मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प छैन : उपसभापति शर्मा

आत्मदाहजस्ता घटनालाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाउन आग्रह
मङ्गलबार, ०५ साउन २०८३, १६ : ३८
मङ्गलबार, ०५ साउन २०८३

सारांश

  • कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन्।
  • उनले गणेश नेपालीको आत्मदाह जस्ता घटनालाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाई मानवीय संवेदनाका रूपमा हेर्नुपर्नेमा जोड दिए।
  • शर्माले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा कम हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा चिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

मंगलबार काठमाडौँमा पार्टीका नेता गुरु घिमिरेद्वारा लिखित पुस्तक ‘बुद्ध, वीपी र आजका नेता’ तथा ‘लिलिपुटका लघुमानव’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले आत्मदाहजस्ता गम्भीर घटनालाई राजनीतिक आरोप-प्रत्यारोपको विषय नबनाई सरकार र प्रतिपक्ष मिलेर समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय संवेदनाका रूपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको उनले बताए। 

यसअघि प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा अझै पनि कम हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे। समारोहमा बोल्दै उपसभापति शर्माले भने, ‘केही दिनअगाडि गणेश नेपालीको आत्मदाहको घटना भयो। कतिपयलाई लाग्यो कि गणेश नेपालीले आत्मदाह गरेपछि नेपाली कांग्रेस पार्टीले यसलाई सरकारलाई घेर्ने मुद्दाका रूपमा जबरजस्त उठाउनेछ।’

विगतका घटना स्मरण गर्दै उनले थपे, ‘तर हामीले सोच्यौँ, प्रेम आचार्यले पुराना भनिएका दलहरूको पालामा, हाम्रो पालामा आत्मदाह गर्नुभयो, यद्यपि नयाँ भनिएकै दलका साथी गृहमन्त्री हुनुहुन्थ्यो। त्यही बेलामा आत्मदाह गर्नुभयो।’

नागरिक असन्तुष्टिको गम्भीरताबारे बोल्दै उनले भने, ‘आखिर हिजो किन त्यसो भयो? आज पनि किन त्यसो हुँदैछ? हिजो हामीसँग किन नागरिक असन्तुष्ट रहे? अहिले पनि फेरि निराशा किन बढ्दैछ?’

उनले अगाडि थपे, ‘त्यसैले यो एउटाले अर्कोलाई दोषारोपण गर्ने विषय होइन। यो गम्भीरतापूर्वक सोच्ने कुरा हो कि नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन फैलिँदैछ? यस निराशासँग जुध्नका लागि सरकार र प्रतिपक्ष हामी सबै सँगसँगै उभिनु पनि छ।’

उपसभापति शर्माले पुराना राजनीतिक दलहरूको समयदेखि नयाँ भनिएका राजनीतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुध्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप