अस्थिरताका मुख्य कारक पुराना तीन दल : जनमत पार्टी
सारांश
- जनमत पार्टीले पुराना तीन दल कांग्रेस, एमाले र नेकपाले संघ र प्रदेशमा राजनीतिक अस्थिरता बढाएको आरोप लगाएको छ ।
- पार्टीका नेताहरूले संघीयता ल्याउन भूमिका खेलेका दललाई किनारा लगाएर पुराना दलहरूले सत्ता केन्द्रित राजनीति गरिरहेको बताएका छन् ।
- जनमत पार्टीका अनुसार शीर्ष नेताको निर्देशनमा चल्ने प्रदेशका नेताहरूले प्रदेश सरकारलाई अस्थिरतामा धकेलेका छन् ।
जनकपुरधाम । जनमत पार्टीले पुराना तीन दलकै कारण संघ र प्रदेशमा राजनीतिक अस्थिरता बढेको आरोप लगाएको छ । हाल मधेस प्रदेश सभामा विपक्षी दलका रूपमा रहेको यस पार्टीका नेताहरू पछिल्लो समय प्रदेशको सत्ता समीकरण फेरबदलमा पनि यिनै दलको भूमिका रहेको बताउँछन् ।
जनमत पार्टीका मधेस प्रदेश समा सदस्य चन्दन सिंहले कांग्रेस, एमाले र नेकपा जसरी पनि सत्तामा रहने खेलमा केन्द्रित हुने गरेको आरोप लगाए ।
उनले भने, ‘कांग्रेसले प्रतिपक्ष विहीन सरकार नहुने भनेर राम्रो अवधारणा ल्याए पनि आफैँ त्यसमा अडिग हुन सकेन । गठबन्धन बनाएर सरकारमा रहिरहनुले कांग्रेस आफ्नो अवधारणामा अडिग छैन भन्ने प्रस्ट हुन्छ ।’
सिंहका अनुसार संघीयता ल्याउन मधेसले त्यत्रो बलिदान दिए पनि अहिले संघीयता ल्याउन भूमिका निर्वाह गरेका दललाई नै किनारा लगाएर पुराना दलहरूले सत्ता केन्द्रित राजनीति गरिरहेका छन् ।
‘सत्ता समीकरण परिवर्तन हुने भएपछि मधेसका मुख्यमन्त्री आफ्नो सरकार बचाउन अहिले केन्द्रदेखि प्रदेश तहसम्मका नेताहरूको घरघरमा पुग्न थाल्नु भएको छ,’ सिंहले भने ।
कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी सहभागी भएको मधेस सरकारले ल्याएको बजेट आफ्नो क्षेत्र, नातागोता, ईष्टमित्र लक्षित रहेको सिंहको आरोप छ । उनका अनुसार मुख्यमन्त्री कृष्ण यादवले आफ्नो जिल्लामा ठुलो परिमाणमा बजेट खन्याएका छन् ।
सिंहले मधेस सरकार परिवर्तनका सन्दर्भमा अन्य दलसँग सामान्य कुराकानी भए पनि त्यो औपचारिक नभएको बताए ।
जनमत पार्टीकै अर्का प्रदेश सभा सदस्य संजय कुमार यादवले एजेण्डा र विचार नमिल्ने पार्टीहरू सरकार बनाउने नाममा जर्बजस्ती गठबन्धन बनाउनुको परिणाम अहिले देखा परेको बताए । बारम्बार सरकार फेरिनुमा यी दलका शीर्ष नेताकै भूमिका रहेको उनको भनाइ छ ।
यादवले भने, ‘देशमा जेनजी आन्दोलन भएर सङ्घमा अहिले रास्वपाको नेतृत्वमा सरकार नबनेको भए पुराना तीन दलले संघ सरकार कैयौँ पटक फेरिसकेका हुन्थे । संघमा सरकार फेरिनासाथ प्रदेशमा पनि फेर्थे ।’
मधेसमा मधेसवादी दलको नेतृत्व हुनुपर्नेमा जोड दिँदै उनले अहिले सरकार निर्माणको विषयलाई लिएर जसपा नेपालसँग सामान्य कुराकानी भएको प्रस्ट पारे । उनले भने, ‘उहाँहरूले आफ्नो नेतृत्वमा सरकार बन्ने भए सहयोग गर्नुपर्छ भन्ने कुरा राख्नुभएको छ । तै पनि त्यो अनौपचारिक रूपबाट आएको कुरा होइन ।’
प्रदेशका नेताहरू शीर्ष नेताको कठपुतली बन्दा प्रदेश सरकार जहिले पनि अस्थिरता तर्फ धकेलिने गरेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग
-
युक्रेनलाई इरानको कडा चेतावनी
-
अल-नासरको आर्थिक संकट : के रोनाल्डोको बिदाइ नै एकमात्र विकल्प हो?
-
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई १८ महिनाको जेल सजाय
-
काठमाडौँमा सहकारी पीडितको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
-
सुनसरी घटना : आक्रोशित समूहले जलाए मोटरसाइकल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण