शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिल्म

बुबाको कथामा छोराको अभिनय

बिहीबार, १३ असार २०८१, १३ : ४५
बिहीबार, १३ असार २०८१

भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ शुक्रबार (असार ७) बाट सार्वजनिक प्रदर्शनमा छ । सन् २००९ मा निर्माण भएको यो फिल्म सन् २०११ मा प्रदर्शनमा आएको थियो । पहिलो प्रदर्शन त्यति राम्रो भएन, त्यसैले पुनः प्रदर्शन गरिएको हो ।

नेपाली साङ्गीतिक आकाशका एक नक्षत्र भक्तराज आचार्यले गएको फागुनमा संसार छाडे । यस फिल्ममा भक्तराजको भूमिका निभाउने गायक तथा अभिनेता सत्यराज आचार्य (भक्तराजकै छोरा) भन्छन्, ‘फिल्म पुनः प्रदर्शन होस् भन्ने बुबाको अन्तिम इच्छा पनि थियो ।’ 

यस फिल्मले सङ्गीतका साधक भक्तराजको कथा भन्छ । ‘हामी सङ्घर्षमा चाँडै थाक्छौँ, हतोत्साहित हुन्छौँ, मृत्यु रोज्न खोज्छौँ,’ उनी भन्छन्, ‘यस फिल्मले जीवन संघर्ष र धैर्यता सिकाउँछ ।’ 

सत्यराजका अनुसार अहिले प्रदर्शन गरिएको फिल्ममा केही दृश्य थपिएका छन् । ‘पहिलेभन्दा अहिले फिल्म पूर्ण छ । बुबाको अन्तिम बिदाइका क्षणहरू समेत समेटेका छौँ,’ उनी भन्छन्, ‘फिल्म जतिपटक हेर्दा पनि हेरौँ हेरौँ लाग्छ ।’

फिल्म हेरिसकेकाहरुले सामाजिक सञ्जालमार्फत दिएको सकारात्मक प्रतिक्रियाबाट सत्यराज खुसी छन् । उनी भन्छन्, ‘धेरैले आफ्नो कथा हेरून् भन्ने बुबाको इच्छा पूरा भएजस्तो लाग्छ ।’

यस फिल्मले रिलिजको दिन १८ सो पाएको थियो, अहिले ३३ सो पाएको छ । सिल्क रोड पिक्चर्सले निर्माण गरेको फिल्ममा सत्यराजसँगै अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायतको अभिनय छ । प्रशान्त रसाइली निर्देशित फिल्म रोशन राईले निर्माण गरेका हुन् । 

saatyaraj acharya  (1)

भक्तराजले भने– ‘फिल्ममा यसलाई खेलाऊ 

सानैदेखि सत्यराजको झुकाव गीत–सङ्गीतभन्दा बढी अभिनयतिर झुकाव थियो । सानोमा उनले नाटक लेख्ने र निर्देशन समेत गर्थे । हिरो बनेर ठुलो पर्दामा छाउने उनको रहर थियो । हिरो भनेको समाजको लिड गर्ने व्यक्ति भन्ने उनलाई लाग्थ्यो ।

अर्कोतिर उनकी आमाले निकै फिल्म हेर्थिन् । आमाकै कारण फिल्म क्षेत्रतिर आफ्नो झुकाव बढेको सत्यराज बताउँछन् । ‘बुबा (भक्तराज) पनि गाउनुभन्दा अगाडि अभिनय गर्नुहुन्थ्यो रे । त्यसैले मेरो त रगतमै अभिनय रहेछ,’ सत्यराज भन्छन्, ‘गायन सँगसँगै ठुलो पर्दामा देखिने रहर थियो । बुबाकै जीवनीमा खेल्न पाएँ ।’

सत्यराजले ‘आचार्य’बाटै अभिनयमा डेब्यु गरेका हुन् । 

Capture

फिल्मको सुरुवात गर्दा निर्देशक प्रशान्त रसाइलीले सत्यराजलाई खेलाउने सोचेकै थिएनन् । थियटर कलाकारलाई भक्तराजको भूमिकामा अभिनय गराउने चाहना निर्देशक रसाइलीमा थियो । भक्तराजको भूमिका निभाउने कलाकारलाई ६ महिना सङ्गीत सिकाउने पनि उनले सोचेका थिए । 

‘फिल्ममा भक्तराज मै हुँ, तर कतिले पत्याउँदैनन् । किनभने म ठ्याक्कै बुबाजस्तो देखिएको छु रे । पर्दामै सही, बुबाको जीवन जिउन पाउनु मेरा लागि भाग्य हो ।’

एक दिन भक्तराजले प्रश्न गरे— एउटा म्युजिसियनको कथामा कलाकारले हार्माेनियम बजाएर सुर र तालमा मेरो गीत गाउन सक्छ ? ‘६ महिनामै सङ्गीत सिक्ने र जान्ने विषय होइन । बजारमा गायक बन्ने औषधि पनि छैन,’ सत्यराज त्यो दिन सम्झन्छन्, ‘बुबाले मलाई देखाउँदै निर्देशक रसाइलीलाई भन्नुभयो— योसँग मेरो सबै मिल्छ, यसलाई खेलाऊ ।’

बुबाको जीवनीमा हिरो बन्ने भएपछि सत्यराज जति खुसी थिए, त्योभन्दा धेरै चिन्तित भए । सबैले मानेको र सम्मान दिएको व्यक्तित्वको भूमिका निभाउनु वा त्यसलाई न्याय गर्नु चानचुने कुरा होइन । धेरैतिर सोचेर सत्यराज काम्न थाले, तर फिल्ममा हिरो बन्ने अवसर गुमाउन उनी चाहँदैनथे । त्यसैले उनले अभिनेता सौगात मल्लसँग तीन महिना अभिनय सिके र फिल्म अभिनयमा होमिए ।

‘अभिनयमा म यति डुबेँ कि रुनुपर्ने धेरै दृश्य थिए । कुनै पनि दृश्यमा गिरिसिरिज लगाउनैपरेन’, सत्यराज भन्छन्, ‘बुबाको दुःखले सङ्घर्षका लागि प्रेरणा मिल्यो । फिल्ममा भक्तराज मै हुँ, तर कतिले पत्याउँदैनन् । किनभने म ठ्याक्कै बुबाजस्तो देखिएको छु रे । पर्दामै सही, बुबाको जीवन जिउन पाउनु मेरा लागि भाग्य हो ।’

‘आचार्य’बाट सुरु भएको सत्यराजको अभिनय यात्रा अहिले पनि निरन्तर छ । ‘आचार्य’पछि उनले आधा दर्जनभन्दा बढी फिल्म अभिनय गरिसकेका छन् । भविष्यमा फिल्म निर्माण गर्ने सोच पनि छ उनको । चार सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठमध्ये एकको बायोपिकमा अभिनय गर्ने आफ्नो सपना रहेको उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?