बिहीबार, ०३ असोज २०८१
ताजा लोकप्रिय
पेरिस ओलम्पिक

दुई खेलाडीबिच यस्तो प्रतिस्पर्धा : विजेता पत्ता लगाउन ‘फोटो फिनिस क्यामरा’ प्रयोग

सोमबार, २१ साउन २०८१, १० : ४२
सोमबार, २१ साउन २०८१

काठमाडौँ । ओलम्पिकजस्ता ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा एथलेटिक्सको एक सय मिटर दौडमा धेरैको आँखा केन्द्रित हुन्छ । आखिर, विश्वको सबैभन्दा तीव्र गतिको पुरुष र महिला को हुन् त ? अधिकांश खेलकुदको चासोको विषय बन्न पुग्छ ।

फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद यसको टुङ्गो लागेको छ । धेरैको अनुमान अनुरूप नै चर्चित अमेरिकी धावक नोआ लायन्सले एक सय मिटर  दौडको स्वर्ण पदक चुमेका छन् । २७ वर्षीय नोआ प्रभावशाली जमैकन प्रतिद्वन्द्वी किशाने थम्पसनलाई थोरै अन्तरले पछि पारे ।

Noah 1

अमेरिकी धावक नोआ र जमैकन धावक थम्पसनबिचको अन्तर एक सेकेन्डभन्दा पनि निकै कम रहेको थियो । फिटो फिनिस क्यामराले मात्र यी दुई खेलाडीबिचको दुरीलाई छुट्याएको थियो । यी दुवै धावकले ९.७९ सेकेन्डमै निर्धारित दुरी पुरा गरेका थिए ।

फोटो फिनिस क्यामराको मद्दतले हेर्दा, नोआले ९.७८४ सेकेन्डमा र थम्पसनले ९.७८९ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।  सामान्य घडीको प्रयोग गरेर मानवीय आँखाले यी दुई खेलाडीबिचको अन्तर छुट्याउनु सम्भव थिएन । एक सेकेन्डलाई पाँच हजार भागमा विभाजन गर्दा जुन अङ्क आउँछ त्यही अन्तरले नोआले थम्पसनलाई पछाडि परेका थिए ।

Noah 2

दौडको आधा दुरी पार गरिसकेपछि मात्र नोआ आफ्ना जमैकन प्रतिद्वन्द्वीभन्दा थोरै अन्तरले अगाडि बढेका थिए । त्यो स्पर्धामा अर्का अमेरिकी धावक फ्रेड केर्लीले कांस्य पदक हात पारे । उनले निर्धारित दुरी पार गर्न ९.८१ सेकेन्ड समय खर्चिएका थिए ।

जारी ओलम्पिकमा महिला एकलतर्फको स्वर्ण पदक भने सेन्ट लुसियाकी खेलाडी जुलियन अल्फ्रेडले जितेकी थिइन् । २३ वर्षीया अल्फ्रेड सेन्ट लुसियाका लागि ओलम्पिकमा पदक जित्ने पहिलो खेलाडी पनि बनिन् ।

अल्फ्रेडले चर्चित अमेरिकी धाविका शा’कारी रिचर्डसन र मेलिसा जेफर्सनलाई पछि पार्दैउपाधि चुमेकी हुन् । उनले निर्धारित दुरी १०.७२ सेकेन्डमा पुरा गरेकी थिइन् । यो उपलब्धिसँगै उनी इतिहासकै आठौँ सर्वाधिक तीव्र गतिकी महिला पनि बनेकी थिइन् ।

उक्त स्पर्धामा अमेरिकी धाविक रिचर्डसनले निर्धारित दुरी पार गर्न १०.८७ सेकेन्ड समय खर्चिइन् । कांस्य पदक जित्ने अर्की अमेरिकी धाविका जेफर्सनले भने १०.९२ सेकेन्डमा निर्धारित दुरी पार गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप