समस्याग्रस्त विन्दवासिनी सहकारी उकास्न नयाँ समिति गठन

पोखरा । पोखराको विन्दवासिनी सहकारीको समस्या समाधान गर्न विशेष साधारणसभा मार्फत नयाँ कार्यसमिति चयन गरिएको छ ।
समाजसेवी चतुरमान श्रेष्ठको संयोजकत्वमा नयाँ समिति बनाइएको हो । समितिको उपाध्यक्षमा रेखा मर्सानी, सचिवमा निरोज पन्सारी, कोषाध्यक्षमा राजकुमार घले छन् ।
यस्तै, सहसचिवमा मीना पालिखे, सदस्यमा भगवती पराजुली र कमला कोइराला निर्वाचित भएका निर्वाचन समितिका संयोजक किरण श्रेष्ठले जानकारी दिए । नयाँ समितिले ऋण र धनको लेखाजोखा गरी बजारमा भएका ऋणीबाट रकम उठाएर पीडितलाई वितरण गर्नेछ ।
‘क्रोनिक भयो भनेर चुपचाप बसेर मात्रै भएन । समाधानका लागि हाम्रो तर्फबाट पनि पहल गर्नुपर्ने भएको छ,’ सहकारी पीडित संघर्ष समिति कास्कीका अध्यक्ष किरण श्रेष्ठले भने, ‘बजारमा भएको रकमको खोजी गर्ने र त्यसलाई उठाउन पहल गरियो भने केही सहज हुन्छ ।’
सहकारीको ७ करोड ६९ लाख रुपैयाँ ठगी भएको विवरण प्रहरीमा छ । ३१ जना प्रतिवादीमध्ये १९ जना पक्राउ परिसकेका छन् । १७ जनालाई धरौटीमा रिहा गरिएको छ भने २ जना पुर्पक्षका लागि थुनामा छन् ।