माओवादी नेतृत्वमाथि प्रवासबाट पनि प्रश्नैप्रश्न
अध्यक्ष प्रचण्डले भने, 'एमालेले भष्ट्रचारीलाई जोगाउन सरकारको नेतृत्व गरिरहेको छ । हाम्रो निसाना एमालेमै हो ।’
काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रवास एसिया समितिको परामर्श बैठकमा अधिकांशले नेतृत्वमाथि प्रश्न उठाएका छन् ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी, विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच भएको जुम बैठकमा समितिका नेताहरूले प्रश्न उठाएका हुन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको पहिलो सरकारले केही गर्न नसकेपनि दोस्रो र तेस्रो कार्यकालमा धेरै काम गरेको दाबी गरे ।
एक पदाधिकारीका अनुसार अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने विषय स्थायी समिति बैठकले नै खारेज गरेको र आएका सुझावलाई समेटेर केन्द्रीय समिति बैठकमा पेस गर्ने प्रतिबद्धता जनाए ।
‘पहिलो सरकारमा केही गर्न नसकेपनि मध्य पहाडी राजमार्ग हामीले बनायौं । मदनभण्डारी राजमार्ग हाम्रै पालामा बनेका हुन् । किसानलाई ३० हजार छुट दियौं । दोस्रो कार्यकालमा देशलाई लोडसेडिङ मुक्त गर्यौँ । तेस्रो कार्यकालमा सुशासनको आँधिबेहोरी ल्यायौं’, प्रचण्डको भनाइ उदृद्ध गर्दै ती पदाधिकारीले भने, ‘सबैको सुझावलाई समेटेर केन्द्रीय समिति बैठकमा दस्तावेज पेस गर्छु । पार्टीभित्र सुझाव आउनु राम्रो हो । एमालेले भष्ट्रचारीलाई जोगाउन सरकारको नेतृत्व गरिरहेको छ । अहिले हाम्रो निसाना एमालेमै हो ।’
उपाध्यक्ष एवं समितिका इन्चार्ज पम्फा भुसालले सरकारबाट पार्टी बाहिरिँदा माओवादीको इमेज ह्वात्तै बढेको, जनलहर सिर्जना भएको बताएकी अर्का एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन नभइ एकताबद्ध बनाउन र नेतृत्व विकास गर्न फरक मत राखेको विचार व्यक्त गरेका थिए । साथै, संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका थिए । सहइन्चार्ज ओम शर्माले भुसाल इन्चार्ज भएर आएपछि समिति एकताबद्ध भएर काम गरिरहेको धारणा राखेको ती सदस्यले जानकारी दिए ।
‘राम्रो काम गरे अध्यक्षलाई समर्थन छँदै छ । पार्टीभित्र फरक मत राख्दैमा आत्तिन पर्दैन । सचिवालय खारेज गर्नुपर्छ । अध्यक्षले विज्ञानलाई विश्वास गर्नुपर्यो । जादुलाई विश्वास गर्नुभएन । यथास्थितिमा पार्टी चल्दैन । पार्टी रुपान्तरणसहित जनतामा जानुपर्यो’, सहइन्चार्ज शर्माको भनाइबारे ती सदस्यले जानकारी दिए ।
केन्द्रीय सदस्य डिबी क्षत्रीले पार्टीको बैठक सोह्र श्राद्ध गरेजस्तो र रेडियोबाट समाचार पढेजस्तो भएको उल्लेख गर्दै यस्तो प्रवृत्तिको अन्तय हुन आवश्यक रहेको बताए ।
समितिका संयोजक शनिकुमार ओलीले पार्टीमा चुन्ने र चुनिने प्रक्रिया थालनी गर्नुपर्ने तथा उनले युवाहरुलाई पार्टीमा ठाउँ दिनुपर्ने धारणा राखेका थिए । सहसंयोजक हरि नेपालीले जनयुद्धमा लागेका धेरै योद्धाहरु खाडी मुलुकमा रहेकाले उनीहरुलाई फर्काउन पार्टीले नयाँ नीति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए । यसैगरी अर्का सह-संयोजक डा भूपालमान श्रेष्ठले जनता निरास भएकाले युवाहरुलाई समेट्न नेतृत्वले नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए ।
सचिव भवानी पन्तले पार्टीभित्र गुटबन्दीको अन्त्य हुनुपर्ने र प्रवासका समस्यामा नेतृत्वको ध्यान जानुपर्ने सुझाव दिए।
बैठकमा केही सदस्यले पार्टी महासचिवले नै गुटबन्दी गरेको भन्दै प्रश्न उठाए। नेताहरूले सरकारमा हुँदा राजदुत नियुक्त नगरेको, भएका राजदूत पनि अन्यलाई दिएको, सरकारमा रहँदा आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि पोखे । अब पुरानै तरिकाले पार्टी नचल्ने भन्दै सच्चिएर अगाडि बढ्नुपर्ने उनीहरूको सुझाव थियो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्निप्रसाद सापकोटा, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, हरिबोल गजुरेल र शक्ति बस्नेत लगायत नेताहरू समेत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण