सहभागीका लागि खाजा शीर्षकमा खर्च गर्ने गरिएको छ । बाक्सिलास्थित हल्कुममा सञ्चालित शिक्षा जयन्ती आधारभूत विद्यालयको भुइँ ढलानबाट सुरु गरिएको श्रमदान अभियानअन्तर्गत एक सय ३४ मिटर सडक सोलिङ गरिएको छ । दशकते(रातोपानी सडकमा ५७ मिटर, माक्पालीडाँमा ४५ मिटर, हयापूमा २२ मिटर र खर्कुखोलामा १० मिटर सोलिङ गरिएको संयोजक राईले बताए ।
‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्ने नाराका साथ सुरु गरिएको श्रमदान अभियान आफ्नो कार्यकालभरि जारी राख्ने वडाध्यक्ष खड्गबहादुर तामाङले जानकारी दिए । “वडामा आएको बजेटले सबै काम सम्भव छैन । स्थानीयस्तरमा गर्न सकिने काम आफैँ गरौँ भन्ने उद्देश्यले अभियान सुरु गरेका हौँ”, उनले भने, “अभियानमा सबैले साथ दिएका छन् । यसले सानातिना काम राज्यको लगानी नभए पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण