सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देहीबाट बहिनीलाई लिएर १३ वर्षीय बालक कसरी पुगे वृन्दावन ?

सोमबार, ११ साउन २०८३, १३ : ३१
सोमबार, ११ साउन २०८३

सारांश

  • रुपन्देहीका १३ वर्षीय बालकले बहिनीलाई लिएर भारतको वृन्दावन पुगेका छन् ।
  • प्रवचनबाट प्रभावित भई आश्रम जाने उद्देश्यले घरबाट हिँडेका दाजुबहिनीलाई उद्धार गरी बाल कल्याण समितिमा राखिएको छ ।
  • स्कुल जान भनी हिँडेका उनीहरूले कपडा बोकेर सीमा पार गरी रेल र ई-रिक्सा चढेर वृन्दावन पुगेका थिए ।

काठमाडौँ । १३ वर्षीय एक नेपाली बालक रुपन्देही जिल्लाबाट आफ्नी बहिनीलाई लिएर भारतको वृन्दावन पुगेको घटना प्रकाशमा आएको छ ।

ती दाजुबहिनीलाई उद्धार गरेर बाल कल्याण समितिमा राखिएको र परिवारजनलाई खबर गरिएको बताइएको छ ।

सन्त प्रेमानन्दजी महाराजको प्रवचन मोबाइलमा हेर्ने गरेको र प्रवचन सुनेकै कारण उनको आश्रममा जाने उद्देश्यले घरबाट बहिनीलाई लिएर भागेको ती बालकले बताएका छन् ।

उद्धार गरिएका १३ वर्षीय बालक कक्षा ६ मा पढ्दै थिए भने ७ वर्षीय बहिनी एलकेजीमा अध्ययनरत थिइन् । भारतीय सञ्चारमाध्यमका अनुसार ती बालकले प्रेमानन्द महाराजको प्रवचनबाट प्रभावित भएर आश्रममा आउन मन लागेको बयान दिएका छन् ।

यसरी पुगे वृन्दावन

स्कुल जान भनेर गत मंगलबार घरबाट हिँडेका ती दाजुबहिनीले आफ्नो झोलामा किताबको साटो कपडाहरू राखेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू सीमा पार गर्दै भारतको उत्तर प्रदेशस्थित महाराजगंज जिल्लामा पुगे, जहाँ उनीहरूले नौतनवा रेलवे स्टेशनबाट गोरखपुरका लागि रेलको टिकट लिए ।

रेल चढेर गोरखपुर पुगेका उनीहरूले त्यहाँबाट मथुरा जाने अर्को रेल चढे । मथुरा पुगेर उनीहरू ई–रिक्सा चढेर शनिबार राति अबेर वृन्दावन पुग्न सफल भए ।

उनीहरूले आश्रममै खाना खाएर फुटपाथमा सुत्ने तरखर गरिरहेका थिए । बाटो हिँड्ने मानिसले उनीहरूको अवस्था देखेर सोधपुछ गर्दा वृन्दावनमा प्रेमानन्द महाराजसँग भेट गर्नका लागि नेपालबाट आएको भनेर ती बालकले जानकारी गराए । उनीहरू एक्लै नेपालबाट वृन्दावन आइपुगेको थाहा पाएपछि भक्तजनहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरी उनीहरूलाई बाल कल्याण समितिको जिम्मा लगाएको बताइएको छ । ती बालबालिकाको पूरा ठेगाना भने खुलाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप