१० बजे, १० समाचार
आज २०८१ भदौ २४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा सरकारका कामबारे सत्ता गठबन्धन बैठकमा समीक्षा, सर्वोच्चको फैसलाबारे संसदमा उठ्यो प्रश्न, मन्त्रिपरिषद् बैठकले गर्यो विभिन्न निर्णय, एनएसजेएफ पल्सर अवार्डको मनोनयनमा को–को परे ?, माओवादी बैठकमा उठ्यो प्रश्न– हामीलाई मन्त्रीबाट किन हटाइयो ?, एक वर्ष जेल सजाय पाएका प्रदेश सभा सदस्य एक दिनमै रिहा, कोशीका पूर्वमुख्यमन्त्री कार्की भोलि अनशन थाल्दै, स्थानीय तहलाई हैरान बनाउँदै सामान्य प्रशासन मन्त्रालय लगायत छन् ।
१. सरकारका कामबारे सत्ता गठबन्धन बैठकमा समीक्षा
सोमबार सत्ता गठबन्धनको बैठकमा सरकारका कामबारे समीक्षा भएको छ । सरकार र संसदको कामलाई अझ प्रभावकारी बनाउनेबारे बैठकमा छलफल भएको बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको भावना विपरीत अभिव्यक्ति नदिने प्रतिबद्धतासमेत जनाएका छन् ।
२. सर्वोच्चको फैसलाबारे संसदमा उठ्यो प्रश्न
सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदी किनारमा थप २० मिटर छाडेरमात्र संरचना बनाउन मिल्ने गरी गरेको फैसलाबारे संसदमा प्रश्न उठेको छ । सांसदहरूले उक्त फैसला पुनरवलोकनका लागि चाँडो प्रक्रिया थाल्न सरकारलाई सुझावसमेत दिएका छन् ।
३. एनएसजेएफ पल्सर अवार्डको मनोनयनमा को–को परे ?
नेपाली खेलकुदको प्रतिष्ठित पुरस्कार मानिएको ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको विभिन्न विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ ।
४. माओवादी बैठकमा उठ्यो प्रश्न– हामीलाई मन्त्रीबाट किन हटाइयो ?
नेकपा माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय संयुक्त परामर्श बैठकमा पूर्वमन्त्रीद्वय सुदन किराती र अमनलाल मोदीले आफूहरूलाई तत्कालीन सरकारबाट किन हटाइयो भन्ने प्रश्न गरेका छन् ।
५. एक वर्ष जेल सजाय पाएका प्रदेश सभा सदस्य एक दिनमै रिहा
आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी सोमबार रिहा भएका छन् । एक वर्ष कैद सजाय पाएका उनी कानुन अनुसार कैदको सट्टामा रकम तिरेर एक दिनमै रिहा भएका हुन् ।
६. कोशीका पूर्वमुख्यमन्त्री कार्की भोलि अनशन थाल्दै
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले भोलि (मंगलबार) ४ बजेदेखि आमरण अनशन थाल्ने भएका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै उनले पार्टीको झण्डा नराखी प्रदेश सभा भवन अगाडि आमरण अनशन बस्ने बताएका हुन् ।
७. स्थानीय तहलाई हैरान बनाउँदै सामान्य प्रशासन मन्त्रालय
देशका ७५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटनपटनको जिम्मेवारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छ । तर प्रमुख प्रशासकीय अधिकृत खटाउनेबारे आफैँले बनाएको मापदण्ड मन्त्रालय स्वयंले उल्लङ्घन गर्न थालेपछि त्यसको असर पालिकामा पर्न थालेको छ ।
८. अझै ६४ लाख नेपाली निरक्षर
सबै नेपालीलाई साक्षर बनाउन अभियान चलेको लामो समय हुँदा पनि अझै ६४ लाख मानिस निरक्षर छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा पाँच वर्षभन्दा माथिका ६४ लाख मानिस निरक्षर छन् ।
९. डीएसपीसहित तीन नेपालीमाथि उठेको प्रश्नबारे प्रहरीले सिंगापुरलाई पठायो जवाफ
नेपाल प्रहरीका डीएसपीसहित ३ जना नेपालीहरू आतङ्कवादी गतिविधिमा संलग्न रहेको आशङ्कामा सिंगापुर प्रहरीले केही महिनाअघि नेपाल प्रहरीलाई पत्राचार गरेकोबारे नेपाल प्रहरीले सिंगापुर प्रहरीलाई जवाफ पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईबाट साढे ५ केजी सुन ल्याउने योजनाकार चिनियाँ, म्यानमारका दुई जना ‘भरिया’
-
ट्रम्पले चुनाव जितेपनि दुई स्विङ स्टेटबाट आएको छैन नतिजा
-
बढ्दो वायु प्रदूषणका कारण लाहोरमा हजारौँ मानिस बिरामी
-
वर्तमान पदाधिकारीबाट त्रिविको पुनर्संरचना असम्भव
-
कहाँ बस्छन् अमेरिकाका उपराष्ट्रपति ?
-
राष्ट्रपति पौडेलले दिए अस्ताउँदो सूर्यलाई अर्घ, तस्बिरहरु