एमसीसीमाथि संसदीय अनुगमन समिति गठन गरियोस् : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि संसदीय अनुगमन समिति गठन गर्न माग गरेका छन् । मंगलबार नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले राजधानीमा गरेको कार्यक्रममा उनले एमसीसीलाई राष्ट्रियताविरुद्ध प्रयोग हुन नदिन अनुगमन समिति बनाउन माग गरेका हुन् ।
‘म त भन्छु एमसीसीमाथि संसदीय अनुगमन समिति बनोस् । जसले व्याख्यात्मक टिप्पणी अनुसार लागु भइराखेको छ कि छैन ? त्यसमा के समस्या छ ? अनुगमन समितिले स्पष्ट पारेपछि जनता हल्लाको पछाडि लाग्नुपर्दैन । एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन कमसेकम एउटा भरपर्दो माध्यम चाहिन्छ’, भुसालले भने, ‘त्यस कारण ओली र देउवाजी तपाईँहरू सत्तामा हुनुहुन्छ । साँच्चिकै जनताका छटपटी र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्वप्रति इमानदार हुनुहुन्छ भने पुरा गर्न माग गर्दछु ।’
जब अमेरिकी अधिकारीहरूले नै एमसीसी इन्डोप्यासेफिक स्ट्राटेजी(आईपीएस)को अङ्ग हो भनेपछि तब यो विवादमा परेको उनले दाबी गरे । आईपीएस अमेरिकीको चीन विरोधी घोषित मोर्चाबन्दी भएकाले स्वभावले नै नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न भएको उनको बुझाइ छ ।
दलाल पुँजीवादले कम्युनिस्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउने भएकाले ठुल्ठुला भ्रष्टाचारमा भागशान्ति राष्ट्रिय सहमति अनुसार वितरण हुने उनले दाबी गरे ।
‘दलाल पुँजीवादले कम्युनिस्ट, कांग्रेस, राजावादी, विखण्डनवादी सबैलाई एउटै टेबुलमा डिनर गराउँछ । एउटै भाषा सिकाउँछ । एउटै कुरा सोच्न लगाउँछ । तीनलाई विभिन्न रूपमा प्रस्तुत गर्दिन्छ । कुनै पनि ठुला भ्रष्टाचार काण्ड छन् भने ती भागशान्ति राष्ट्रिय सहमति अनुसार वितरण हुन्छ । त्यसले सबै कब्जा गरिन्छ । हामी कहाँ त्यस्तै भएको छ । तर त्यसले मात्र जित्न सकेको छैन । यो गौरवका कुरा हो’, उनले भने, ‘दलाल कोठरीका डिनर पार्टीले मात्रै जित्न सकेका छैन किनभने स्वाधीनता, इतिहासप्रतिको गौरवले जनताहरूले प्रश्न उठाइराखेका छन् । सत्ताकै हिसाबले भन्ने हो भने गएको ३० वर्षमा तीनका प्रवृत्ति, तीनले गरेका काम हेर्ने हो भने केही पनि रहँदैनथ्यो ।’
एमसीसी सामरिक रणनीति होइन, यसले हाम्रो संविधानभित्र रहेर काम गर्छ र १२ बुँदे अनुसार नै हुन्छ भनेर दलहरूले जनतालाई आश्वस्त गराउनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण