सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

नवलपुरमा दुई महिलाको एकैपटक कसरी भयो मृत्यु ?

प्रहरी भन्छ- अत्यधिक मदिरा सेवन गरेका थिए
सोमबार, ११ साउन २०८३, ११ : ५८
सोमबार, ११ साउन २०८३

सारांश

  • नवलपुरको गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
  • प्रहरीले अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।
  • घटनास्थलबाट खाजाका प्याकेट र मदिराका बोतल फेला परेका छन्।

पोखरा । नवलपुरको गैंडाकोटमा आइतबार अचेत अवस्थामा फेला परेका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिकै पूर्व–पश्चिम राजमार्गको बायाँ किनारमा रहेको चौरमा उनीहरू अचेत अवस्थामा भेटिएका थिए। स्थानीयले सूचना दिएपछि प्रहरीले उद्धार गरी नगर अस्पताल भेडाबारी पुर्‍याएको थियो। अस्पतालले उपचारकै क्रममा उनीहरूको मृत्यु भएको घोषणा गरेको छ।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैंडाकोट–१२ हर्कपुरमा डेरा गरी बस्ने ३८ वर्षीया कबिता राई र भोजपुर घर भई हाल गैंडाकोट–१० पितौजी बस्ने अन्दाजी ४५ वर्षीया कान्छी राई रहेका छन्।

उनीहरू दुवै साथी रहेको र ज्याला–मजदुरी गरेर गुजारा चलाउने गरेको प्रहरीले जनाएको छ। उनीहरूको मृत्युको कारण अझै खुल्न सकेको छैन। तर, प्रारम्भिक अध्ययनले अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने देखाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं डीएसपी अनिल पण्डितका अनुसार घटनाको प्रारम्भिक वस्तुस्थिति हेर्दा अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुन सक्ने देखिएको छ।

‘थप विवरण आउन बाँकी छ। हामी मिहिन ढंगले अनुसन्धानमा जुटेका छौं,’ उनले भने, ‘प्रारम्भिक अवस्था हेर्दा अत्यधिक मदिरा सेवन गरेका कारण मृत्यु भएको हुन सक्छ भन्ने हाम्रो आँकलन हो।’

उनीहरू राजमार्ग नजिकैको चौरमा अचेत अवस्थामा फेला परेका थिए। सोही चौरमा बसेर खाजा र मदिरा सेवन गरेको स्थानीयले बताएका छन्। घटनास्थलबाट कुरकुरेलगायत तयारी खाजाका प्याकेट र मदिराका बोतल फेला परेका छन्।

‘मृतकहरूको शरीरमा कुनै पनि किसिमको बाहिरी चोटपटक फेला परेको छैन। त्यसैले अत्यधिक मदिरा सेवन वा त्यसको रियाक्सनका कारण यो अवस्था सिर्जना भएको हुन सक्ने अनुमान गरिएको छ,’ उनले भने।

मदिरा सेवनकै कारण मृत्यु भएको भए पनि दुवैजनाको एकै समयमा मृत्यु हुनु रहस्यमय हुन सक्ने प्रत्यक्षदर्शीहरूको शंका छ। उनीहरूले मदिराको गुणस्तर वा विषाक्ततामाथि पनि प्रश्न उठाएका छन्। उनीहरूले मदिरा कहाँबाट खरिद गरेका थिए र सो समयमा त्यहाँ अरू कोही उपस्थित थिए वा थिएनन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए।

शव पोस्टमार्टमका लागि पठाइएको छ। ‘मदिराको ओभरडोज हो वा मदिरामा अन्य कुनै कैफियत थियो भन्ने कुरा चिकित्सकको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै प्रमाणित हुनेछ,’ उनले भने, ‘उनीहरूको साथबाट बियर पनि फेला परेको थियो। अनुसन्धान जारी छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप