राउटेको सङ्ख्या निरन्तर घट्दै, कुल जनसङ्ख्या १३५ मा झर्यो
सुर्खेत । राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय मनिषा शाही छन् । उनको सोमबार मृत्यु भएको हो ।
राउटे परियोजनामार्फत राउटे बस्तीमा कार्यरत शिक्षक लालबहादुर खत्रीका अनुसार अहिले राउटे दैलेखको गुराँस गाउँपालिका–१, मैन खोलामा बस्दै आएका छन् ।
दमको बिरामी र त्यसैमा चिसोका कारण मनिषाको मृत्यु भएको खत्रीले रातोपाटीलाई बताए । योसँगै राउटे समुदायको जनसङ्ख्या अब १३५ मा झरेको छ ।
किन घटिरहेको छ राउटेको जनसङ्ख्या ?
दक्षिण एसियाकै लोपन्मुख समुदाय हो राउटे । पछिल्लो समय राउटेको जनसङ्ख्या निरन्तर घटिरहेको छ ।
०८० कार्तिकमा राउटे समुदायका महामुखिया ६६ वर्षीय महिनबहादुर शाहीको मृत्यु पश्चात राउटेको सङ्ख्या १४१ थियो । यो बिचमा राउटे समुदायका ६ जनाको विभिन्न कारण ज्यान गएको छ । सोमबार मनिषाको मृत्यु भएसँगै राउटेको सङ्ख्या घटेर १३५ मा आइपुगेको छ ।
यस्तै २०७५ असार महिनादेखि ०८१ भाद्रसम्म अर्थात सोमबारसम्म यो समुदायका ४२ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ । मृत्यु हुनेमा अधिकांश वृद्ध र बालबालिका छन् ।
शिक्षक खत्रीका अनुसार राउटेमा मृत्युदर बढ्नुको पहिलो कारण मदिरा मोह हो । साथै उनीहरू औषधि उपचारमा खासै विश्वास गर्दैनन् भने पोषणयुक्त खाना नहुनु, बालबच्चाको हेरचाह नहुनु, बिरामीको हेरचाह नहुनु, भगवानको भरोसामा लागेर उपचार नगर्नु लगायतका कारण राउटे समुदायमा मृत्युदर बढिरहेको उनले बताए ।
राउटे समुदायकी ६९ वर्षीया दुनी शाहीले १४ सन्तान जन्माइन् । पति महिनबहादुरको मृत्युपछि यतिबेला उनी एक्ली छन् । उनका सबै सन्तान मरिसके । अधिकांश जन्मदै मर्दै गए भने दुई वटाले मात्रै विवाह गरेका थिए ।
दुई वर्ष अघि उनका जेठा छोरा नारायणको जलेर मृत्यु भएको थियो भने र चार वर्षअघि अर्को छोरा शिवराजको उच्च रक्तचापको कारण मृत्यु भएको थियो ।
शिक्षक खत्रीका अनुसार बालबच्चाको खासै हेरचाह नहुँदा सानैमा मृत्यु हुने गरेको छ । जन्मदर कम भएको र मृत्युदर बढी भएकाले जनसङ्ख्या घट्दै गइरहेको उनले रातोपाटीलाई बताए ।
‘जन्मदर एकदमै न्यून छ । समुदायमा अहिले एकल महिला धेरै छन्,’ उनले भने, ‘एकल महिलाले दोस्रो बिहे गर्दैनन् । यौवन उमेरका युवाहरू केटी नहुँदा अविवाहित छन् भने कोही विधुवा छन् ।’
अहिले १५ वर्षदेखि ८० वर्ष उमेरसम्मका महिला विधुवा छन् । यस्तै तीन जना एकल पुरुष छन् । यो समुदायभित्र रास्कोटी, कलेल र सोमवंशी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण