बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
रातोपाटी टी-२० विश्वकप विशेष

अपराजित रहँदै ‘सुपर–८’ मा पुग्ने धुनमा वेस्ट इन्डिज र अफगानिस्तान

सोमबार, ०३ असार २०८१, १९ : ५१
सोमबार, ०३ असार २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा मंगलबार वेस्ट इन्डिज र अफगानिस्तानबिच भिडन्त हुँदैछ । उक्त खेल क्यारेबियन राष्ट्र सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, बिहान ०६ः१५ बजे सुरु हुनेछ ।

वेस्ट इन्डिज र अफगानिस्तान यसअघि नै समूह ‘सी’बाट प्रतियोगिताको सुपर–८ चरणमा पुगिसकेका छन् । तर, समूह विजेता र उप–विजेताको टुंगो लाग्न भने बाँकी छ । मंगलबारको खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ भने पराजित हुने टोली उप–विजेता ।

west indies

त्यसैले वेस्ट इन्डिज र अफगानिस्तानबिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । समूह ‘सी’ मै रहेका न्युजिल्यान्ड, युगान्डा र पपुवा न्यु गिनी भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । वेस्ट इन्डिज र अफगानिस्तानबिचको खेलसँगै जारी विश्वकपको समूहगत चरण पनि सकिने छ ।

वेस्ट इन्डिजले आफ्नो पहिलो खेलमा पपुवा न्यु गिनीलाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा वेस्ट इन्डिजले युगान्डामाथि एक सय ३४ रनको सजिलो जित हासिल गरेको थियो । तेस्रो खेलमा भने वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको थियो ।

afghanistan

यसैगरी अफगानिस्तानले आफ्नो पहिलो खेलमा युगान्डालाई एक सय २५ रनले हराएको थियो । दोस्रो खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनले पराजित गरेको थियो । अफगानिस्तानले आफ्नो तेस्रो खेलमा पपुवा न्यु गिनीलाई सात विकेटले पराजित गरेको थियो ।

जारी विश्वकपमा वेस्ट इन्डिजको तुलनामा अफगानिस्तानको नेट रन रेट निकै उच्च छ । अफगानिस्तानको नेट रन रेट ४.१४० र वेस्ट इन्डिजको नेट रन रेट २.५९६ रहेको छ । त्यसैले सोमबारको खेल बराबरी वा अनिर्णीत रूपमा सकिए अफगानिस्तान समूह विजेता बन्ने पक्का छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलद्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो र अफगानिस्तान १०औँ स्थानमा छन् । टी–२० विश्वकपमा वेस्ट इन्डिजको यो नवौँ सहभागिता हो । वेस्ट इन्डिजले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ ।

andre russel

वेस्ट इन्डिजले हालसम्म दुईपटक टी–२० विश्वकपको उपाधि जितिसकेको छ । वेस्ट इन्डिज दुई पटक टी–२० विश्वकपको उपाधि जित्ने पहिलो राष्ट्र पनि हो । वेस्ट इन्डिजले सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३६ रनले हराएको थियो ।

वेस्ट इन्डिजले सन् २०१६ मा दोस्रो पटक टी–२० विश्वकपको उपाधि उचालेको थियो । त्यतिबेला फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई चार विकेटले हराएको थियो । वेस्ट इन्डिजले दुबै पटक उपाधि चुम्दा टोलीको कप्तान ड्यारेन सामी थिए ।

वेस्ट इन्डिजका अतिरिक्त इङ्ल्यान्डले मात्र हालसम्म दुईपटक टी–२० विश्वकपको उपाधि जित्न सकेको छ । वेस्ट इन्डिजले हालसम्म विश्वकपमा कुल ४२ खेल खेलेको छ । त्यसमध्ये वेस्ट इन्डिज २२ खेलमा विजयी र १८ खेलमा पराजित भएको छ । वेस्ट इन्डिजको एक खेल बराबरी र एक खेल अनिर्णीत रूपमा सकिएको छ ।

rashid khan

अर्कोतिर, अफगानिस्तानको टी–२० विश्वकपमा यो सातौँ सहभागिता हो । अफगानिस्तानले सन् २०१० देखि टी–२० विश्वकप खेल्न थालेको हो । सन् २०२४ को टी–२० विश्वकपमा अफगानिस्तानको टोली सुपर–८ चरणसम्म पुगेको थियो ।

टी–२० विश्वकपमा अफगानिस्तानले हालसम्म कुल २५ खेल खेलेको छ । त्यसमध्ये अफगानिस्तानको टोली १० खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । जारी विश्वकपमा भने अफगानिस्तानको प्रदर्शन उत्कृष्ट देखिएको छ ।

वेस्ट इन्डिज र अफगानिस्तान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म सात पटक आपसमा भिडेका छन् । त्यसमध्ये चार खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई हराएको छ । बाँकी तीन खेलमा भने अफगानिस्तान विजयी भएको छ ।

sherfane rutherford

पछिल्लो पटक यी दुई राष्ट्रबिच सन् २०१९ को नोभेम्बरमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिएको थियो । त्यो शृङ्खलामा अफगानिस्तानले वेस्ट इन्डिजलाई २–१ ले हराएको थियो । पहिलो खेलमा वेस्ट इन्डिज ३० रनले विजयी भएको थियो ।

शृङ्खलाको दोस्रो खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ४१ रनले हराएको थियो । शृङ्खलाको तेस्रो खेलमा पनि अफगानिस्तानले क्यारेबियन टोलीमाथि २९ रनको जित हासिल गरेको थियो । टी–२० विश्वकपमा भने यी दुई टोलीबिच हालसम्म एक खेलमात्र खेलिएको छ ।

सन् २०१६ को टी–२० विश्वकपमा खेलिएको उक्त खेलमा अफगानिस्तानले वेस्ट इन्डिजलाई ६ रनले हराएको थियो । त्यसैले टी–२० विश्वकपमा मंगलबार यी दुई टोली दोस्रो पटक आपसमा आमने–सामने हुनेछन् ।

AF

वेस्ट इन्डिज र अफगानिस्तानबिच समूहगत चरणको अन्तिम खेल हुँदा सेन्ट लुसियामा वर्षाको सम्भावना निकै कम रहेको बताइएको छ । ड्यारेन सामी क्रिकेट स्टेडियममा यसअघि अस्ट्रेलिया र स्कटल्यान्डबिचको खेल खेलिएको थियो ।

त्यो खेलमा दुबै टोलीले उच्च स्कोर बनाएका थिए । त्यो खेलमा दुबै टोलीले गरेर कुल तीन सय ६६ रन बनाएका थिए । त्यो खेलमा अस्ट्रेलिया पाँच विकेटले विजयी भएको थियो । त्यसैले वेस्ट इन्डिज र अफगानिस्तानबिचको खेलमा पनि उच्च स्कोर बन्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप