बिहीबार, ०३ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

कस्तो छ कर्णालीका मुख्यमन्त्री कँडेलको ‘कोर टीम’ ?

नियुक्त गरिएन विज्ञ सल्लाहकार, प्रमुख स्वकीय र छोरीले नै दिन्छन् सल्लाह
शुक्रबार, २५ साउन २०८१, १९ : २९
शुक्रबार, २५ साउन २०८१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल आफैँमा अनुभवी नेता हुन् । एक पटक केन्द्रको समेत मन्त्री बनेका कँडेलले मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म पनि ‘कोर टीम’ तयार पारेका थिएनन् ।

सचिवालय गठनको विषयमा उनी भन्थे, ‘सरकार सञ्चालन गर्नका लागि चाहिने मान्छे खोजेर हिँडिरहेको छु ।’ यद्यपि कँडेलले अहिलेसम्म विज्ञ सल्लाहकार नियुक्त नगरे पनि आफ्नो सचिवालयमा एक छोरीसहित ७ जनालाई नियुक्ति भने दिलाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले उपलब्ध गराएको विवरण अनुसार कँडेलको प्रमुख स्वकीय सचिवमा सूर्यमणि गौतम छन् । वैशाख १ गते नियुक्ति पाएका गौतमले आम सञ्चार तथा पत्रकारिता र जनसङ्ख्या शिक्षा विषयमा स्नातकोत्तर गरेका छन् । उनी कानुनका स्नातक समेत हुन् ।

नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय कोषाध्यक्ष रहेका उनले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा अध्यापनसमेत गर्दछन् ।

यस्तै स्वकीय सचिवमा कँडेलले आफ्नो छोरी प्रतिष्ठा कँडेललाई नियुक्त गरेका छन् । इन्जिनियरिङ्ग तथा व्यवस्थापन विययमा स्नाकोत्तर गरेकी प्रतिष्ठा मुख्यमन्त्रीकी माइली छोरी हुन् । यस अघि उनी सहरी विकास परियोजनामा कार्यक्रम प्रबन्धकको रूपमा कार्यरत थिइन् ।

यस्तै स्वकीय सचिवमा बराहताल गाउँपालिका–८, का घनश्याम पाण्डे र पञ्चपुरी नगरपालिका–२ का यस कुमार चपाई छन् । पाण्डे एमालेका सुर्खेतका पूर्वउपसचिव हुन् भने चपाई पत्रकार हुन् । चपाईले स्नातक सम्मको अध्ययन गरेका छन् भने कँडेल मुख्यमन्त्री हुनुभन्दा पहिला पनि स्वकीय नै थिए । पाण्डेले स्नाकोत्तर सम्मको पढाइ गरेका छन् ।

चारमध्ये पाण्डेले जेठ १ गते र बाँकीले वैशाख १ गते नै नियुक्ति बुझेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री कँडेललाई कार्यालयबाट दिने निजी सचिवका रूपमा नारायण नगरपालिका–२, दैलेखका नवराज शर्मा छन् । उनी मुख्यमन्त्री कार्यालयका अधिकृत सातौँ तहका कर्मचारी हुन् । यस्तै स्वकीय सचिवालयमा हलुका सवारी चालकका रुपमा वीरेन्द्रनगर नगरपालिका–११, का रोशन सुनार र कार्यालय सहयोगीको रूपमा नारायण नगरपालिका–११, दैलेखका लक्ष्मी सुनार छन् ।

ऐन अनुसार हलुवा सवारी चालक २ जना र कार्यालय सहयोगी २ जना गरी ४ जना नियुक्त गर्न मिले पनि खर्चमा मितव्ययी हुन २ जनाबाट काम चलाएको उनको सचिवालयले जनाएको छ ।

कँडेलले किन राखेनन् विज्ञ सल्लाहकार ?

यस अघिका मुख्यमन्त्रीले विज्ञ सल्लाहकार राख्ने गरे पनि हालसम्म मुख्यमन्त्री कँडेलले सल्लाहकार नियुक्त गरेका छैनन् ।

मुख्यमन्त्रीलाई आवश्यकता अनुसार विज्ञ सल्लाहकार राख्न सक्ने सुविधा छ तर उनले सचिवालयको टीमबाटै आवश्यक सल्लाह लिने गरेको बताइन्छ ।

खासगरी प्रमुख स्वकीय सचिव गौतमले मुख्यमन्त्री कँडेललाई आवश्यकता अनुसार सल्लाह दिने गरेका छन् । गौतमले मुख्यमन्त्री कँडेललाई राजनीति, प्रशासन, कानुन, विकास र सञ्चारलगायतका विषयमा सल्लाह दिने गर्दछन् । सहरी विकास इञ्जिनियर समेत रहेकी छोरी प्रतिष्ठाले पूर्वाधार विकास तथा विकास साझेदारसँगको सम्बन्ध र छलफलमा सघाउँछिन् ।

पाण्डेले जनसम्पर्कको काममा सघाउँछन् भने चपाईले भिडियो र फोटोग्राफीको काम गर्छन् ।

विज्ञ सल्लाहकारको विषयमा कँडेलले एक पत्रकार सम्मेलनमा भनेका थिए, ‘यो सल्लाहकार, ऊ सल्लाहकार गर्ने कि नगर्ने भन्नेमा छु । रोजगारका लागिमात्र गर्ने हो भने पर्याप्त मान्छे छन् । रोजगारका लागि मात्रै नभइ सरकार र आफूलाई समेत नयाँ विचार, नयाँ योजना दिने गरी अघि बढ्न सक्ने मान्छे खोजेर हिँडेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप