सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारमा सरकार प्रतिबद्ध : मन्त्री पोखरेल

सोमबार, ११ साउन २०८३, १३ : ३२
सोमबार, ११ साउन २०८३

सारांश

  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
  • मन्त्री पोखरेलले विश्वविद्यालयका पदाधिकारीहरूसँग भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गर्दै जग्गा प्राप्तिको कानुनी प्रक्रियालाई छिटो टुङ्ग्याएर निर्माण कार्य सुरु गरिने आश्वासन दिए।
  • मन्त्री पोखरेलले विद्यार्थीलाई क्रिकेट ब्याट, बल र फुटबल लगायतका खेलकुद सामग्री हस्तान्तरण गरे र मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानको प्रगति सन्तोषजनक रहेको जानकारी दिए।

धनुषा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढङ्गले अगाडि बढाउने स्पष्ट पारे।

विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा उनले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गरे। विश्वविद्यालयको आफ्नै भवन नहुँदा परेका कठिनाइहरूबारे चर्चा गर्दै उनले जग्गा प्राप्तिको कानुनी प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्ग्याएर निर्माण कार्य सुरु गरिने आश्वासन दिए।

भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई विभिन्न खेलकुद सामग्री समेत हस्तान्तरण गरे। करिब दुई महिनाअघिको भ्रमणमा विद्यार्थीले खेलकुद सामग्रीको अभाव रहेको भन्दै राखेको गुनासोलाई सम्बोधन गर्दै उनले क्रिकेट ब्याट, बल र फुटबल लगायतका सामग्री उपलब्ध गराएका हुन्। आफ्नै पूर्वप्रतिबद्धताअनुरूप विद्यार्थीको माग पूरा गर्न पाउँदा खुसी लागेको उनले बताए।

मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानका सन्दर्भमा मन्त्री पोखरेलले यसअघि नै प्रतिवेदन सार्वजनिक गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए। उक्त अभियानको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उनले यस विषयमा थप समन्वयका लागि प्रदेश प्रमुख तथा सम्बन्धित एकाइ प्रमुखहरूसँग छलफल गर्ने योजना रहेको समेत स्पष्ट पारे।

‘आज हामी उपकुलपतिसँग छलफल गरी विश्वविद्यालयका समस्या, विशेषगरी जग्गा व्यवस्थापन र आफ्नै भवन निर्माणका विषयमा परामर्श गरेका छौँ,’ मन्त्री पोखरेलले भने, ‘यी कामलाई शीघ्र अघि बढाउने तयारी भइरहेको छ।’

यसअघि जनकपुर भ्रमणका क्रममा विद्यार्थीहरूले खेल सामग्रीको अभावबारे गुनासो गरेको र सोही प्रतिबद्धताअनुसार सामग्री हस्तान्तरण गरिएको उनले बताए। साक्षर प्रदेश घोषणासम्बन्धी प्रतिवेदनको प्रगति सन्तोषजनक रहेको र आगामी दिनमा प्रदेशका सम्बन्धित निकायसँग समीक्षा गर्ने योजना रहेको उनको भनाइ छ। समस्याको पहिचान र समाधान गर्दै चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने उद्देश्यका साथ काम भइरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले विश्वविद्यालयका लागि जग्गा प्राप्त गरी आफ्नै भवन निर्माण प्रक्रिया सकेसम्म छिटो सुरु गरिने बताए।

शिक्षा क्षेत्रमा थुप्रै चुनौतीहरू रहे पनि ती चुनौतीभित्र अवसरहरू खोज्दै सरकार अगाडि बढिरहेको उनले स्पष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप