बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

प्रतिष्ठाको भिडन्तमा वर्षाको डर

आइतबार, ०२ असार २०८१, १० : ५०
आइतबार, ०२ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको उपाधि होडबाट बाहिरिइसकेका दुई टोली पाकिस्तान र आयरल्यान्डबिच आइतबार भिडन्त हुँदैछ । उक्त खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड पार्कमा नेपाली समयअनुसार, राति २०ः१५ बजे सुरु हुनेछ ।

पाकिस्तान र आयरल्यान्ड प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । उक्त समूहमा भारत, आयोजक अमेरिका र क्यानडा पनि रहेका छन् । त्यो समूहबाट सात अङ्कसहित भारत पहिलो र पाँच अङ्कसहित अमेरिका दोस्रो हुँदै ‘सुपर–८’ चरणमा पुगिसकेका छन् ।

 अन्य टोली भने उपाधि होडबाट बाहिरिएका छन् । तालिकामा क्यानडा तीन अङ्कसहित तेस्रो र पाकिस्तान दुई अङ्कसहित चौथो स्थानमा छन् । आयरल्यान्ड भने एक अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ ।

पाकिस्तान र आयरल्यान्डबिचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । घर फर्किने निश्चित भइसकेकाले आयरल्यान्ड र पाकिस्तानबिचको भिडन्तले समीकरणमा कुनै असर पार्ने छैन । त्यसैले यी दुई टोलीबिचको भिडन्तलाई प्रतिष्ठाको लडाइँका रूपमा लिन सकिन्छ ।

टी–२० विश्वकपको पूर्वविजेता समेत रहेको पाकिस्तानले जारी सिजनमा भने अत्यन्तै निराशाजनक प्रदर्शन गर्‍यो । हुन त विश्वकप सुरु हुनुअघिदेखि नै पाकिस्तानी टोलीले निरन्तर खराब प्रदर्शन गर्दै आएको थियो ।

विश्वकप सुरु हुनुअघि खेलिएको इङ्ल्यान्डविरुद्धको टी–२० शृङ्खलामा पनि पाकिस्तानी टोलीको प्रदर्शन बिर्सनलायक थियो । जारी विश्वकपको आफ्नो पहिलो खेलमा पाकिस्तानी टोलीले पहिलो पटक विश्वकप खेलिरहेको अमेरिकासँग लज्जास्पद हार बेहोरेको थियो । उक्त खेलमा पाकिस्तान सुपर ओभरमा पराजित भएको थियो ।

दोस्रो खेलमा पाकिस्तानी टोली चिर प्रतिद्वन्द्वी भारतसँग ६ रनले पराजित भएको थियो । तेस्रो खेलमा भने पाकिस्तानले क्यानडालाई सात विकेटले हराएको थियो । अर्कोतिर, आयरल्यान्डको टोली आफ्नो पहिलो खेलमा भारतसँग आठ विकेटले हारेको थियो ।

दोस्रो खेलमा क्यानडाले आयरल्यान्डलाई १२ रनले पराजित गरेको थियो । आयोजक अमेरिका र आयरल्यान्डबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । आइतबारको खेलमा आयरल्यान्डलाई पराजित गरे पाकिस्तान चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लने छ ।

उक्त खेलमा पाकिस्तानलाई हराउन सके आयरल्यान्ड तीन अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लने छ र पाकिस्तान पाँचौँ स्थानमा खस्कने छ । पछिल्लो आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तान छैटौँ र आयरल्यान्ड ११औँ स्थानमा छन् ।

टी–२० विश्वकपमा पाकिस्तानको यो नवौँ सहभागिता हो । पाकिस्तानले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकप खेल्दै आएको छ । पाकिस्तानले सन् २००९ मा सम्पन्न टी–२० विश्वकपको दोस्रो संस्करणको उपाधि पनि जितेको थियो ।

पाकिस्तानले त्यतिबेला फाइनलमा श्रीलङ्कालाई आठ विकेटले हराएको थियो । पाकिस्तान टी–२० विश्वकपको साबिक विजेता पनि हो । सन् २०२२ मा सम्पन्न टी–२० विश्वकपको फाइनलमा इङ्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले हराएको थियो ।

आयरल्यान्डको भने टी–२० विश्वकपमा यो आठौँ सहभागिता हो । आयरल्यान्डले सन् २००९ देखि टी–२० विश्वकपमा सहभागिता जनाउन थालेको हो । तर, आयरल्यान्ड ‘सुपर–८’ चरणभन्दा अगाडि बढ्न सकेको छैन । आयरल्यान्ड सन् २००९ को टी–२० विश्वकपमा ‘सुपर–८’ चरणमा पुगेको थियो ।

ireland 2

आयरल्यान्ड र पाकिस्तानबिच हालसम्म चारवटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये तीन खेलमा पाकिस्तान विजयी भएको छ । एक खेलमा भने आयरल्यान्डले पाकिस्तानलाई पराजित गरेको छ ।

यी दुई टोलीबिच यसै वर्ष मे १४ तारिखमा पछिल्लो टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएको थियो । विश्वकपमा भने यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यसअघि सन् २००९ को टी–२० विश्वकपमा पनि यी दुई टोलीबिच भिडन्त भएको थियो । त्यो खेलमा पाकिस्तान विजयी भएको थियो ।

ireland

पछिल्लो समय पाकिस्तानका लागि ब्याटिङतर्फ कप्तान बाबर आजम र बलिङतर्फ ह्यारिस रउफको प्रदर्शन उत्कृष्ट देखिएको छ । बाबर आजमले पछिल्लो एक वर्षयता पाकिस्तानका लागि १८ खेल खेल्दै कुल ६ सय २८ रन बनाएका छन् ।

जारी विश्वकपमा भने पाकिस्तानका लागि मोहम्मद रिजवानले तीन खेलमा सर्वाधिक ९३ रन बनाइसकेका छन् । जारी विश्वकपमा बलिङतर्फ पाकिस्तानका ह्यारिस रउफले तीन खेल खेल्दै ६ विकेट हात पारेका छन् ।

यसैगरी आयरल्यान्डका मार्क अडायर जारी विश्वकपमा आयरल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनी पछिल्लो १२ महिनाको अवधिमा आयरल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर पनि हुन् । पछिल्लो एक वर्षको अवधिमा आयरल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने एन्ड्र्यू बालबर्नी हुन् ।

फ्लोरिडामा लगातारको वर्षाका कारण यसअघि दुई खेल रद्द भइसकेका छन् । अमेरिका र आयरल्यान्ड तथा भारत र क्यानडाबिच हुने भनिएको खेल वर्षाका कारण रद्द भएको थियो । आयरल्यान्ड र पाकिस्तानबिचको खेल पनि वर्षाका कारण रद्द हुने प्रबल सम्भावना छ । आइतबार फ्लोरिडमा वर्षाको सम्भावना ९० प्रतिशत रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप