सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'

सोमबार, ११ साउन २०८३, १३ : ४१
सोमबार, ११ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय निर्देशनपछि लुम्बिनी प्रदेशमा सरकार गठनका लागि पहल सुरु भएको छ ।
  • कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा तत्कालका लागि 'होल्ड' गरिएको छ ।
  • मुख्यमन्त्री आचार्यलाई आफ्नै पार्टी एमालेभित्रबाट पनि मुख्यमन्त्री बन्नका लागि लबिङ भइरहेको छ ।

बुटवल । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले प्रदेश सरकार गठनका लागि आवश्यकता अनुसार पहल गर्न निर्देशन दिएसँगै लुम्बिनी प्रदेशमा हलचल बढेको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच सत्ता गठबन्धन बनेसँगै कांग्रेसले आन्तरिक छलफल थालेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले केन्द्रबाट आएको पछिल्लो निर्देशनअनुसार प्रदेशमा छलफल तीव्र बनाइएको बताए ।

चौधरीले सोमबार बिहान मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटवार्ता गरेका छन् । यस्तै, उनले नेकपा संसदीय दलका नेता जोखबहादुर महरासँग पनि सम्पर्क गरेको रातोपाटीलाई बताए ।

कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामाका विषयमा भने अझै ‘पर्ख र हेर’को अवस्था रहेको चौधरीले जानकारी दिए ।

‘मुख्यमन्त्रीज्यूले अझै केही समय हेरौँ भन्नुभएको छ । त्यसैले हाम्रो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाउने विषयमा पनि केही समय पर्खने अवस्था छ,’ चौधरीले भने, ‘तर केन्द्रको अवस्था र अन्य प्रदेशको वातावरण हेर्दा साँझसम्म के हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।’

कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी पाँच मन्त्रीले संसदीय दलसमक्ष आइतबार नै सामूहिक राजीनामा बुझाएका थिए । कांग्रेस संसदीय दलकी मुख्य सचेतक जमुना ढकालका अनुसार मन्त्रीहरूले राजीनामा बुझाए पनि मुख्यमन्त्री आचार्य कपिलवस्तुमा पार्टीको कार्यक्रममा रहेकाले आइतबार  बुझाउन सकिएन ।

आज मुख्यमन्त्रीसँग फोनमा कुराकानी हुँदा अहिले नआउनु भनेपछि राजीनामा तत्कालका लागि 'होल्ड' गरिएको ढकालले रातोपाटीलाई बताइन् ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरणमन्त्री देवकरण कलवार सहभागी छन् ।

कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको विश्वासको मतसमेत कांग्रेसले फिर्ता लिने छ । त्यसपछि नयाँ गठबन्धन निर्माणका लागि बाटो खुल्नेछ ।

यद्यपि, मुख्यमन्त्री आचार्यलाई आफ्नै पार्टी नेकपा एमालेभित्रबाट समेत चुनौती देखिएको बताइएको छ । एमालेका एक सांसदका अनुसार पार्टीभित्रै केही नेताले मुख्यमन्त्री बन्नका लागि आ–आफ्नो ढंगले ‘लबिङ’ गरिरहेका छन् ।

पूर्वमुख्यमन्त्री लिला गिरी, पूर्वभौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल र पूर्वस्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले मुख्यमन्त्री पदका लागि आ–आफ्नो ढंगले लबिङ गरिरहेको चर्चा एमालेभित्र चलेको ती सांसदले बताए ।
लुम्बिनी प्रदेशमा सत्ता समीकरण फेरबदलसँगै एमालेभित्रको शक्ति सङ्घर्षसमेत सतहमा आउन थालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप