बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

क्षति न्यूनीकरण गर्न जनस्तरमा नै सचेतनाको जरुरी छ :  मुख्यमन्त्री महरा

शनिबार, ०८ असार २०८१, १७ : ०६
शनिबार, ०८ असार २०८१

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले प्रकृति प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि जनस्तरमा नै सचेतनाको जरुरी रहेको बताएका छन् । शनिबार विपद् व्यवस्थापनसम्बन्धी संयुक्त कृत्रिम अभ्यास प्रदर्शनीलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री महराले बाढी, पहिरो डुबान र आगलागीबाट वार्षिक रूपमा ठुलो धनजनको क्षति हुने गरेका बताउँदै यसको रोकथामका लागि प्रदेश सरकारले पूर्व तयारीका कार्यक्रमहरू गरिरहेको जानकारी समेत दिए ।

लमही नगरपालिका– ६ मध्यनगरमा  लुम्बिनी प्रदेश सरकारको आयोजना तथा प्रदेश सुरक्षा निकायको समन्वय एवम् सहकार्यमा गरिएको विपद् कृत्रिम अभ्यास (अभ्यास हातेमालो–६) कार्यक्रममा बोल्दै उनले आगलागी तथा अन्य प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न राज्यको संयन्त्र सधैँ तयारी अवस्थामा रहनुपर्ने बताए   । 

मुख्यमन्त्री महराले उद्धार कार्यमा खटिनेहरू सधैँ उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा रहनुपर्नेमा समेत जोड दिए । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले बाढी, पहिरो र डुबानबाट लुम्बिनी प्रदेश जोखिममा रहेको  बताउँदै सुरक्षाकर्मी, स्थानीय जनसमुदाय र तालिम प्राप्त उद्धारकर्ताहरूको सघन सहकार्यमा जोड दिए । 

कार्यक्रममा नेपाली सेनाका मध्यपश्चिम पृतनापति उपरथी सुनिल श्रेष्ठले सामूहिक सहकार्य र विद्यमान नीति नियमको परिधिमा रहेर विपद्को क्षेत्रमा काम गरिने  बताए ।  एकीकृत विपद् व्यवस्थापनसम्बन्धी संयुक्त कृत्रिम अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विपद्का बेला गर्नुपर्ने कार्यहरूको प्रदर्शनी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप