विमल निभाका ‘सत्र भोका काग’ बजारमा
वरिष्ठ कवि विमल निभा (जन्म : २००९) को पाँचौँ कवितासंग्रह ‘सत्र भोका काग’ मंगलबार (असोज १५ गते) राजधानीमा लोकार्पण गरियो । विमल निभाका प्रिय सात साथीहरू (नारायण ढकाल, पुरुषोत्तम सुवेदी, शाद्रूल भट्टराई, रेशम विरही, नयनराज पाण्डे, डा. अमर गिरी र मातृका पोखरेल)बाट लोकार्पण गरिएको संग्रहमाथि कवि एवं समालोचक पुरुषोत्तम सुवेदीले संक्षिप्त चर्चा गरेका थिए ।
सुवेदीका अनुसार, पुष्पलालले सुरु गरेको आन्दोलनमा निभा १३–१४ वर्षको उमेरदेखि सक्रिय हुन थालेका थिए । २०२६ सालमा पहिलो कविता प्रकाशन गरी आज (५५ वर्ष)सम्म वामपन्थी वा प्रगतिशील विचारधारामा अडिग रही कविता लेखिरहेकाले निभालाई जनकवि भन्नुपर्ने सुवेदीको भनाइ थियो ।
‘उहाँले कला र विचारलाई कहिल्यै पनि छाड्नुभएको छैन । उहाँले आर्थिक, राजनीतिक र नैतिक अनुशासन सधैँ पालना गर्नुभयो,’ सुवेदीले भने, ‘जनकवि भन्ने शब्द फिट हुन्छ भने त्यो विमलजीमा लागु हुन्छ । मलाई लाग्छ अबदेखि हामीले जनकवि भन्न मिल्छ विमलजीलाई । विमलजीको अवधि पनि पुगेको छ, कृतित्व र व्यक्तित्व दुवै पुगेको छ । त्यसकारण उहाँ अब जनकविको हैसियतमा आइसक्नुभएको छ ।’
निभाले आफ्ना कवितामा कला र विम्बको प्रयोग गर्दा जुन शालीनता र स्तरीयता कायम गरेका छन्, त्यसलाई गैरवामपन्थी वा दक्षिणपन्थी कविले समेत स्विकारेको सुवेदीको भनाइ थियो ।
कवि निभाका यसअघि ‘आगोनेर उभिएको मानिस (२०४०), ‘एउटा बाहुला नभएको बुसर्ट’ (२०५९), ‘जोकरको बन्दुक’ (२०७६) र ‘डेगेन्द्र राजवंशीको आत्महत्या’ (२०७८) कवितासंग्रह प्रकाशित छन् । यस्तै ‘चौथो कालम’ (२०४४), ‘छेउको वधशाला’ (२०६२) र ‘डाइनोसर ज्युँदो छ’ (२०६९) गरी तीन निबन्धसंग्रह प्रकाशित छन् ।
यसपालिको ‘सत्र भोका काग’ संग्रहमा ५० कविता संग्रहित छन् । संग्रहमा राजवको संक्षिप्त टिप्पणी छ, ‘कवि विमल निभा बिसको दशकपछिको नेपाली कविताको स्वर र स्वरूपलाई नयाँ दिशा दिने कवि हुन् । कवितालाई सामाजिक र राजनीतिक पक्षधरतासँग जोड्न नहिचकिचाउने उनका कविता संघर्षरत नेपाली समाज र राजनीतिको प्रतिविम्ब मानिन थालेका छन् । साना, मसिना, अत्यन्त सरल विम्बमा सचेततापूर्वक उनिने उनका कविताले आफ्नो समयका छली राजनीति, बेइमान चरित्रमाथि कतै कडा प्रहार, कतै मारक र कतै मन्द मन्द सुस्वादु व्यंग्य दाग्छन् ।’
कार्यक्रममा कवि निभाले संग्रहको पहिलो (रेल शीर्षकको), अन्तिम (मृत्यु शीर्षकको) र बिचतिरको (सुझाव शीर्षकको) कविता वाचन गरेका थिए ।
एउटा रेल
छ अनुपस्थित
नभएको रेलमा
यात्रा गर्नुको
आफ्नै खालको हुन्छ आनन्द ।
(रेल)
...
पहिलोपटक
सायद हिरोसिमामा
मरेको थिएँ म
मेरो दोस्रो मृत्यु
कोरियामा भयो
म भियतनामको
भूमिमा मरेको थिएँ
तेस्रो पटक
...म आफ्नो मृत्युको
यो सिलसिला
जरुर रोक्नेछु अब
नेपालमा ।
(मृत्यु)
अन्तिममा सुझाव शीर्षकको वाचन गर्नुअघि कवि निभाले भने, ‘यो सुझाव म स्वयंका लागि पनि हो ।’
- सुझाव
जो तिमीसँग
रिस गर्छ
त्यसलाई प्रेम नगर
तिम्रो छायालाई
कुल्चेर हिँड्नेलाई
पिछा गर टाढासम्म
जुन तरबार
ताकेर बढिरहेछ
गर्दन
त्यसलाई खोसेर
उसैमाथि प्रहार गर
शान्ति–शान्ति
शान्ति भनेर
हल्ला गर्नेहरूमा
सन्देह गर जरुर
जो जन्मजात
दुस्मन हो
त्यससँग हात
मिलाउने कदापि
भूल नगर
चुपचाप बस
तर समयमा
जुरुक्क उभिन
नबिर्स साथी
०००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण