राजदूत सिफारिसमा समावेशिता ख्याल गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विभिन्न मुलुकका लागि नेपाली राजदूतको पदमा सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिई सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकमा राजदूत नियुक्ति सम्बन्धमा परराष्ट्रमन्त्रीसँग छलफल गर्दै समितिले संविधानको व्यवस्था र राजदूत नियुक्ति निर्देशिका–२०७५ को व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति राजकिशोर यादवले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था तथा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई दृष्टिगत गरी सरकारले राजदूत नियुक्ति समावेशी र पारदर्शी बनाउनुपर्ने बताए । समितिले राजदूत नियुक्ति निर्देशिकाबारे पनि परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने उनले जानकारी दिए ।
समितिले परराष्ट्रमन्त्रीसँग हालै सम्पन्न भारत भ्रमण र राजदूत नियुक्ति सम्बन्धमा छलफल गरेको हो । बैठकमा सांसदहरूले राजदूत सिफारिसलाई पारदर्शी र विवादरहित बनाउनुपर्नेमा जोड दिएका थिए । सांसद विमलेन्द्र निधिले परराष्ट्रमन्त्रीको हालैको भारत भ्रमण फलदायी रहेको भन्दै यसबाट दुई देशबिचको आपसी हित र सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
सांसद रघुवीर महासेठले परराष्ट्रमन्त्रीको भारत भ्रमण सफल रहेको र अन्य मुलुकसँगको कूटनीतिक सम्बन्धलाई पनि समान रूपमा बलियो बनाइनुपर्नेमा जोड दिए ।
सांसद पशुपतिशमशेर जबराले लामो समयदेखि चर्चामा आएको पञ्चेश्वर आयोजनाको प्रगतिबारे जानकारी गराउन माग गरे । सांसद भीमप्रसाद आचार्यले विभिन्न मुलुकमा नियुक्ति भएर जाने राजदूतलाई मुलुक र जनताप्रति जिम्मेवार बनाइनुपर्नेमा जोड दिए ।
सांसद एकनाथ ढकालले आगामी दिनमा राजदूत नियुक्ति निर्देशिकाअनुरुप राजदूतको सिफारिसलाई व्यवस्थित बनाइनुपर्ने बताए । सांसद शिशिर खनालले राजदूत नियुक्ति प्रक्रिया निर्देशिकाबमोजिम हुनुपर्नेमा जोड दिए ।
सांसदहरू हितबहादुर तामाङ, प्रभु साह, प्रेम सुवाल, गङ्गाराम चौधरी र सुनिता बरालले परराष्ट्रमन्त्रीस्तरीय भ्रमण उपलब्धिमूलक रहेको तथा भ्रमणमा उठेका विषयको कार्यान्वयनका लागि नेपालले पहल गर्नुपर्ने धारणा राखेका थिए । साथै उनीहरूले राजदूत सिफारिस पारदर्शी हुनुपर्नेमा समेत जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण