बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

एउटै आईएमईआई नम्बरको डेढ लाख वटा फोन

आइतबार, ०२ असार २०८१, १५ : ५६
आइतबार, ०२ असार २०८१

ढाका । हरेक मोबाइल फोनको एउटा खास नम्बर हुन्छ । यसलाई आईएमईआई नम्बर भनिन्छ । कसैको फोन हरायो वा चोरी भयो भने यही नम्बरका आधारमा फोन खोज्ने काम गरिन्छ ।

तर बंगलादेशमा एउटै आईएमइआई नम्बर भएको डेढ लाख वटा फोन फेला परेको छ । गएको बिहीबार ढाकामा दूरसञ्चार कार्यालयमा आयोजित एक सेमिनारमा त्यहाँको मोबाइल फोन अपरेटर रोबीका प्रमुख कर्पोरेट तथा नियामक अधिकारी शाहिद आलमले यसबारे बताएका हुन् । एउटै आईएमइआई नम्बरको डेढ लाख भन्दा बढी फोन प्रयोग भइरहेको र यो सबै फोन नक्कली भएको सेमिनारमा उनले भनेका छन् । 

कम्पनीका पूर्वप्रमुख प्रविधि अधिकारी एकेएम मुर्शीदले भने नक्कली फोनको सङ्ख्या डेढ लाख भन्दा कम हुन सक्ने बताएका छन् । केही वर्ष अघिसम्म एक अपरेटरको नेटवर्कमा ८ लाख  मोबाइल एउटै आईएमईआई कोडमा चलिरहेका थिए ।  

के हो आईएमईआई ?

आईएमईआई १५ अंकको इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी हो । मोबाइल फोन बनाइरहँदा यो नम्बर प्रयोग गरिन्छ । कसै कसैको मोबाइलको आईएमईआई नम्बर १७ अंकको पनि हुन सक्छ । यो हातेफोनको पहिचान हो । यसका आधारमा फोन कुन कारखानामा बनेको हो र यसलाई कुन क्षेत्रमा प्रयोग गरिरहेको छ भन्ने थाहा हुन्छ । 

आईएमईआई नम्बरमा फोनको युनिक सिरियल नम्बर पनि हुन्छ । यसमा एउटा यस्तो नम्बर हुन्छ जसबाट पूरै नम्बर चिन्न सकिन्छ । फोन हरायो वा चोरी भयो भने यसलाई पत्ता लगाउन आईएमईआई नम्बर प्रयोग गरिन्छ । नयाँ फोन किन्दा आइएमईआई नम्बरको सहयोगमा मोबाइल फोन पहिले प्रयोग भएको नभएको थाहा पाउन सकिन्छ ।

फोनमा *#06# डायल गर्दा मोबाइल फोनको आइएमईआई नम्बर आउँछ । आईएमईआई डट इन्फो वेबसाइटमा गएर आफ्नो नम्बर हाल्दा फोनसँग सम्बन्धित जानकारी हेर्न पाइनेछ ।

कसरी हुन्छ आईएमईआई ठगी ?

वैध आईएमईआई नम्बर क्लोन गरेर यस्तो खालको ठगी गर्ने गरेको पाइएको छ । मोबाइल फोनमा प्रायः दुई प्रकारको क्लोनिङ गरिन्छ । एउटा सिम क्लोनिङ र अर्को आईएमईआई क्लोनिङ हो ।

आईएमईआई नम्बर नक्कल गर्न सकिन्छ । तर साधारण मान्छेहरूले सजिलैसँग यस्तो गर्न सक्दैनन् । नक्कली मोबाइल फोन बनाउनेहरुले वैध आईएमईआई नम्बर क्लोन गरेर फोनमा हाल्ने गरेका छन् । गएको केही समययता ढाकामा प्रहरीहरुले नक्कली हाते फोन बनाउने कयौँ कारखानमा  छापा पनि मारेका थिए । 

सन् २०२० मा सामसङ र नोकियाको नक्कली हाते फोन बनाउने कारखानामा छापा मारिएको थियो । धेरैजसो फोनमा आईएमईआई स्पूफिङ बटन वा फिचर हुन्छन् । तर स्मार्टफोनमा यस्तो कमै हुन्छ । अन्य तरिकाले  पनि आईएमईआई सङ्ख्या चोरी भएको हुन सक्ने ढाका महानगरीय प्रहरीको साइबर तथा विशेष अपराध विभागका अतिरिक्त उपयुक्त मोहम्मद जुनैद आलमले भनेका छन् । विदेशबाट अवैध रूपमा ल्याइएका वा बेनामी ब्रान्डका ह्यान्डसेटहरू पनि एउटै आईएमईआई नम्बर हालेर बनाएको हुन सक्ने ढाका विश्वविद्यालयका प्राध्यापक बीएम मोइनुल हुसैन भन्छन् ।

किन भइरहेछ आईएमईआई नम्बरमा ठगी ?

हिजोआज अपराधीहरू पत्ता लगाउन फोन ट्र्याक गर्ने क्रम बढेको छ । फोन चाहे जुनसुकै मोबाइल टावरमा जोडिएको होस् सो फोनबारे आईएमईआई अपरेटर कम्पनीले थाहा पाउँछ । तर एउटै आईएमईआई नम्बर भएका धेरै हातेफोन छ भने कुनै खास हातेफोन ट्रेस गर्न गाह्रो हुन्छ । यस्तोमा अपराधीहरूलाई लुक्छ सजिलो हुन्छ । यसैको कारण केही अपराधीहरूले यस्तो खालको हातेफोनहरू प्रयोग गर्ने गर्छन् ।

आईएमईआई ठगी हुनुको कारण आर्थिक रहेको एकेएम मुर्शिद बताउँछन् । जीएसएम एसोसिएशनले प्रत्येक आईएमईआईको लागि रोयल्टी तिर्नुपर्छ । यो रोयल्टी ठग्न निर्माताहरूले एउटै आईएमईआई नम्बरका लाखौं ह्यान्डसेटहरू उत्पादन गर्ने गरेको उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप